१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
हदिश खुद्दार काठमाडाैं
२०७८ पौष २२ बिहीबार ०६:२२:००
Read Time : > 5 मिनेट
अर्थ प्रिन्ट संस्करण

देउवाको भारत भ्रमणमा रेल उद्घाटन नहुने

नियमित सञ्चालन गर्न सकिने भएपछि मात्र उद्घाटन गरिने

Read Time : > 5 मिनेट
२०७८ पौष २२ बिहीबार ०६:२२:००
  •  रेल सञ्चालनको आवश्यक तयारी पूरा गर्न अझै एक महिना लाग्ने
  •  सुरुमा ३४ किलोमिटरमा मात्र रेल सञ्चालन
  •  भारतीय पक्षले काम अधुरै राखेर नेपाललाई हस्तान्तरण गर्दा ढिलाइ

प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणको क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले नेपाल–भारत रेल  (कुर्थादेखि जयनगरसम्म) सञ्चालनको उद्घाटन नहुने भएको छ । दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गर्न सक्ने, तर उद्घाटनपछि नियमित रेल सञ्चालन गर्न आवश्यक तयारी नपुगेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पछि हटेको हो ।

 रेल नियमित सञ्चालनमा ल्याउन अझै एक महिना लाग्ने ‘रिपोर्टिङ भौतिक पूर्वाधार मन्त्रालयका अधिकारीहरूले प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयलाई गरेका छन् । यसकारण, भारत भ्रमणताका उद्घाटन भए पनि नियमित सञ्चालनमा नआउँदा जनमानसमा नराम्रो सन्देश जाने मन्त्रालयका अधिकारीहरूको भनाइ छ । ‘बरु दुई देशका प्रधानमन्त्रीले उद्घाटन गर्ने र उद्घाटन भएको दिनदेखि सञ्चालन हुने गरी प्रधानमन्त्रीको भारत भ्रमणमा मिति तय गर्ने तयारी भइरहेको छ’ एक अधिकारीले भने । 

यसअघि सोमबार संसद्को अर्थ समितिमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले नेपाल–भारत रेल सञ्चालनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएकी थिइन् । मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले पनि रेल सञ्चालन पूर्वतयारीको आवश्यक ट्र्याक चेक गर्ने, रेल सञ्चाल गरेर जाँच गर्ने काम भइरहेको बताए । 

 सुरुमा ३४ किलोमिटरमा मात्र रेल सञ्चालन
सरकारले पहिलो चरणमा भारतको जयनगरदेखि नेपालको बर्दिवाससम्म ६९ दशमलव आठ किलोमिटर रेल सञ्चालन गर्ने लक्ष्य थियो । तर, तयारी अभावका कारण तत्काल भारतको जयनगरदेखि नेपालको कुर्थासम्म ३४.९ किलोमिटर मात्र रेल सञ्चालन हुनेछ । थप १७ किलोमिटर चालू आर्थिक वर्षमा निर्माण सम्पन्न गरी नेपाललाई हस्तान्तरण गर्ने लक्ष्य छ । आर्थिक वर्ष ०७७/७८ मा रेलमार्ग तयार गरी हस्तान्तरण गर्ने योजना भए पनि कोरोनाका कारण ढिलाइ भएको हो । 
 
 नेपाल–भारत चल्ने रेलका विशेषता

कुर्था–जयनगर चल्ने रेलले १३ सय यात्रु बोक्नेछ । यसको गति रेलको लिक डिजाइनअनुसार एक सय किलोमिटर प्रतिघन्टा रहेको छ । तर, रेल स्टेसनको दूरी छोटो हुने भएकाले ७० देखि ८० किलोमिटर प्रतिघन्टासम्मको गति मात्रै हुनेछ ।  यो डेमु (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) रेल हो । डेमु रेल दुवैतर्फबाट अर्थात् अगाडि–पछाडि दुवै दिशातर्फ गुड्छ । अन्तिम गन्तव्यमा पुगेपछि टर्निङ नगरी पछाडिको भागबाट अघि बढ्छ । यसको इन्जिन डिजेल र विद्युत् दुवैमार्फत सञ्चालन गर्न सकिन्छ । डिजेलले सञ्चालन हुने मेसिनले उत्पादन गरेको विद्युत्मार्फत चल्ने रेललाई डेमु रेल भनेर चिनिन्छ । यसअघि ४ चैत ०७५ मा मन्त्रिपरिषद्ले भारतीय सरकारी कम्पनी कोन्कण रेल्वेजमार्फत रेल खरिद गर्ने निर्णय गरेको थियो । नेपाल सरकारले भारत सरकारसँग जिटुजी (गभर्मेन्ट टु गभर्मेन्ट) खरिद प्रक्रियाअनुसार दुईवटा रेल ल्याएको हो । 

