१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७८ माघ १३ बिहीबार ०७:२२:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

मध्यएसिया र चीनबीचको सम्बन्ध : वासिंगटनलाई पाठ

Read Time : > 2 मिनेट
२०७८ माघ १३ बिहीबार ०७:२२:००

चिनियाँ राष्ट्रपति सी जिनपिङले मंगलबार बेइजिङमा चीन र मध्य–एसियाका पाँचवटा देश (काजकिस्तान, किर्गिजस्तान, ताजकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तान) बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ३०औँ वार्षिकोत्सवका उपलक्ष्यमा भर्चुअल शिखर सम्मेलनको अध्यक्षता गरेका छन् । सम्मेलनमा सीले पाँचवटा प्रस्ताव राखेका छन् । पहिलो, छिमेकीमैत्री सम्बन्धलाई थप उदाहरणीय बनाउने । दोस्रो, विकासका लागि सहयोग बेल्टको निर्माण गर्ने । तेस्रो, शान्तिका लागि बलियो प्रतिरक्षा प्रणाली निर्माण गर्ने ।

चौथो, अन्तर्क्रियाका लागि परिवारजस्तो वातावरण निर्माण गर्ने र अन्त्यमा शान्ति एवं विकास पथमा अगाडि बढिरहेको विश्वग्रामको रक्षा गर्ने । यो सम्मेलन मध्य–एसियामा चीनको यस वर्षको पहिलो ठूलो कूटनीतिक पहलकदमी हो । ३० वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मध्य–एसियाली देशसँग चीनको सम्बन्ध फड्को मार्दै ऐतिहासिक उचाइमा पुगेको छ र उदाहरणीय अन्तर्राष्ट्रिय सम्बन्ध निर्माण भएको छ । यो सम्बन्धको अनुभव वैश्विक द्वन्द्व र अस्थिरताको समय अत्यधिक महत्व र मूल्यको रहेको छ । 

पारस्परिक सम्मान, असल छिमेकी मित्रता, कठिन समयमा एकता र पारस्परिक लाभ गरी सीले सम्मेलनमा चार सिद्धान्त अघि सारे । यी चार सिद्धान्त चीन र पाँच मध्य–एसियाली देशबीच ३० वर्षे सहयोगको सफलताका संकेत हुन् । यी सिद्धान्त पालना गरेर दुई पक्षले पारस्परिक समझदारी र समायोजनका आधारमा इतिहासमा सिर्जित सीमा–विवादलाई समाधान मात्रै गरेका छैनन्, यसले ‘असल छिमेकी, साझेदार, मित्र एवं भ्रातृत्व’को भावना पनि कायम गरेको छ । कूटनीतिक सम्बन्ध स्थापना भएको ३० वर्षमा चीन र मध्य–एसियाका पाँच देशबीचको व्यापार सय गुणाले बढेको छ र चीनको प्रत्यक्ष लगानी १४ अर्ब डलर नाघेको छ । आज, चीन यी पाँच देशको सबैभन्दा महत्वपूर्ण व्यापार एवं लगानी साझेदार बनेको छ ।

सीले पहिलोपटक सन् २०१३ मा काजकिस्तान भ्रमणका क्रममा सिल्क रोड इकोनोमिक बेल्ट निर्माण गर्ने प्रस्ताव राखेको विषय उल्लेखनीय छ । बेल्ट एन्ड रोड संयुक्त रूपमा निर्माण गर्ने सन्दर्भमा चीन र पाँच मध्य–एसियाली राष्ट्रहरू सुरुदेखि नै अग्रपंक्तिमा छन् र उल्लेखनीय नतिजा पनि हासिल गरेका छन् । यातायात, कृषि, जल सञ्चय, विद्युत्, कपडा उद्योग, मेसिनरी र उत्पादनलगायत क्षेत्र ठूला आयोजनालाई स्थापना गरेर फड्को मारेको छ । र ६ देशका जनता साझा विकासबाट लाभान्वित पनि भएका छन् । चीन र पाँच मध्य–एसियाली देशले बेल्ट एन्ड रोड इनिसिएटिभअन्तर्गत सहयोगको ‘प्रारूप’ निर्माण गरेका छन् ।

