मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १९ सोमबार
  • Thursday, 19 December, 2024
२o७८ पौष १९ सोमबार १२:o६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसमा जिल्ला सभापतिका आकांक्षीको दौडधुप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष १९ सोमबार १२:o६:oo

नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशन नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ। सभापति, कार्यसमितिका पदाधिकारी र सदस्य पदका आकांक्षीहरूको दौडधुप बढेको छ। नेताहरू उम्मेदवारी घोषणा गरेर दौडधुपमा लागेपछि कांग्रेसमा चुनावी माहोल तातेको छ। आकांक्षीहरू क्षेत्र, पालिका तथा वडास्तरमै पुगेर कार्यकर्ता भेटघाट र छलफलमा जुटेका छन्।

नयाँ नेतृत्व चयनका लागि यही २७ पुसमा जिल्ला अधिवेशन हुँदै छ। केन्द्रीय महाधिवेशनअघि नै तय भएको जिल्ला अधिवेशन अन्तिम समयमा तयारी नपुगेको भनेर स्थगित गरिएको थियो। जिल्ला सभापतिका लागि संस्थापन पक्षबाटै पाँचजनाले दाबी गरेका छन्। संस्थापनइतर समूहबाट भने उम्मेदवारको औपचारिक दाबी सार्वजनिक भइसकेको छैन।

संस्थापन पक्षबाट हालका उपसभापति प्रकाश बम, पूर्वउपसभापति नारायणदत्त भट्ट, युवा नेता भीम बडुवाल, गणेश देउवा र खेम चौधरीले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्। उनीहरूले कार्यकर्ता भेटघाट तीव्र पार्नुका साथै आफ्नो समूहबाट आधिकारिक उम्मेदवार बन्न केन्द्रीय नेतृत्वसँग पनि लबिङ गरिरहेका छन्। उम्मेदवारी घोषणा गरेर प्रचारमा जुटेकाहरू केन्द्रको ‘लाइन’ प्रतीक्षामा देखिन्छन्।

संस्थापन समूहको वर्चश्व रहेको कैलालीमा संस्थापन पक्षकै उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ। संस्थापन पक्षबीचमै हुने प्रतिस्पर्धाले नेतृत्व चयन रोचक बन्नेछ। संस्थापनबाट सर्वसम्मत उम्मेदवार बनाउने कसरतमा पनि नेताहरू जुटेका छन्। तर, सर्वसम्मत उम्मेदवारको सम्भावना कम रहेको कांग्रेस नेता–कार्यकर्ताहरू बताउँछन्।

सभापतिका दाबेदार बमले पनि आफ्नो समूहबाट सहमतिमा एउटै उम्मेदवार बन्ने सम्भावना कम रहेको बताए। कुनै पनि हालतमा आफू सभापतिको उम्मेदवारीबाट पछि नहट्ने उनको अडान छ। ‘सहमतिको सम्भावना कमै देखिएको छ। सभापतिमा चुनावै हुन्छ,’ बमले भने। सभापतिका अन्य आकांक्षी पनि उम्मेदवारीबाट पछाडि नहट्ने अडानमा छन्। कैलालीमा यसअघि वडादेखि क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधिलगायतमा देउवा समूहमै प्रतिस्पर्धा भएको थियो। प्यानलसहित चुनाव लड्ने अवस्था आए अन्तिममा बम र भट्टबीच नै मुख्य प्रतिस्पर्धा हुने कांग्रेस कार्यकर्ताको आकलन छ।

जिल्लामा कमजोर रहेको इतर पक्षले भने संस्थापन पक्षले आफूहरूलाई पनि समेटेर लैजाओस् भन्ने चाहेको छ। संस्थापन पक्ष एकलौटी रूपमा जान खोजेको अवस्थामा भने प्यानलसहित उम्मेदवारी दिने उक्त समूहको तयारी छ। ‘पार्टीभित्रका सबै पक्षलाई समेटेर सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन होस् भन्ने चाहेका छाैँ,’ जिल्ला सचिवसमेत रहेका इतर समूहका नेता पूर्ण कुँवरले भने, ‘संस्थापन पक्षले हाम्रो अस्तित्व स्वीकार नगरेको अवस्थामा सभापतिसहित पदाधिकारीमा उम्मेदारी दिन्छाैँ ।’ निर्वाचनमा कसरी जाने भनेर छलफल गर्न उक्त समूहले छुट्टै भेला गर्ने तयारी गरेको छ।

अन्य पदका आकांक्षीहरू पनि उम्मेदवारी घोषणा गर्न थालेका छन्। सचिवमा हालसम्म पाँचजनाले उम्मेदवारी घोषणा गरिसकेका छन्। अन्य पदमा पनि मुख्य प्रतिस्पर्धा संस्थापन पक्षकै उम्मेदवारबीच हुनेछ। दुई हजार पाँच सय ७२ जना क्षेत्रीय प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्।