 न्यूनतम भाडा १५ रुपैयाँ तर संशोधन हुन सक्ने
रेल्वेको न्यूनतम टिकट १५ रुपैयाँ तोकिएको छ । त्यसैगरी, जनकपुरदेखि जयनगरसम्मको साधारण भाडा ७५ रुपैयाँ र एसीमा तीन सयसम्म तोकिएको छ । तत्काल बिहान, दिउँसो र बेलुका गरी दैनिक तीनपटक जनकपुर–जयनगर रेल सञ्चालन हुनेछ । भाडा र रेल कतिपटक चलाउने भन्ने विषयमा अझ छलफल गरेर परिमार्जन हुन सक्ने नेपाल रेल्वे कम्पनीका अधिकारीहरूको भनाइ छ । 

भारतीय पक्षले ५ कार्तिकमा नेपाल सरकारलाई रेल हस्तान्तरण गरेका थिए । रेल सञ्चालनका लागि आवश्यक रेल ट्र्याक, हल्ट, स्टेसन, कर्मचारीका लागि आवास व्यवस्थापनसहितका जिम्मेवारी भारतीय पक्षको रहेको छ । भारत सरकारको इरकाँन इन्टरनेसनल कम्पनीले केही काम अधुरै राखेर नेपाललाई पहिलो चरणमा जयनगर–कुर्थासम्म ३५ किलोमिटर रेल्वे खण्ड नेपाललाई हस्तान्तरण गरेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले बताए । इरकाँनले इन्टरनेसनलले निर्माण गरेका कर्मचारीका लागि आवास भवन वर्षायाममा चुहिने भएकाले त्यसको मर्मत, स्टेसन, हल्ट तथा आवास भवनमा बिजुलीबत्ती, पानीको सप्लाई, प्लम्बिङको काम, भवनमा झ्यालढोकालगायतका काम अझै बाँकी नै रहेको छ । 

त्यसैगरी, हल्टहरूमा शौचालय निर्माण अझै हुन सकेको छैन । जयनगरदेखि कुर्थासम्म पाँचवटा स्टेसन र तीनवटा हल्ट रहेका छन् । स्टेसनमा शौचालय निर्माण भए पनि हल्टहरूको शौचालय निर्माण नगरिएको नेपाल रेल्वेका इन्जिनियर रोशनकुमार देवले बताए । सबभन्दा महŒवपूर्ण त अहिलेसम्म भारतीय पक्षले रेल सञ्चालनका लागि आवश्यक पर्ने रेल्वे सिग्नलको काम अझै बाँकी नै रहेको छ ।

इन्जिनियर देव भने, ‘इरकाँन इन्टरनेसनलले हामीलाई ह्यान्डओभर गर्नेवेलामा यी काम अधुरै छन्, यस्तो अवस्थामा कसरी लिने भनेका थियाँै । तर, भारतीय पक्षले ३० नोभेम्बरसम्म सबै काम पूरा गरिदिने आश्वासन दिएपछि हामीले जयनगरदेखि कुर्थासम्मको रेल्वे खण्डे आफ्नो स्वामित्वमा लियौँ । तर, अहिलेसम्म पनि ती अधुरा काम पूरा गर्न सकेको छैन ।’ चोरी भएका रेल्वेका क्लिप सबै भारतीय कम्पनीले लगाइसकेको उनले बताए ।

 कुर्था–बिजलपुरासम्म ९० प्रतिशत काम सम्पन्न 
सन् २०१० मा नेपाल र भारतबीच जयनगर–बिजलपुरा–बर्दिवास रेल सेवा सञ्चालन गर्ने सहमति भएको थियो । नेपालले जग्गा उपलब्ध गराउने र निर्माणसम्बन्धी  जस्तै– ट्र्याक निर्माण, स्टेसन भवन, हल्ट, पुलपुलेसा, खानेपानी, विद्युत्लगायतका काम भारत सरकारले गर्ने सहमति भएको छ । भारत सरकारको आठ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने जयनगर–बिजलपुरा–बर्दिवाससम्म ६९ किलोमिटर रेलमार्गअन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालनको आवश्यक पूवार्धार तयार भइसकेको रेल्वे जनकपुरका साइट इन्जिनियर विनोद ओझाले बताए । 

