मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सरकारले तोकेभन्दा अतिरिक्त शुल्क मागेको भन्दै काठमाडौं मेडिकल कलेजका विद्यार्थी आन्दोलनमा । फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २८ बुधबार ०६:०८:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मेडिकल विद्यार्थी आन्दोलनमा संयुक्त विद्यार्थी संगठनको ऐक्यबद्धता : विद्यार्थीको भविष्यमा अंकुश लगाउने सञ्चालकलाई कारबाहीको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २८ बुधबार ०६:०८:००

सात विद्यार्थी संगठनले विद्यार्थीबाट चर्को शुल्क माग्ने विराटनगरस्थित नोबेल मेडिकल र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका सञ्चालकलाई तत्काल पक्राउ गरी कारबाही गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । सत्तागठबन्धननिकटका सात विद्यार्थी संगठनले संयुक्त रूपमा तीनबुँदे माग राखी मंगलबार ध्यानाकर्षणपत्र बुझाएका छन् । 

चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिई एमबिबिएस, बिडिएसमा अतिरिक्त शुल्क तथा चर्को होस्टेल शुल्क मागेर नोबेल र केएमसीले सन् २०२१ ब्याचका विद्यार्थीलाई अध्ययनबाट समेत वञ्चित गराएका छन् । सात विद्यार्थी संगठनले आयोगले तोकेभन्दा बढी शुल्क लिने नोबेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, मणिपाल मेडिकल कलेजमाथि छानबिन गर्न र विद्यार्थीमाथि लाद्न खोजिएको धाकधम्की र ठगीविरुद्ध कानुनबमोजिम कडा कारबाहीका लागि माग गरेका छन् । 

त्यसैगरी सेक्युरिटी कम्पनी र कलेजमाथि छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न र विद्यार्थीलाई सुरक्षाको प्रत्याभूति दिलाउन उनीहरूको माग छ । नोबेल मेडिकल कलेजमा उत्पन्न विवादमा सहजीकरण गर्न गएका विद्यार्थी प्रतिनिधिमाथि कलेज प्रशासन र सञ्चालकका भिजिलान्ते गुण्डाहरूले सुरक्षागार्डको पोसाक लगाएर कलेजको तर्फबाट विद्यार्थीमाथि ढुंगामुढा गरी घाइते बनाएको विद्यार्थी संगठनहरूको आरोप छ । 

ध्यानाकर्षणपत्रमा नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, विप्लवनिकट अखिल क्रान्तिकारी, अखिल छैटौँका अध्यक्षले हस्ताक्षर गरी ध्यानाकर्षणपत्र बुझाएका हुन् । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले विद्यार्थीको मागमा गृहमन्त्री सकारात्मक भएको बताए । गलत गर्नेलाई कानुनअनुसार कारबाही गर्ने आश्वासन दिएको अध्यक्ष ढुंगानाले बताए ।