मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
दीपक भट्ट रामेछाप
२०७८ माघ ११ मंगलबार १०:२५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गाउँमै रोजगारी पाएपछि महिलामा खुसी 

Read Time : > 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०७८ माघ ११ मंगलबार १०:२५:००

गाउँमा जुनारको जुस बनाउने उद्योग खुलेपछि रामेछाप नगरपालिका– ७ सुकाजोरका महिला खुसी भएका छन् । गाउँमै जुस उद्योगमा रोजगारी पाएपछि उनीहरू खुसी मात्रै छैनन्, दंग पनि छन् । जुनारको दानाबाट जुस बनाउने उद्योग सञ्चालनमा आएपछि गाउँका महिलाले आफ्नो घरको काम सकेर फुर्सदको समयमा जुनारको दाना तास्ने (छेल्ने) काम पाएका हुन् । उनीहरूले जुनारको दाना तास्ने कामबाट प्रतिव्यक्ति मासिक २० देखि ३० हजार रुपैयाँसम्म कमाउने गरेको रामेछाप नगरपालिका– ७ सुकाजोरकी सावित्रा कार्कीले जानकारी दिइन् । 

उनले भनिन्, ‘हामी महिलाहरू घरको चुलोचौको गरेर बसेका थियौँ । आम्दानीको स्राेत नहुँदा सधैँ घरखर्च घरका मूलीसँग माग्नुपर्ने बाध्यता थियो । अहिले गाउँमै जुनारको जुस उद्योग खुलेपछि छोटो समय भए पनि काम पाएका छौँ ।’ बिहान र बेलुकाको घरको सबै काम सकेर बाँकी फुर्सदको समयमा जुनारको बोक्रा तास्ने कामबाट मासिक ३० हजार रुपैयाँसम्म कमाउन पाउँदा आफूहरू ज्यादै खुसी भएको  कार्की बताउँछिन् ।  

यतिखेर सुकाजोरका सयजना महिलाले उक्त उद्योगमा रोजगारी पाएका छन् । कलेज पढ्ने छात्राहरूले पनि बिहान कलेज पढेर फर्केपछि दिउँसोको फुर्सदको समयमा जुनार उद्योगमा नै काम गर्दै आएका छन् । आफ्नो पकेट खर्च र कजेलको फिस बुझाउनसमेत आफ्नै कमाइले गर्दै आएको रामेछाप नगरपालिका– ७ सुकाजोरकी रेजिना कार्कीले बताइन् । 

उनले भनिन्, ‘पहिला गाउँमा केही गरौँ भन्दा पनि काम गर्ने अवसर पाएका थिएनौँ । अहिले जुस उद्योग सञ्चालनमा आएको छ । जुस बनाउन जुनारको दाना छेल्ने काम केही महिना भए पनि पाएका छौँ । बिहानको समय कलेज पढेर फर्कने र दिउँसोको खाली समयमा उद्योगमा आएर काम गर्दा आफूलाई पुग्ने पैसा आफैँ कमाइ गर्दा धेरै खुसी छौँ । ’ अहिले घरका अभिभावकसँग खर्च माग्नुपर्ने अवस्थाको अन्त्य भएको कार्की बताउँछिन् । 

जिल्लामा जुनार भण्डार गर्ने चिस्यान केन्द्र नहुँदा जुनार पाक्ने सिजनमा मंसिरदेखि  माघसम्म तीन महिना मात्रै गाउँका महिलाले रोजगारी पाउने गरेका छन् । जुनार पाकेपछि  राख्ने स्टोर नहुँदा जुनार कुहिने डरले एकैपटक जुनार पेलेर जुस राख्ने गरिएको मन्थली डिलक्स एग्रो फरेष्टी प्रालिका प्रोपाइटर लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।