भारत सरकारले मदर टेरेसाद्वारा स्थापित एक च्यारिटीको विदेशी फन्डिङ लाइसेन्स नवीकरण गर्न अस्वीकार गरेको छ। भारतको केन्द्रीय गृह मन्त्रालयले उक्त मिसिनरिज अफ च्यारिटीको विदेशी फन्डिङ लाइसेन्स नवीकरण गर्न अस्वीकार गरेको बिबिसी हिन्दीले जनाएको छ। मन्त्रालयले कारण नखुलाए पनि ‘प्रतिकूल लगानी आशंका’का कारण नवीकरण नगरिएको उल्लेख गरेको छ।
सो च्यारिटीले धर्म परिवर्तन गराउन आफ्नो कार्यक्रमहरूको दुरुपयोग गरेको आरोप लाग्दै आएको छ। च्यारिटीले भने आरोप अस्वीकार गरेको छ। आर्थिक वर्ष सन् २०२०–२१ मा च्यारिटीले तीन सय ४७ व्यक्तिगत र ५९ संस्थागत दाताबाट ७५ करोड फन्ड संकलन गरेको द हिन्दुले जनाएको छ। च्यारिटीको खातामा पछिल्लो वर्षको रकमसहित १०३.७६ करोड भारतीय रुपैयाँ रहेको समाचारमा जनाइएको छ।
सरकारले विदेशी फन्डिङ लाइसेन्स नवीकरण गर्ने अनुरोध अस्वीकार गरेपछि च्यारिटीले यो मामला हल नभएसम्म कुनै पनि विदेशी फन्डिङ खाता सञ्चालन नगर्ने जनाएको छ।