निःसन्देह केही मानिस यो विकासको अवस्थालाई देखिसहन्नन् । अमेरिकाका केही भूराजनीतिज्ञले युरेसियाली महादेशलाई ‘अधीनस्थ’ गर्ने लक्ष्य हासिल गर्न मध्य–एसियालाई कसरी ‘नियन्त्रण’ गर्ने भनेर हिसाबकिताब गरिरहेका छन् । स्वतन्त्रताको सुरुवातीताका पाँच मध्य–एसियाली देशलाई अमेरिकाले आफ्नो शक्ति अभ्यास गर्न शून्यताको अवस्थाका मुलुकका रूपमा हेरेको थियो । हालैका वर्षमा अमेरिकाले यस क्षेत्रमा आफ्नो सक्रियता बढाउने प्रयास गरेको थियो । यस प्रयासबाट सैन्य तैनाथी कायम गर्ने र ‘कलर रेभोल्युसन’का माध्यमबाट चीन र रुसमाथि नियन्त्रण गर्ने रणनीतिक प्रयासका दुई उद्देश्य एकैपटक हासिल गर्न खोजेको थियो । तर, यी रणनीतिले काम गरेनन् ।

चीनलगायत ६ वटा मध्यएसियाली देशले बनाएको अन्तर्राष्ट्रिय सम्बन्धको नयाँ मोडलले वासिंगटनसामु चिनियाँ सम्बन्धको राम्रो पाठ प्रस्तुत गरेको छ

गत वर्ष बाइडेन प्रशासनले चीन, रुस र यी पाँच मध्य–एसियाली देशलाई निमन्त्रणा नगरी लोकतन्त्रका लागि तथाकथित शिखर सम्मेलन आयोजना गरेको थियो । अफगानिस्तानबाट अमेरिकाको लज्जास्पद फिर्तीपछि अमेरिकाले मध्य–एसियाली देशमा सैन्य अखडा बनाउने प्रस्ताव गरेको थियो, तर यो प्रस्ताव सोझै अस्वीकार भयो । विश्वमा पारस्परिक सम्मानमा जोड दिनेहरू एकातिर छन् भने प्रभुत्व जमाउन खोज्नेहरू अर्कातिर छन् । अर्को भाषामा भन्ने हो भने पारस्परिक लाभ अर्थात् ‘विन–विन’ सहयोगमा जोड दिने मुलुक पनि छन् भने आफ्नो फाइदाका लागि आर्कालाई सिध्याउने ‘जिरो सम’ खेलमा उद्यत्हरू पनि छन् । मध्य–एसियाली मुलुकहरू यस्तो प्रवृत्तिबारे सचेत थिए ।

चीन र मध्य–एसियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ३०औँ वार्षिकोत्सवको ऐतिहासिक अवसरमा ६ वटा देशले बनाएको अन्तर्राष्ट्रिय सम्बन्धको यो नयाँ मोडलले वासिंगटनसामु चिनियाँ सम्बन्धको राम्रो पाठ प्रस्तुत गरेको छ भन्ने हाम्रो विश्वास रहेको छ । केही समयदेखि वासिंगटन मध्य–एसियालाई चीन–रुसबीचको ‘प्रतिस्पर्धा’को क्षेत्र देखाउन उद्यत् थियो र मध्य–एसियाली क्षेत्रलाई चीन र रुसको ‘कठपुतली’का रूपमा प्रस्तुत गर्दै आएको थियो । यो बुझाइमा अमेरिकी प्रवृत्ति मात्रै झल्केको हो । 

वास्तवमा चीन र रुसले मध्य–एसियाली देशसँगको आदानप्रदान र सहयोगलाई गहिरो बनाएका हुन् । योसँगै अहिलेको कालखण्डमा चीन र रुसबीचको बृहत्तर रणनीतिक साझेदारीको समन्वय ऐतिहासिक उचाइमा पुगेको छ । मध्य–एसियाको पछिल्लो अवस्थाका कारण अमेरिकाको उल्लिखित अवधारणा फेरि देखिन थालेको हो । तर, वासिंगटनले चीन र रुसबीचको सम्बन्धमा दरार ल्याउन सबैभन्दा बढी लगानी गरेको भए पनि परिणाम सबैभन्दा खराब निस्केको छ ।बेइजिङ शीतकालीन ओलम्पिक १० दिनपछि सुरु हुँदै छ । र, असल छिमेकीहरू बधाई दिन आउने तयारीमा छन् । अर्थात् राष्ट्रपति सी, राष्ट्रपति पुटिन र पाँच मध्य–एसियाली देशका राष्ट्रप्रमुखहरू बेइजिङ २०२२ को उद्घाटन समारोहमा एक ठाउँमा हुनेछन् । यो भेटले आफैँमा धेरै विषय उजागर गर्दैन र ? 
(चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र  ग्लोबल टाइम्सको २६ जनवरीको सम्पादकीय)