मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १३ बिहीबार
  • Wednesday, 05 February, 2025
२o७८ माघ १३ बिहीबार १३:४५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्मचारी संक्रमित हुँदा कैलालीका आधा दर्जन सरकारी कार्यालयको सेवा ठप्प

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ १३ बिहीबार १३:४५:oo

कर्मचारीहरूमा कोरोना संक्रमण देखिन थालेपछि सरकारी कार्यालयहरू धमाधम बन्द हुन थालेका छन्। कैलालीमा जिल्ला प्रशासनसहित आधा दर्जनभन्दा बढी सरकारी कार्यालयले अत्यावश्यकबाहेकका सेवा बन्द गरेका छन्।

जिल्ला प्रशासनले गत आइतबारबाट सेवा बन्द गरेको हो। कार्यरत १५ कर्मचारीमा कोरोना संक्रमण देखिएको प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए। कर्मचारीमा कोरोना देखिएपछि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको उनले बताए। सुरक्षाको मापदण्ड अपनाएर मुद्दा र शान्ति–सुरक्षासम्बन्धी सेवा भने सुचारु रहेको प्रशासनले जनाएको छ। अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीलाई स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न र खोपकार्ड लिएर आउन प्रशासनले आग्रह गरेको छ। सेवाग्राहीको भिडले संक्रमण फैलन सक्ने भन्दै प्रशासनले केही दिनअघि मात्र टोकन प्रणालीबाट सेवा दिन सुरु गरेको थियो।

यस्तै, गोदावरी नगरपालिकाको कार्यालय गत आइतबारबाट एक साताका लागि बन्द गरिएको छ। नगरपालिकाले सूचना जारी गरेर अधिकांश कर्मचारीमा कोरोना देखिएकाले १५ माघसम्म सेवा बन्द गरेको जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले यो अवधीमा सरसफाइ, स्वास्थ्य र दमकललगायतका अतिआवश्यकीय सेवा भने सुचारु रहने बताएका छन्।

प्रदेशको सामाजिक विकास मन्त्रालयले पनि सेवा बन्द गरेको छ। मन्त्रालयमा कार्यरत ६ कर्मचारीमा कोरोना पुष्टि भएको र थप केहीमा लक्षण देखिएकाले सेवा बन्द गर्नुपरेको प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवा प्रभावित भएको छ। प्रदेशका निमित्त प्रमुख सचिव ढुण्डीप्रसाद निरौलाले आफूसहित पाँच कर्मचारीमा कोरोना देखिएको जानकारी दिए। कर्मचारीमा संक्रमण देखिएकाले कार्यालयको सेवा प्रभावित भएको उनले बताए।

धनगढी उपमहानगरपालिका, भजनी र गौरीगंगा नगरपालिका तथा जोशीपुर गाउँपालिकाले पनि कर्मचारी संक्रमित भएपछि बुधबारबाट सेवा स्थगन गरेको सूचना जारी गरेका छन्। यी स्थानीय तहहरूले अत्यावश्यक सेवा भने सुचारु राख्ने जनाएका छन्। केही कर्मचारीमा कोरोना देखिएको र केहीमा लक्षण देखिएकाले १२ देखि १८ माघसम्म उपमहानगरको कार्यालय र सबै वडाबाट प्रदान हुने सेवाहरू स्थगन गरिएको धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले बताए। १८ गतेसम्म स्वास्थ्य, सरसफाइ, दमकल र एम्बुलेन्स सेवा मात्र उपलब्ध हुनेछ। सेवाग्राहीको भिडभाड हुने भएकाले कार्यालयबाटै संक्रमण फैलने जोखिम रहेकाले पनि सेवा बन्द गर्नुपरेको उनले बताए।

कर्मचारी संक्रमित हुने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालयले जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा काेरोनाको लक्षण देखिएमा अनिवार्य रूपमा पाँच दिनसम्म क्वारेन्टिनमा बस्न र रिपोर्ट नेगेटिभ आएपछि मात्र काममा फर्कन आदेश जारी गरेको छ। सार्वजनिक संस्थामा कार्यरत कर्मचारी कोरोना संक्रमित भएमा पाँच दिनसम्मका लागि सञ्चित वा पाउने बिदाबाट कट्टा नहुने गरी बिदा दिने व्यवस्था गर्न पनि प्रशासनले निर्देशन जारी गरेको छ। कैलालीमा केही दिनयता कोरोना संक्रमण तीव्र रूपमा फैलिरहेको छ। यहाँ सक्रिय संक्रमितको संख्या एक हजार नाघेको छ।