कोरोना संक्रमण बढेसँगै जुम्ला कारागारमा उच्च सतर्कता अपनाइएको छ । कारागार प्रशासनले कोरोना सर्न सक्ने देखिएको भन्दै कैदीबन्दीलाई आफन्तसँग प्रत्यक्ष भेटघाटमा राेक लगाएकाे छ । कारागारका जेलर विष्णुबहादुर महतले भेटघाटबाट कोरोना फैलन सक्ने भन्दै तत्कालका लागि प्रत्यक्ष भेटघाट बन्द गरिएको बताए ।
‘कारागार व्यवस्थापन विभागको परिपत्रअनुसार प्रत्यक्ष रूपमा भेटघाट बन्द गरिएको हो । तर, कारागार घेराबारदेखि बाहिर कम्तीमा १५ मिटर टाढाबाट भने कैदीबन्दी र उनीहरूका आफन्तले कुराकानी भने गर्न पाउनेछन्,’ उनले भने, ‘जोखिम बढेसँगै कैदीबन्दीका आफन्तहरूसँग प्रत्यक्ष भेटघाटमा रोक लगाएका छौँ ।’
अहिले पनि यस कारागारमा १६ जना कैदीबन्दी बिरामी छन् । उनीहरूलाई ज्वरो आउने, टाउको र जिउ दुख्ने लक्षण देखिएको छ । बिरामी भएका बन्दीलाई औषधि चलाइएको कारागारका अहेव महेश महतले बताए ।
दोस्रो कोरोना संक्रमणको लहरमा १४ जना कैदीबन्दी संक्रमित भएका थिए जसमध्ये एकजनाको मृत्यु भएको थियो । अहिले कारागारमा एकजना महिलासहित एक सय १५ जना कैदीबन्दी रहेका छन् ।
जुम्लामा संक्रमित ६० पुगे
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका ३२ जना स्वास्थ्यकर्मीसहित ६० जनालाई कोभिड– १९ संक्रमण देखिएको छ । जसमध्ये चारजना अस्पतालमा उपचाररत छन् भने बाँकी सबै होम आइसोलेसनमा छन्।