सडक वा पुल निर्माणमा ढिलाइ भएको समाचार पाठकहरूले धेरै पढ्दै र सुन्दै आएका छन् । तर, जनताको प्रयोगमा आउने सडक वा पुल मात्र होइन, देश सञ्चालन गर्ने प्रधानमन्त्री, मन्त्री, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष, संघीय संसद् भवन, सात प्रदेशका प्रमुख र मुख्यमन्त्रीका लागि निर्माण गरिरहेका भवन निर्माण पनि ढिलाइको चपेटामा परेका छन् । सरकारी भवन निर्माणमा भएका प्रगति र ढिलाइका सम्बन्धमा नयाँ पत्रिकाकर्मी जीवन बस्नेतले तयार पारेको रिपोर्ट
प्रधानमन्त्री आवास निर्माण ८५ प्रतिशत सम्पन्न, असारसम्म सकिने
सहरी विकास तथा भवन निर्माण विभागले प्रधानमन्त्री आवास निर्माण कार्य ढिलोमा असारसम्ममा सम्पन्न हुने जानकारी दिएको छ । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लगाएको निर्माण कार्य १२ भदौ ०७८ सम्ममा सम्पन्न हुनुपर्ने थियो । तर, कोभिड–१९ महामारीको पहिलो लहरमा भएको लकडाउनका कारण ढिलाइ हुँदा ६ महिना म्याद थपेर ११ फागुनमा सम्पन्न हुने म्याद तोकिएको छ । विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक दिलीपशेखर श्रेष्ठले भने, ‘यही अवधिभित्र प्रधानमन्त्रीको आवास निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ ।’
कोभिडको दोस्रो लहरका कारण १६ वैशाख ०७८ देखि भएको लकडाउनमा पनि आवास निर्माण कार्य प्रभावित भएकाले फागुनभित्र काम सम्पन्न नभए म्याद थप्ने समन्वय कार्यालयको योजना छ । ‘ढिलोमा पनि चालू आर्थिक वर्ष (असार ०७९) भित्र प्रधानमन्त्री आवास निर्माण कार्य सम्पन्न हुनेछ,’ उनले भने । अहिलेसम्म आयोजनाको ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।
निजी र सार्वजनिक प्रयोजनका लागि दुई भवन
प्रधानमन्त्री निवासका लागि दुईवटा भवन निर्माण गरिँदै छ । एउटा भवन प्रधानमन्त्रीको निजी प्रयोजनका लागि निर्माण भइरहेको छ भने अर्को भवन सार्वजनिक प्रयोजनका लागि । निजी भवन प्रधानमन्त्रीको व्यक्तिगत प्रयोगमा आउनेछ । सार्वजनिक (पब्लिक) भवन राजनीतिक पार्टीसँगको भेटघाट, कूटनीतिक व्यक्तित्व र सर्वसाधारणसँगको भेटघाटका लागि प्रयोग गरिनेछ । अहिले दुवै भवनको निर्माण भइरहेको छ ।
प्रधानमन्त्रीको निजी भवन अति विशिष्ट पाहुना कोठासहितको निर्माण भइरेको छ । भवन साढे दुई तलाको हुनेछ । करिब पाँच सय वर्गफिटमा फैलिएको यो भवनको भुइँतलामा विभिन्न प्रयोजनका लागि १० वटा संरचना निर्माण गरिनेछ । जहाँ पाहुना कोठा, बस्ने कोठा, भान्सा र खाना खाने कोठा, लन्ड्री, सुरक्षा कोठालगायतका संरचना निर्माण गरिनेछ । भवनको पहिलो तलामा विभिन्न प्रयोजनका लागि १५ वटा संरचना बनाइनेछ । यो तला विशेष गरी प्रधानमन्त्रीको व्यक्तिगत प्रयोगमा आउनेछ । एउटा मास्टर बेडरुमसहित दुईवटा बेडरुम हुनेछन् । अध्ययन कक्ष, पूजाकोठा, भान्सा र खाना खाने कोठा, लबी, बाल्कोनीसहितको संरचना निर्माण गरिनेछ । दोस्रो तला भने अति विशिष्ट पाहुनाको प्रयोजनका लागि निर्माण गरिएको छ । जहाँ विभिन्न ११ वटा संरचना निर्माण गरिनेछ । जस्तै, लबी, सुरक्षा कोठा, गोप्य कोठा, तीनवटा पाहुना कोठा, बस्ने कोठा, भान्सा र खाना खाने कोठालगायतका संरचना बनाइनेछ ।
