मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
गणेश लम्साल विराटनगर
२०७८ माघ ६ बिहीबार ०७:२२:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भोजपुरी कलाकार खेसरीलालले  डेढ करोड र साउन्ड सिस्टम  व्यवसायीले एक करोड क्षतिपूर्ति मागे

Read Time : > 2 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ माघ ६ बिहीबार ०७:२२:००

आयोजकको जबर्जस्तीले बर्जु महोत्सवमा अप्रिय घटना

प्रशासनको निर्देशनलाई बेवास्ता गर्दै महोत्सव कार्यक्रम निरन्तर सञ्चालन गरेकै कारण सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीमा मंगलबार आयोजना भएको बर्जु महोत्सवमा आगजानी र तोडफोडको घटना भएको पाइएको छ । स्थानीय खेल मैदानमा बर्जु सामुदायिक विकास केन्द्रले आयोजना गरेको महोत्सव रोक्न प्रशासनले एक साताअगाडि नै पत्राचार गरेको थियो । तर, आयोजकले कोरोना संक्रमण र प्रशासनको निर्देशनलाई बेवास्ता गर्दै भारतीय कलाकार खेसारीलाल भनिने शत्रुधन यादवलाई बोलाएर महोत्सवको समापन भव्य गराउन टिकट बिक्री गरेर हजारौँको संख्यामा दर्शक भेला गराएको थियो ।

महोत्सवमा भाग लिन मंगलबार बिहान साढे ८ बजे जोगबनी नाकाबाट विराटनगर आइपुगेका भोजपुरी गायक खेसारीलाललाई प्रहरी प्रशासनले विराटनगरमै रोकेको थियो । पाँचवटा निजी गाडी र वाद्ययन्त्र, सहयोगी कलाकार लिएर आइपुगेका उनी प्रशासनको आग्रहपछि दिनभरि विराटनगरको एयरपोर्टस्थित होटेल एसियाटिकमा बसेका थिए । उनका सहयोगीहरू भने मंगलबार बिहान ११ बजे चारवटा गाडीमा वाद्ययन्त्र लिएर महोत्सवमा पुगेका थिए । 

तीन सय र पाँच सय दरका टिकट खरिद गरेका दर्शकहरूले कलाकार खेसारीलाल आउन नसक्ने जानकारी पाएपछि उत्तेजित बनेका थिए । उनीहरूले महोत्सवस्थलमा रहेको कलाकार यादव टोलीको चारवटा भारतीय नम्बर प्लेटका स्कारपियोमा आगजानी गरे । स्टेज र कार्यक्रमस्थलका कुर्सीहरू तोडफोड गरे । प्रहरी प्रशासनका अनुसार घटनामा दुई करोडबराबरको क्षति भएको छ । प्रहरीले बिहीबारसम्म कसैलाई पक्राउ गरेको छैन । 

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कोरोना संक्रमण तीव्र रूपले फैलिएकाले २५ जनाभन्दा बढी भिड नगर्न भन्दै महोत्सव रोक्न प्रशासनले दुईपटक आयोजकलाई पत्राचार गरेको जानकारी दिए । तर, आयोजकले स्थानीय पहुँच प्रयोग गर्दै निर्वाध रूपमा महोत्वस आयोजना गर्दै आएको थियो । बर्जु गाउँपालिका अध्यक्ष रघुनन्दन यादवले स्थानीय सरकार आफू भएकाले सिडिओको निर्देशन नमान्ने भन्दै आयोजक युवा क्लबलाई महोत्सव भव्य रूपले समापन गर्न निर्देशन दिएको प्रशासन कार्यालयले जनाएको छ । गाउँपालिकाले अटेर गरी आफ्नो निर्देशन नमानेपछि प्रशासनले भारतीय कलाकार खेसारीलाललाई विराटनगरमै रोकेको थियो । ‘घटनाको सबै दोषी आयोजक नै हुन्, उनीहरूलाई कानुनी कारबाही पनि हुन्छ । उनीहरूले क्षतिपूर्ति पनि तिर्नुपर्छ,’ सिडिओ यादवले भने ।

बर्जु गाउँपालिकाले भने प्रशासनको निर्देशन मान्न अटेर नगरेको बरु हतारमा त्रुटि भएको जनाएको छ । कार्यक्रमस्थल रहेको बर्जु गाउँपालिका–६ नम्बर वडाध्यक्ष विनोदकुमार चौधरीले आफूले ३ माघमा प्रशासनले महोत्सव रोक्न निर्देशन गरेको भन्ने मौखिक जानकारी पाएको बताए । मंगलबार महोत्सवको समापन भएको, भारतीय कलाकार आउने र हजारौँका टिकट बिक्री भइसकेकाले त्यसलाई सामान्य रूपमा लिँदा भवितव्य घटना हुन पुगेको उनको भनाइ छ । ‘यस्तो होला भनेर सोचेकै थिएनौँ, प्रशासनको निर्देशन मान्न अटेर गरेका होइनौँ । मौखिक जानकारी मात्र पाएकाले कार्यान्वयन गराउन नपाउँदा अप्रिय घटना भयो,’ उनले भने ।

डेढ करोड क्षतिपूर्ति भराउन आयोजकविरुद्ध खेसारीलालको उजुरी 
कलाकार खेसारीलाल यादवले आफ्नो टिमसहित नेपाल छाडेका छन् । उनले होटेल एसियाटिकबाटै आफ्नो चारवटा स्कारपियोमा आगजनी भएको र वाद्ययन्त्र पनि तोडफोड भएको भन्दै एक करोड ५० लाख रुपैयाँ आयोजकसँग क्षतिपूर्ति दिलाउन माग गर्दै प्रहरीमा निवेदन दिएका छन् । उनले आयोजककै कारण बर्जुमा अप्रिय घटना भएको र त्यसको जिम्मेवार आयोजक नै हुनुपर्ने बताए । महोत्सव आयोजना नगर्न प्रशासनले रोक लगाएको र अनुमतिविना टिकट बिक्री गरेकोबारे आफूलाई कुनै जानकारी नगराएको उनले बताए । ‘प्रशासनले रोक लगाएपछि आयोजकले जबर्जस्ती कार्यक्रम आयोजना गर्न हुँदैनथ्यो, मलाई पनि जानकारी गराउनुपर्ने थियो । तर, आयोजकले टिकट बिक्री गरेछ, यसैले सीधासाधा जनता भड्किँदा हिंस्रक घटना हुनुपुगेको हो । सबै जिम्मा आयोजकले लिनुपर्छ । मलाई क्षतिपूर्ति पनि दिनुपर्छ,’ विराटनगर छाड्नुअघि खेसारीलालले भने ।

बर्जु घटनामा आफ्नो एक करोड आठ लाख रुपैयाँबराबरको क्षति भएको भन्दै साउन्ड सिस्टम व्यवसायीले क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन् । बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै एसएम साउन्ड सिस्टमले आफूले जडान गरेका साउन्ड सिस्टम आयोजकको गल्तीका कारण तोडफोड भएको भन्दै क्षतिपूर्ति माग गरेको हो । एसएमका प्रोपाइटर मोहम्मद जागिरका अनुसार घटनामा स्टेजमा जडान गरिएका लाइटदेखि साउन्ड सिस्टम, एम्पलिफायरलगायत एक करोड आठ लाखबराबरको क्षति भएको छ । आयोजककै कारण साउन्ड सिस्टमको करोड बढीको क्षति भएकाले आयोजकले क्षतिपूर्ति दिनुपर्ने मेची–कोसी साउन्ड सिस्टम व्यवसायीले पनि माग गरेको छ ।