मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २५ आइतबार
  • Tuesday, 17 December, 2024
टेकराज थामी काठमाडौं
२o७८ पौष २५ आइतबार o८:३५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बैंकमा लुटेको पैसाले गाउँमा पार्टी, ‘कलेक्टर’ नै मुख्य योजनाकार

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष २५ आइतबार o८:३५:oo

बानेश्वरस्थित एनआइसी एसिया बैंकको शाखा कार्यालयमा गत आइतबार फिल्मी शैलीमा डकैत भयो । रकम लिएर फरार डकैत समूहका एक सदस्य गाउँ पुगेर खुसी मनाउन गाउँलेलाई पार्टीसमेत दिएका छन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार काँडाघारीका २७ वर्षीय प्रदीप खत्री बानेश्वरकै एनआइसी एसिया बैंकको शाखा कार्यालयमा कलेक्टरको भूमिकामा कार्यरत थिए । उनको काम तोकेका ठाउँ जानु र भनिएको रकम लिएर बैंकको खातामा जम्मा गर्नु थियो । उनीसँग सधैँ लाखौँ रुपैयाँ हुने गर्थ्यो । केही महिना उनले मन लगाएर काम गरे । जब बैंक म्यानेजरको विश्वास जित्दै गए, तब उनमा लोभलालच बढ्दै गयो । फिल्मी शैलीमा रकम लुट्ने योजना बनाए ।

आफ्नो योजना उनले नजिकको साथी शक्तिराज पौडेललाई सुनाए । लामो समयदेखि बेरोजगार शक्तिराज उनको योजनामा मख्ख परे । अनि दुवैको सहमतिअनुसार टिममा विमल तामाङ र अनिश खड्का सामेल भए । पैसा लुट्न उनीहरूले मोटरसाइकलदेखि आवश्यक अन्य बन्दोबस्तीका सामग्री जुटाए । 

 पैसा धेरै संकलन हुने सूचना सुरुमै साथीलाई
१८ पुसमा अन्य दिनको भन्दा धेरै रकम जम्मा हुने सूचना प्रदीपले कार्यालय पुग्दानपुग्दै पाइसकेका थिए । जसको सूचना उनले तत्कालै समूहका अन्य सदस्यलाई दिए । योजनाअनुसार प्रदीप रकम संकलन गर्न कार्यालयबाट हिँडे । उनका साथीहरू भने बानेश्वरस्थित बैंकको कार्यालयमा ढुकेर बसे । जब उनी काठमाडौं महानगरपालिका–१० को वडा कार्यालयबाट १२ लाख ४५ हजार र मेटलाइफ इन्स्योरेन्सबाट तीन लाख ७५ हजार चार सय २४ रुपैयाँ लिएर बैंकको बानेश्वर शाखा पुगे, ढुकेर बसेका टिमका तीन भाइले रकम राखिएको झोला लुटेर फरार भए ।

प्रदीप भने रकम ‘डकैत भयो’ भन्दै बैंक प्रशासनको ध्यान तान्नतर्फ केन्द्रित भए । दिनभरजसो उनले बैंक प्रशासनलाई यत्तिकै अल्मल्याए । जब टिमका सबै सदस्य सकुशल फरार भएको संकेत पाए, अनि मात्रै घटनाबारे प्रहरीलाई जानकारी दिन उनी राजी भए । अनुसन्धानमा संलग्न काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले भने, ‘रकम लुटिएको अपराह्नतिर रहेछ । हामीकहाँ खबर आइपुग्यो, साँझको ४ बजेतिर । घटनास्थलमा प्रहरी पुगेपछि मात्र खुल्यो, लुटिएँ भन्ने प्रदीप नै घटनाका मुख्य योजनाकार रहेछन् । उनकै कारण घटनाबारे प्रहरीमा ढिलो जानकारी आएको खुलेको छ ।’

प्रदीपको झोलामा १६ लाख ३० हजार चार सय २४ रुपैयाँ थियो । सोही झोला लिएर टिमका सदस्य शक्तिराज, विमल र अनिश फरार भएका थिए । सुरक्षित भएको महसुसपछि लुटिएको रकम आपसमा बाटोमै बाँडे । जसमध्ये विमलले आफूले पाएको रकमबाट रासन र कोठाको भाडा तिरे । शक्तिराज भने अर्का लुटेरा अनिशसँगै मोटरसाइकलमा रामेछाप नपा–२ देउराली पुगे । योजना सफल भएकोमा उनीहरूले टोल छिमेकका साथी जम्मा गरेर पार्टी नै दिए । 

काठमाडौं परिसरका प्रवक्ता एसपी मैनालीका अनुसार शक्तिराजले भागमा परेको ६ लाख ३० हजार चार सय २४ रुपैयाँमध्ये दुई लाख १२ हजार चार सय २४ रुपैयाँ पार्टीमा सकेका थिए । ‘लुटिएको रकम आपसमा बाँडेछन् । जसमध्ये शक्तिराज र अनिश रामेछापका हुन् । मोटरसाइकलमा गाउँ पुगेका उनीहरूले लुटिएको रकमले साथीलाई पार्टी दिएछन्,’ उनले भने । प्रहरीका अनुसार लुटिएकोमध्ये १३ लाख ४६ हजार रुपैयाँ बरामद भएको छ । जसमध्ये दुई लाख ८४ हजार चार सय २४ रुपैयाँ भने लुटेराले खर्च गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।