सार्वजनिक भवन भने करिब एक हजार वर्गफिटमा निर्माण गरिँदै छ । भवन नेपाली संस्कृति र परम्परा झल्किने खालको हुनेछ । यो भवन तीन तलाको हुनेछ । भवनको प्रवेशद्वार पूर्व फर्किएको छ । भुइँतलामा विभिन्न प्रयोगका लागि १४ वटा संरचना निर्माण गरिनेछ । यो तला विशेष गरी अति विशिष्ट व्यक्तित्वसँगको भेटघाटका लागि छुट्याइएको छ, जहाँ एउटा ठूलो क्याबिनेट हल हुनेछ । आपत्कालीन समयमा मन्त्रिषरिषद्को बैठकका लागि पनि यो हलको प्रयोग गर्न सकिनेछ । त्यस्तै, ४० जनाका लागि खाना पकाउने र बसेर खान मिल्ने एउटा किचन र डाइनिङ हल निर्माण गरिनेछ । एउटा सञ्चार कोठा बनाइनेछ, जहाँ बसेर प्रधानमन्त्रीले मिडियाको प्रयोग गर्नेछन् । त्यस्तै, एउटा कन्ट्रोल रुम, गोप्य लाउन्ज, हाउस किपिङ, वेटिङ एरिया, एडिसी कार्यालय, प्रधानमन्त्री कार्यालयलगायतका संरचना निर्माण गरिनेछ ।
त्यस्तै, पहिलो तलामा विभिन्न प्रयोजनका लागि नौवटा संरचना बनाइनेछ । यो तला विशेष गरी सार्वसाधारणसँग भेटघाटका लागि प्रयोग गरिनेछ । जहाँ एउटा ब्यांक्वेट हल हुनेछ । एउटा गिफ्ट हल हुनेछ । होल्डिङ हल, दुईवटा वेटिङ हल, पिए रुम, सैलुन रुम, डक्टर रुम, डेन्टल रुम, भान्सा र भान्साको सामान राख्ने कोठालगायतका संरचना निर्माण गरिनेछ । भवनको माथिल्लो तला प्रधानमन्त्रीको व्यक्तिगत प्रयोगका लागि छुट्याइएको छ, जहाँ विभिन्न प्रयोजनका लागि १२ वटा संरचना बनाइनेछ । जस्तै, प्रधानमन्त्री कार्यालय, पुस्तकालय, हरियो बगैँचा, स्टुडियो, लबीलगायतका संरचना हुनेछन् ।
यो भवनको बीचमा चोक हुनेछ । नेपाली परम्परागत शैलीअनुसार भवनको बीचमा चोक हुने संयोजक तुलाधरले बताए । चोकमा नेपालका विभिन्न संस्कृति झल्कने कला राखिनेछन् । त्यस्तै, नेपालका मुख्य धरोहरको नमुनासमेत निर्माण गरिनेछ ।
संघीय मन्त्री, प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष आवास निर्माणमा ६८ प्रतिशत मात्र प्रगति
ललितपुर भैँसेपाटीस्थित निर्माणाधीन संघीय मन्त्रालयका २४ मन्त्री क्वाटर (निवास) र अन्य तीन गरी कुल २७ भवन निर्माणमा ६८ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । यो प्रगति लक्ष्यभन्दा निकै कम हो । योजनाअनुसार यो निर्माण सम्पन्न भइसक्नुपर्ने थियो ।
कोभिडले अपेक्षित लक्ष्य पूरा गर्न नसकिएको सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले बताए । मन्त्री क्वाटरबाहेक अन्य तीन भवनमा प्रतिनिधिसभा उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षको आवास बन्दै छ ।
कात्तिक २६ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको मन्त्री निवास निर्माणको काम कम्तीमा पनि ६ महिनापछाडि धकेलिएको छ । नयाँ कार्ययोजनाअनुसार २६ वैशाख ०७९ भित्र मन्त्री निवास सम्पन्न गर्ने मन्त्रालयको तयारी छ ।
संघीय मन्त्री निवास तथा भवन निर्माणमा परियोजनाका साइड इन्चार्ज तथा सिनियर डिभिजनल इन्जिनियर प्रमोदकृष्ण कर्माचार्यले पनि वैशाखसम्ममा काम सम्पन्न हुने दाबी गरे । उनले भने, ‘ठेकेदारले पनि त्यसवेलासम्ममा काम सक्छु भनेर प्रतिबद्धता गरिसकेको छ, वैशाखसम्ममा सकिन्छ ।’ ०७७ मंसिरमा निर्माण कम्पनी हनुमान कन्स्ट्रक्सनले तोकिएकै समयसीमाभित्र काम सक्ने जानकारी दिएको थियो । तर, पछिल्लोपटक वैशाखदेखि फेरि लकडाउन हुँदा समय थप गर्नुपर्ने निर्माण कम्पनीका प्रतिनिधिको भनाइ छ ।
