दाङमा पाँच तोला सुनका गरगहनासहित दुईजनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार राप्ती गाउँपालिका– १ निवासी गंगादेवी क्षेत्रीको घरबाट शनिबार राति पाँच तोला सुनका गरगहनासहित ३९ हजार नगद चोरी गरेर फरार रहेका दुईजनालाई पक्राउ गरिएको हो ।
उनीहरूको साथबाट सुनको बाला पाँच थान, मंगलसुत्र दुई थान, सुनको सोली चार थान, निलो बट्टासहितको छ सय, चाँदीको सिक्का एक थानसमेत गरी अन्दाजी चार लाख ५२ हजारबराबरको सुन, ३९ हजार पाँच सय नगद र एक थान मोबाइल सेट बरामद गरेको छ ।
पक्राउ पर्नेमा राप्ती गाउँपालिका–१ निवासी अन्दाजी १८ वर्षीय वसन्त खत्री र सोही ठाउँ निवासी अन्दाजी २३ वर्षीय खेमराज चौधरी रहेकोे प्रहरीले बताएको छ । खत्री र चौधरीलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।