१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १३ बिहीबार
  • Saturday, 28 September, 2024
२o७८ माघ १३ बिहीबार o९:३३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

रौतहटको वनमा बढ्यो जंगली जनावरको चोरी सिकार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ १३ बिहीबार o९:३३:oo

जिल्लाको वनमा चोरी सिकार तीव्र रूपमा बढेको छ । वनमा हतियारसहित सिकार खेल्न जानेको संख्या पछिल्लो समय बढ्दै जान थालेको छ । गत मंगलबार सिकारीले गोली हानेर घाइते बनाएको एउटा नीलगाईलाई उपचारका लागि डिभिजन वन कार्यालय रौतहटले पर्सा राष्ट्रिय निकुञ्जमा पठाएको छ । जिल्लाको वनमा दैनिक सिकारीले जंगली जनावर मार्ने गरेका रंगपुर साझेदारी वन उपभोक्त समितिका अध्यक्ष जितेन्द्र चौधरीले जानकारी दिए । जिल्लाको चन्द्रनिगाहपुर, रंगपुर, चेतनगर, बलेरीको वनमा हुलका हुल सिकारी दिउँसै बन्दुक र जाल बोकेर सिकार खेल्न जाने गरेको स्थानीयको भनाइ  छ । 

एक साताअघि मात्र चन्द्रनिगाहपुरको डवर वन क्षेत्रमा सिकारीले एउटा हरिण मारेको स्थानीय बासिन्दाले बताए । वन कर्मचारीले नियमित वन गस्ती नगरेका कारण जंगलमा सिकारीले जंगली जनावरको सिकार गर्ने क्रम बढेको स्थानीयको भनाइ छ । चन्द्रपुर नगरपालिकास्थित लमाहा, पहाडी फेदी, गुजराको मैढास्थित वन, वृन्दावनको वन क्षेत्रबाट नीलगाई, बँदेल, हरिण, मृग तथा दुम्सीलगायतका विभिन्न वन्यजन्तु र वनकुखुरा, लुइँचे, कालिजसहितका विभिन्न वनचरोको सिकार गर्ने गरेका छन् ।

सिकारीहरू दिनभरि जंगलमै बिताउने गरेको र कतिपय सिकारी समूह बनाएर राति पनि वन क्षेत्रमा जाने गरेको स्थानीयको भनाइ छ । डिभिजन वन कार्यालय रौतहटका प्रमुख अमरदेव यादवले चोरी सिकारी बढेको आफूलाई जानकारी आएको र अबका दिनमा वनमा गस्ती बढउने बताए । जिल्लाको कटहरिया क्षेत्रमा सिकारीले नीलगाई मारेर जिल्लाका सहरी क्षेत्रमा हरिणको मासु भन्दै हजार रुपैयाँ किलोले बिक्री–वितरण गर्ने गरेको जंगलसहियाका स्थानीय बासिन्दा जुगलकिशोर चौधरीले बताए । पछिल्लो समय वनमा जंगली जनावर बढेसँगै सिकारी पनि सक्रिय भएका हुन् । 

सिकारीले मारेको जनावरको मासुको भाग सवडिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका कर्मचारीले समेत लिने गरेको स्थानीयको भनाइ छ । गत मंगलबार चन्द्रनिगाहपुरस्थित वनको सवडिभिजन कार्यालयछेउमै बन्दुकले हानेर एउटा हरिण मारिएको थियो ।