दोस्रो चरणमा जिम र स्विमिङपुलसहित थप निर्माणका लागि आन्तरिक मूल्यांकन हुँदै
सरकारले पहिलो चरणमा २७ भवन निर्माण गरेपछि दोस्रो चरणको निर्माण कार्य थालनी गर्नेछ । त्यसका लागि आवश्यक पूर्वतयारीको काम भइरहेको छ । दोस्रो चरणमा मन्त्रीसहित प्रतिनिधिसभा उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षहरूका लागि निर्माण हुने भवनमा जिम, स्विमिङपुलदेखि हेलिप्याडसम्म सुविधा थपिनेछ । भवनको संख्या पनि बढाएर ३३ पु¥याइनेछ । थपिएका भवन सभाहल, जिमलगायतका कामका लागि प्रयोग हुनेछ । आवास क्षेत्रमा हेलिप्याड, हेल्थ क्लब, ग्रोसरी, कम्युनिटी हल, व्यवस्थापन कार्यालय, स्विमिङपुल र पार्किङ पनि हुनेछ ।
१७ मंसिर ०७५ मा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्री, राष्ट्रिय सभाका अध्यक्षसहित मन्त्रीहरूका लागि आवास निर्माण गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सहरी विकास तथा भवन विभागले मन्त्रीका लागि २४, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष र उपसभामुखका लागि एक–एक भवन निर्माण गरिरहेको छ ।
प्रत्येक भवन साढे दुई तलाका हुनेछन् । प्रत्येक निवासमा प्रवेशका लागि दुई प्रवेशद्वार बन्नेछन् । एउटा सार्वजनिक र अर्को निजी प्रयोजनका लागि प्रयोगमा आउने सहरी विकास मन्त्रालयले जानकारी दिएको छ । भवनहरू नेपाली परम्परागत शैलीमा निर्माण भइरहेका छन् ।
आवासका लागि छुट्याइएको कुल क्षेत्रफलमध्ये करिब १२ रोपनी भवनले मात्रै ओगट्नेछन् । ३८ रोपनी आठ आना ग्रिन एरियाका लागि छुट्याइएको छ । २१ रोपनी जमिन आवासभित्रको आन्तरिक सडकले ओगट्नेछ । ११ रोपनीमा हेल्थ क्लब बन्नेछ । कम्युनिटी हलका लागि सात आना छुट्याइएको छ । व्यवस्थापन कार्यालयका लागि तीन आना छुट्याइएको छ । त्यस्तै, साढे दुई रोपनीमा ग्रोसरी स्टोर बन्नेछ । बाँकी रहेको जग्गामा एक सय सवारीसाधन अटाउने पार्किङ बनाइनेछ । यस ठाउँमा कुल ९५ रोपनी १५ आना तीन पैसा क्षेत्रफल छ ।
नयाँ संघीय संसद् भवन चालू संसद्को अधिवेशन बस्ने सम्भावना सकियो, ०८० मा सम्पन्न हुने
सिहंदरबार परिसरमा निर्माणाधीन संघीय संसद् भवन अहिलकै संसद्को अन्तिम अधिवेशन बस्ने गरी सम्पन्न गर्ने योजना असफल भएको छ । कोभिडका कारण त्यो सम्भव नदेखिएको सहरी विकास मन्त्रालयका अधिकारीहरूको भनाइ छ । कोभिङ–१९ का कारण संघीय संसद् भवन निर्माणमा तोकिएको समयभन्दा न्यूनतम ६ महिना ढिलाइ हुनेछ । यसअघि १५ असोज ०७९ मा सम्पन्न गर्ने लक्ष्य राखिएकोमा अब छिटोमा १४ वैशाख ०८० सालमा मात्र सम्पन्न हुने सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले जानकारी दिए ।
कुल एक सय ५१ रोपनीमा निर्माण भइरहेको यो आयोजनामा भवन रहने भुइँको क्षेत्रफल मात्र ५० रोपनी रहेको छ । हालसम्म परिसरमा निर्माण हुने १२ वटा ब्लकमध्ये ११ वटाको स्ट्रक्चर निर्माणको काम भइरहेको सहरी विकास मन्त्रालयले जानकारी दिएको छ । अहिले करिब चार सयजनाले काम गरिरहेका छन् ।
यो भवन निर्माण भएपछि राष्ट्रिय सभामा ९० जना र सभाको बाल्कोनीमा दुई सयजना अट्न सक्नेछन । यसरी कुल दुई सय ९० जना अटाउनेछन् । त्यस्तै, प्रतिनिधिसभामा चार सयजना र बाल्कोनीमा तीन सयजना गरी कुल सात सयजना अट्नेछन् । सभामा बस्ने सिटको व्यवस्थापन ‘यू’ आकारमा गरिनेछ ।
