
अतिरिक्त शुल्कको विरोधमा आन्दोलनरत नोबेल मेडिकल कलेजका विद्यार्थीसँग प्रहरी र अस्पतालका सुरक्षा गार्डको झडप भएको छ। झडपमा तीनजना प्रहरी र चारजना विद्यार्थी घाइते भएका छन्। विराटनगर कञ्चनबारीस्थित नोबेल मेडिकल कलेजमा सोमबार दिउँसो आन्दोलनरत विद्यार्थीसँग प्रहरी र अस्पताल सुरक्षाकर्मीहरूको झडप हुँदा तीनजना प्रहरी र चारजना विद्यार्थी घाइते भएका हुन्। घाइते हुने विद्यार्थीमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य दीपेन्द्र मेहता र टेकेन क्षेत्री, मोरङ सहसचिव उमेश सेन्चुरी र अनेरास्ववियू (एस) का सोएब अन्सारी छन्। उनीहरू प्रहरी र सुरक्षागार्डको लाठी लाग्दा सामान्य घाइते भएका हुन्।
सोमबार आन्दोलनरत विद्यार्थीले नोबेल मेडिकल कलेजमा सहमतिविपरीत पढाइ भइरहेको भन्दै कलेज हातामा प्रवेश गरेर कक्षा रोक्न खोजेका थिए। सोही क्रमा प्रहरी र कलेजका सुरक्षागार्डले बल प्रयोग गर्दा विद्यार्थीसँग दोहोरो झडप भएको थियो।
झडपका क्रममा आक्रोशित विद्यार्थीले नोबेल मेडिकल कलेजले सञ्चालन गर्दै आएको अस्पतालको मूलगेट र फार्मेसीको सिसा, कलेज प्रशासनको एउटा कम्प्युटर तोडफोड गरेका छन्। विद्यार्थीले गरेको ढुंगाप्रहारबाट तीनजना प्रहरी घाइते भएका छन्।
घाइते तीनजना प्रहरीको नोबेल अस्पतालको इमर्जेन्सी वार्डमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। यता घाइते विद्यार्थीको अवस्था पनि सामान्य रहेको अखिल क्रान्तिकारी केन्द्रीय सदस्य अभिमन्यु यादवले जानकारी दिए।
सरकार र चिकित्सा शिक्षा आयोगको निर्देशनलाई समेत अटेर गर्दे कानुनविपरीत अतिरिक्त शुल्क असुलेको विरोधमा नोबेल कलेजमा एमबिबिएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थी १४ पुसदेखि निरन्तर आन्दोलनमा छन्। उनीहरूको आन्दोलनलाई अखिल क्रान्तिकारी, अनेरास्ववियु, अनेरास्ववियू (एस), समाजवादी विद्यार्थी संगठन र नेविसंघले समर्थन गर्दै आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आएका छन्।
सरकारको निर्देशनअनुसार नोबेललाई कानुनी कारबाही गराउन प्रक्रिया सुरु भइसकेकाले कोभिड संक्रमणको समयमा आन्दोलन फिर्ता लिन मोरङ प्रशासनले विद्यार्थीलाई आग्रह गरेको थियो। तर, विद्यार्थी संगठनहरूले भने अतिरिक्त शुल्क फिर्ता नभएसम्म र कलेज सञ्चालक सुनील शर्मालाई पक्राउ नगरेसम्म आन्दोलन जारी राख्ने भन्दै प्रशासनको आग्रहलाई बेवास्ता गर्दै सोमबार पनि नोबेल कलेजमा प्रदर्शन गरेका थिए।