कारबाहीको निर्णय भएपछि बतासले बुझायो पशुपति धर्मशालाको एक करोड भाडा

बिहिबार, १३ माघ, २०७८
डिजिटल संस्करण

सरकारले सम्झौता खारेजीको प्रक्रिया अगाडि बढाएसँगै पशुपति धर्मशालामा होटेल सञ्चालन गरिरहेको होटेल आनन्द प्रालि (बतास समूह)ले झन्डै एक करोड भाडा बुझाएको छ । पर्यटन मन्त्रालयले गठन गरेको छानबिन समितिले होटेलले करिब एक वर्षको ९९ लाख ८४ हजार ६ सय ६६ रुपैयाँ भाडा असुलउपर गर्न बाँकी रहेको औँल्याएको थियो ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा २३ पुसमा गठित छानबिन समितिले ३ माघमा संस्कृति मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो । बुधबार उक्त रकम कोषको खातामा जम्मा भएको कोषाध्यक्ष सुवेदीले जानकारी दिए । ‘असुलउपर गर्न बाँकी रकम कोषको खातामा जम्मा भएको छ, भौचर पनि कार्यालयमा आएको छ,’ उनले भने ।

छानबिन प्रतिवेदनमा छ, ‘धर्मशाला प्रयोग गरेबापत मासिक आठ लाख ७८ हजार चार सय ६८ रुपैयाँ र वार्षिक एक करोड पाँच लाख ४१ हजार ६ सय १८ रुपैयाँ कायम गरेकोे, सम्झौता हाल १० वर्षको हुने र पछि पाँच वर्ष थप गर्ने उल्लेख छ । धर्मशालाबाट कोषले भुक्तानी पाउनुपर्ने भाडा करिब एक वर्षदेखिको ९९ लाख ८४ हजार ६ सय ६६ रुपैयाँ बाँकी देखिन्छ ।’

कोभिड– १९ महामारी अवधिमध्येको भाडा मिनाहाका लागि आनन्दले कोषसँग माग गर्दै आएको थियो । तर, पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को स्वीकृतिविना नै धर्मशाला लिजमा दिइएको छानबिनबाट खुलेपछि सरकारले सम्झौता खारेजीको प्रक्रिया अगाडि बढाइसकेको छ ।

परिषद्को मंगलबारको बैठकले कोषका सदस्यसचिव डा. मिलनकुमार थापा, सञ्चालक परिषद् सदस्य देवीप्रसाद बराल र पर्यटन मन्त्रालयका सहसचिव डा. टोकराज पाण्डेसहितको तीन सदस्यीय समिति गठन गरिसकेको छ । समितिले होटेल आनन्द प्रालिसँग स्पष्टीकरण लिएर सम्झौता खारेजीको औपचारिक निर्णयकोे म्यान्डेट पाएको छ ।
 

See More On

सुझावित समाचार