संसद् भवनमा निर्माण हुने कार्यालय
संसद् भवन परिसरमा प्रतिनिधिसभा र राष्ट्रिय सभा बेसमेन्टसहित दुई तला रहनेछन् । संयुक्त लबी दुईवटा रहेका छन् । त्यस लबीमा तीन सय ५० मानिस अट्नेछन् । राजनीतिक दलका संसदीय कार्यालयहरू भएको भवन र संसदीय समितिका कार्यालयहरू बेसमेन्टबाहेक पाँच–पाँच तलाका हुनेछन् । साना र ठूला गरी १० राजनीतिक दलका लागि कार्यालय र बैठक हल हुनेछन् । संसदीय समितिका कार्यालयहरू ६० जना अट्ने १७ वटा र एक सय अट्ने एउटा हल हुनेछ ।
अति विशिष्ट कक्ष चार तलाको हुनेछ । त्यसमा प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख सचेतकलगायतको कार्यकक्ष हुनेछ । प्रत्येक कक्षमा २५ जना अट्ने क्षमताको बैठक कक्ष रहनेछ । संसद् सचिवालयका लागि दुईवटा भवन रहेका छन् । दुवै भवन तीन तलाका हुनेछन् ।
त्यस्तै, पुस्तकालयका लागि दुईवटा बेसमेन्ट प्रयोग गरिनेछ । त्यस पुस्तकालयमा जनरल तथा इ–लाइब्रेरी, म्युजियम, आयोग तथा संसद्का प्रतिवेदन र राजपत्रहरू भण्डारण गरिनेछ । क्यान्टिनका लागि तीन तलाको भवन हुनेछ । भुइँतलामा सयजना र पहिलो तलामा तीन सयजना अट्न सक्नेछन् । पार्किङ र सुरक्षाका लागि बेसमेन्ट र अन्य दुई तलाको प्रयोग गरिनेछ । एकैपटक तीन सय ५० वटा सवारीसाधन पार्किङ गर्न सकिनेछ ।
सात प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई सातै ब्लक
भैँसेपाटीमा सात प्रदेशका प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय रहने गरी सातवटा ब्लक बनाउने काम भइरहेको छ । प्रत्येक ब्लकमा दुईवटा भवन हुने सहरी विकास तथा भवन विभागका विशेष भवन निर्माणका सिनियर डिभिजनल इन्जिनियर प्रमोदकृष्ण कर्माचार्यले जानकारी दिए । ‘एउटा मुख्यमन्त्री र अर्को प्रदेश प्रमुखका लागि हुनेछ,’ उनले भने ।
दुई तलाको भवन पूजाकोठादेखि योगकक्षसम्म
प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि बन्ने सबै भवन दुई तलाका हुनेछन् । भुइँतलामा प्रतीक्षा कक्ष, सचिवालय, मुख्यमन्त्री तथा प्रदेश प्रमुखको कार्यालय, गोप्य कोठा र २५ जना क्षमताको बैठक हल हुनेछ । त्यस्तै, पहिलो तलामा बैठक कक्ष, योगकोठा, मुख्यमन्त्री वा प्रदेश प्रमुखको सुत्ने कोठासहित तीन कोठा र दोस्रो तलामा भान्साकोठा, पाहुना कोठा, परिवारका सदस्य सुत्ने कोठा र पूजाकोठा हुनेछन् ।
प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि बन्ने भवनका लागि कुल २७ रोपनी १२ आना जग्गा छुट्याएको छ । त्यसमध्ये १७ रोपनी सात आनामा भवन रहनेछन् । पाँच रोपनीमा आन्तरिक सडक, आठ आनामा बगैँचा र पोखरी र चार रोपनी १२ आनामा पार्किङ रहनेछ ।
मुख्यमन्त्री र प्रदेश प्रमुखको निवास निर्माणका लागि समानान्तर निर्माण कम्पनीले ७२ करोड ४७ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । त्यस्तै, ६८ प्रतिशत काम सम्पन्न भइसकेको छ । यी भवन निर्माणका लागि असोज ०७६ मा निर्माण सम्झौता भएका हुन् भने असोज ०७८ मा निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर, अहिले समय ६ महिना समय वृद्धि गरेर वैशाखसम्म पुर्याइएको छ ।