कुर्था–देखि बिजलपुरासम्मको ९० प्रतिशत काम सम्पन्न भइरहेको बताउँदै ओझाले भने, ‘जयनगर कुर्था रेल सेवा सञ्चालन भएपछि त्यसको केही महिनामै बिजलपुरासम्म पनि रेल चलाउन सकिन्छ ।’ उनले बिजलपुरादेखि बर्दिवाससम्मको जग्गा अधिग्रहणको काम पनि सुरु भइसकेको बताए ।

 ६९ किमि रेलमार्गमा आठ स्टेसन र ६ हल्ट 
जयनगरदेखि बर्दिवाससम्म ६९ किलोमिटर रेलमार्गमा आठवटा स्टेसन र ६ वटा हल्ट गरी १४ वटा विश्रामस्थल तोकिएको छ । नेपाल रेल्वे विभागको साइट कार्यालय जनकपुरका अनुसार जयनगर, खजुरी, इनर्वा, खजुरी, वैदही, कुर्था, महोत्तरीको खुट्टापिराडी र बर्दिवास गरी आठवटा स्टेसन रहेका छन् । त्यस्तै, मैनाथपुर, देउरी परवाहा, जनकपुर, महोत्तरीको लोहारपट्टी, सिंग्याही र रामनगर गरी ६ वटा हल्ट रहेका छन् । स्टेसनमा बढी र हल्टमा थोरै समयका लागि रेल रोकिने गरिन्छ । हल्टमा थोरै समयका लागि रेल रोकिने भएकाले सिंगल लाइनको लिक रहेको छ, जयनगरमा चार लाइन, इनर्वामा पाँच लाइन, खजुरीमा तीन लाइन, कुर्थामा पाँच लाइन, वैदहीमा तीन लाइन, जनकपुरमा सिंगल लाइन रहेको छ ।  त्यसैगरी, जयनगरदेखि बिजलपुरासम्मका सानाठूला गरी एक सय ४२ वटा पुलपुलेसा निर्माण गरिएका छन् । रेलमार्गमा एक सय २३ वटा साना र १९ वटा ठूला पुल निर्माण गरिएको ओझाले बताए । 

 रेल्वे टिकटक बनाउने थलो 
रेल नेपालका लागि नयाँ सवारीसधान भएकाले टिकटक प्रेमीहरूका लागि रेलका इन्जिन राखिएको ठाउँ आकर्षक थलो बनेको छ । पर्सा, बारा, सिन्धुली, रामेछाप, काठमाडाैं लगायतबाट टिकटक बनाउन इनर्वा आउने रेल्वेको सुरक्षामा खटेका सशस्त्र प्रहरीले बताए । 

 फेरिँदै रेल्वेको स्वरूप 
भारतीय ब्रिटिस शासकले विक्रम संवत् १९९४ मा महोत्तरीको जंगलबाट काठ ढुवानी गर्न ५२ किलोमिटर रेल्वे सञ्चालन गरेको थियो । पछि ती रेल नेपाल सरकारलाई जिम्मा दिएपछि यात्रुका लागि सञ्चालन हुन थाल्यो । २०५९ सालमा महोत्तरीको बिग्ही नदीमा आएको बाढीले जीर्ण पुल भत्किएपछि जनकपुर–जयनगर २९ किलोमिटरमा सीमित भयो । मर्मत–सम्भारको अभाव र राजनीति दलका कार्यकर्ता भरपोषणको केन्द्र बनाएको रेलमा बिस्तारै बन्द हुने अवस्थामा पुग्यो । पटक–पटक लिक छोड्ने तथा दुर्घटनामा पर्ने न्यारोगेज सेवालाई ब्रोडग्रेज सेवामा स्तरोन्नति गर्न भारत सरकारसँग आग्रह गरिएको थियो । २०७१ साल माघदेखि उक्त सेवालाई पूर्ण रूपमा ठप्प गरी स्तरोन्नतिका काम हुँदै आएको छ ।

