फोटोसहितको मतदाता नामावली संकलन गर्ने क्रममा दाङमा २५ हजार पाँच सय नयाँ मतदाता थपिएका छन् । दुई चरणमा गरिएको नामावली संकलनमा २५ हजार पाँच सय मतदाता थपिएका हुन् ।
पहिलो चरणअन्तर्गत बंगलाचुली, बबई, शान्तिनगर र दंगिशरणमा गत १७ मंसिरदेखि २ पुससम्म अभियान चलेको थियो । सो अभियानमा गाउँपालिकाको कार्यालयबाटै नामावली संकलन गरिएको निर्वाचन कार्यालय प्रमुख नीमराज भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार दोस्रो चरणमा चारदेखि १८ पुससम्म राप्ती, राजपुर र गढवा गाउँपालिकामा नामावली संकलन गरिएको थियो ।
घोराहीको प्रदेश निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, लमही र तुलसीपुरको इलाका प्रशासन कार्यालयबाट फोटोसहितको मतदाता नामावली संकलन भइरहेको छ । बसाइँसराइ र विवाह दर्ताको प्रमाणपत्रका आधारमा पनि मतदाता नामावली संकलन हुने भट्टराईले बताए ।