मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ पौष १९ सोमबार १७:५३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मतदाता नामावली दर्ता गराउन चार घण्टा लाइन (भिडियो)

Read Time : > 1 मिनेट
२०७८ पौष १९ सोमबार १७:५३:००

काठमाडौं ढुंगेधारा बस्दै आएका दीपेन्द्र देवकोटा मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोग धाउन थालेको तीन दिन भयो। यसअघि उनी दुई दिन लाइनमा बसेर फर्किएका थिए। नामावली दर्ता गराउने चक्करमा सोमबार पनि उनी निर्वाचन कार्यालय धाए। निर्वाचन आयोग परिसरको लाइनमै सोमबार दिउँसो भेटिएका उनले तीन दिनदेखि धाउँदा पनि नामावली दर्ता गराउन नपाएको गुनासो  गरे। ‘नामावली दर्ता गराउन आउँदा तीन दिन लाग्यो,’ उनले भने, ‘आज पनि ३/४ घण्टादेखि लाइनमै छु।’ 

देवकोटा मात्रै होइन, निर्वाचन आयोगमा नामावली दर्ता गराउन पुग्नेहरू घन्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता छ। आयोगले छिटो छरितो रूपमा सेवा प्रवाह गर्न नसक्दा सेवाग्राहीहरू नामावली दर्ता गराउन लामो समय लाइनमा बस्नुपरेको छ। उनीहरूले आयोगको कामप्रति गुनासो गरेका छन्। सामान्य विवरण दर्ता गराउनसमेत धेरै झन्झट हुने भएपछि कतिपय नाम दर्ता नै नगरी फर्किने गरेका छन्। आफूहरू टाढाबाट धाएर कार्यालय पुग्दा नामावली दर्ता नै नगरिदिएको नुवाकोटका विदुर लामाको गुनासो छ। उनले चार दिनदेखि आयोग कार्यालय धाउन थाले पनि नाम दर्ता गराउन नसकेको बताए। ‘आयोग आउँदा सभागृहमा जानुस् भनेर पठाउँछन्, त्यहाँ जाँदा आयोगमा पठाउँछन्। चार दिन भयो यसरी धाउन थालेको,’ उनले सुनाए, ‘सोध्दा कर्मचारी रिसाउँँछन्।’

निर्वाचन आयोगमा अहिले दास्रो चरणअन्तर्गत मतदाता नामावली अध्यावधिक कार्य भइरहेको छ। उपत्यकाबाहिरबाट आएकाहरूले केन्द्रीय निर्वाचन कार्यालयमा पुगेर मतदाता नामावली दर्ता गराउन सक्छन्। तर, आयोगमा अत्याधिक भिडभाड हुने भएपछि सेवाग्राहीले सास्ती खेप्नुपरेको छ। निर्वाचन आयोगका सहसचिव शालिग्राम शर्मा पौडेलले छुटेका व्यक्तिहरू नामावली दर्ता गराउन आउनेक्रम बढेकोले केही समय कुर्नुपर्ने अवस्था आएको बताए। केन्द्रीय निर्वाचन आयोगमा दैनिक ६ सय र देशभरि ५० हजार नयाँ नामावली दर्ता हुने गरेको उनको भनाइ छ। उनले भने, ‘हामीले अभियान नै चलायौँ, सम्बन्धित नगरबाट पनि नामावली संकलन भयो, तर कतिपयले त्यतिवेला दर्ता गराउनुभएन। उहाँहरू अब जिल्ला प्रशासन र निर्वाचन कार्यालयमा पुगेर नामावली दर्ता गराउन सक्नुहुन्छ।’ उनका अनुसार यसअघि विदेशमा रहेका विदेश, उमेर नपुगेका र पहिले छुटेका व्यक्तिहरू पछिल्लो समय नामावली दर्ता गराउन आइरहेका छन्।

आयोगले मंसिर १७ गतेदेखि पुस १९ (आज) सम्म दोस्रो चरणको मतदाता नामावली संकलन अभियान चलाएको थियो। उक्त अभियानका क्रममा पनि कैयौँ व्यक्तिहरू नामावली दर्ता गराउन आयोग तथा सम्बन्धित कार्यालय नपुगेका कारण अहिले भिड बढेको हो। छुटेकाले अझै पनि मतदाता नामावली दर्ता गराउन सक्नेछन्। आयोगका अनुसार निर्वाचन घोषणा नभएसम्म मतदाता नामावली दर्ता गराउन पाइन्छ। सोही स्थानको बासिन्दाको हकमा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा गएर मतदाता नामावली दर्ता गराउन सकिन्छ। तर, जन्मस्थानभन्दा अन्य जिल्लामा बसोबास गर्दै आएकाहरूले बसोबास गर्दै आएको जिल्लाको निर्वाचन कार्यालयमा गएर नामावली दर्ता गराउन सक्नेछन्।

आयोगले १८ वर्ष पुगेका नागरिकलाई मतदाता परिचयपत्र दिन्छ। हालसम्म आयोगमा एक करोड ६२ लाख ४३ हजार एक सय १० मतदाता दर्ता भएका छन्। त्यस्तै पछिल्लो समय ८ लाख १७ हजार व्यक्तिले नामावली दर्ता गराएका छन्। अझै २ लाखभन्दा बढी मतदाता थपिने आयोगको अनुमान छ।