 नयाँ मोडेलका आधुनिक रेल 
विश्वमै नयाँ मोडेलका रेलका रूपमा डिजेल इलेक्ट्रिक मल्टिपल युनिट (डेमु) डिजेल र विद्युत् दुवैबाट चल्ने तयार गरिएको निर्माण कम्पनीले दाबी गरेको छ । डिपिसी १९०१ र डिपिसी १९०२ नम्बरको दुवै रेल १६ सय हर्सपावरका हुन् ।  एउटै इन्जिन भए पनि दुवैतर्फबाट चलाउन सकिने रेलको एउट बोगीमा ७० वटा सिट रहेका छन् ।

२० मिटर लामो रेलको इन्जिनबाहेक एक एसी र दुई जेनरल बोगी रहेको छ । प्रतिकिलोमिटर दुई लिटर डिजेल लाग्ने रेलमा थप चारवटा बोगीसम्म जोड्न सकिने निर्माण कम्पनीको दाबी छ । नेपाललाई लक्षित गरी बनाएको रेल भारतमा सञ्चालनमा रहेको अन्य रेलभन्दा फरक रहेको निर्माण कम्पनीका मेकानिकल इन्जिनियर दीपक त्रिपाठीले बताए । ‘यो दुवै रेल अन्य रेलभन्दा फरक र आकर्षक मोडेलको रहेको उल्लेख गर्दै त्रिपाठीले भने, ‘यसको स्पिड, लोड बोक्ने क्षमता धेरै राम्रो छ, नेपालका लागि हामीले स्पेसल डिजाइन गरेका छौँ ।’ रेलका बोडिङका यात्रीहरूले आफूसँग ल्याउने झोला–ब्याग राख्ने स्थान बनाइएको छ भने प्रत्येक बोगीमा शौचालयको व्यवस्था गरिएको छ । एसीबाहेक अन्य जेनरल बोगीमा ठाउँठाउँमा पंखा लगाइएको छ । नेपालले खरिद गरेको रेल यात्रुवाहक रहेको रहेको उनले बताए । 

 आर्थिक क्षेत्रमा टेवा पुग्ने विश्वास 
जयनगर–जनकपुर रेल भारतीय रेल सञ्जालसँग जोडिएकाले भारतका विभिन्न सहरमा नेपालीको सहज पहुँच हुने भएको छ । रेल सञ्चालन भएपछि जयनगर हुँदै भारतको राजधानी दिल्ली, पटना, बनारस, कलकत्तालगायतका सहरमा सहज यात्रा गर्न सकिने जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए । रेल बन्द भएदेखि जनकपुरको व्यापारमा गिरावट आएको भन्दै अध्यक्ष महासेठले भने,‘रेल सुचारु हुँदा दैनिक हजाराैँ भारतीय श्रद्धालु भक्तजन जनकपुरमा आउने गर्छन् । त्यसले पनि जनकपुरको व्यापारमा सुधार आउँछ ।’ 

रेलको इन्जिन बनाउन ३० लाख खर्च लाग्ने 
नेपाल सरकारले खरिद गरेको बोगीसहितका दुईवटा रेल लामो समयदेखि धनुषाको इनर्वा स्टेसनमा राखिएको छ । खरिद भएको दुई वर्षभन्दा बढी समयदेखि दुवै रेल उक्त स्टेसनमा राखिएको छ । सशस्त्र प्रहरीले २४सै घन्टा हतियारसहित रेलको सुरक्षा गर्दै आएको सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालले बताए । 

लामो समयदेखि रेल एउटै स्थानमा राखिएकाले दुवै रेलको ब्याट्री, चक्कासँग जोडिएर रहेको पिस्टन, जेनरेटरका ब्याट्रीलगायतका सामान खराब भइसकेका छन् । ‘सुरुको केही समय दुवै इन्जिनलाई कहिलेकाहीँ चलाउने गरिन्थ्यो । करिब एक वर्षदेखि रेललाई चलाइएको छैन,’ स्थानीय रेल्वेका एक कर्मचारीले भने, ‘कहिलेकाहीँ रेलको निरीक्षण गर्न आउँछन्, त्यस्तै बाहिरबाट हेर्छन् र फेरि फर्किन्छन् ।’ इन्जिनियर देवले पनि लामो समयदेखि एकै स्थानमा रेल रहेकाले ब्याट्री, पिस्टनलगायतका सामान फेर्नुपर्ने बताए । रेल इन्जिन गुडाउन तत्काल सर्भिसिङ आवश्यक भएकाले २५ देखि ३० लाख सम्म खर्च लाग्न सक्ने उनले बताए ।