काठमाडौं बाफलकी दीक्षा केसीले मिसेस नेपाल वल्र्ड– २०२१ को उपाधि जितेकी छिन् । आर्मी अफिसर्स क्लबमा शनिबार आयोजित कार्यक्रममा सिएनएन हिरो तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले सोधेको प्रश्नको सटिक जवाफ दिँदै दीक्षा वाइवाइ मिसेस नेपाल वल्र्ड २०२१ को उपाधि चुम्न सफल भएकी हुन् ।
दीक्षाले उपाधिसहित सन् २०२२ मा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् । यसै वर्षदेखि मिसेस नेपाल वल्र्डको विजेतालाई मिसेस वल्र्डमा सहभागी गराउने गरी फ्रेन्चाइजी मिलाएका आयोजक संस्था रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले जानकारी गराए ।
कार्यक्रममा सिएनएन हिरो अनुराधा कोइराला, अभिनेता राजेश हमाल, कोरियोग्राफर प्रशान्त ताम्राकार, नेपाल सुपर लिगकी अध्यक्ष अश्रेता कार्की चौधरी, नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष राजकुमार क्षत्री र ब्राजिल नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष अखिल चापागाईं प्रतियोगिताका निर्णायक थिए । प्रतियोगितामा नायिका उषा रजक मिसेस नेपाल इन्टरनेसनल र पविता गिरी एमएस इन्टरनेसनल भए । उनीहरूले उपाधिसहित सन् २०२२ मा सिंगापुरमा हुने मिसेस इन्टरनेसनल र एमएस इन्टरनेसनलमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन् ।
रिबन इन्टरटेनमेन्टको आयोजना तथा कि एडभर्टाइजिङको मार्केटिङ सहकार्यमा सम्पन्न प्रतियोगितामा सुनिता लामा मिसेस नेपाल वल्र्ड फस्ट रनर्स–अप, राजश्री थापा मिसेस नेपाल वल्र्ड सेकेन्ड रनर्स–अप र मनिता प्याकुरेल मिसेस नेपाल वल्र्ड थर्ड रनर्स–अप भए ।