Skip This
निर्णय पुनर्विचार गर्न खेलाडीको माग 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ३ शनिबार
  • Monday, 08 July, 2024
क्यानको कारबाहीपछि पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहितका खेलाडी शुक्रबार सामूहिक पत्रकार सम्मेलन गर्दै
२o७८ पौष ३ शनिबार o६:३८:oo
Read Time : > 5 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

निर्णय पुनर्विचार गर्न खेलाडीको माग 

Read Time : > 5 मिनेट
नयाँ पत्रिका
२o७८ पौष ३ शनिबार o६:३८:oo

राष्ट्रिय क्रिकेट टोलीका चार सिनियर खेलाडीले शुक्रबार संयुक्त रूपमा पत्रकार सम्मेलन गरी क्यानको कारबाहीको निर्णय पुनर्विचार हुनुपर्ने माग राखेका छन्, आसन्न ग्लोबल एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मध्यनजर गरी छलफलबाटै समस्याको हल गर्नुपर्ने उनीहरूको भनाइ छ

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले आसन्न एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता ग्लोबल छनोटको तयारीमा लाग्नुपर्ने वेलामा स्पष्टीकरण दिइरहनुपर्ने अवस्था दुखद रहेको बताएका छन् । ‘हामी सबै एकदिवसीय ग्लोबल छनोटको तयारीमा लाग्नुपर्ने थियो, तर खेलाडी स्पष्टीकरण दिइहिँडनु परिरहेको छ, यो राम्रो होइन,’ पूर्वकप्तान मल्लले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने । 

बुधबार नेपाल क्रिकेट संघ (क्यान)को बोर्डले अनुशासन र नियम उल्लंघन गरेको भनी तत्काल कप्तान मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीमाथि कारबाही गरेको थियो । क्यानले मल्ल र दीपेन्द्रका पद खोसेको थियो । क्यानले मल्ल, दीपेन्द्रसँगै सोमपाल र कमलसिंहका सन् २०२२ को प्रारम्भिक कन्ट्याक्ट सम्झौताअन्तर्गत ६ महिना तलब नपाउने भनी कारबाहीसमेत गरेको छ । 

क्यानले कारबाही गरेको दिन चारैजना खेलाडीले केही पनि प्रतिक्रया दिएका थिएनन् । तर, शुक्रबार चारै खेलाडीले पत्रकार सम्मेलन गरी आफ्नो भनाइ सार्वजनिक गरेका हुन् । चारै खेलाडीको एकैमत छ, ‘क्यानको कारबाही गर्ने निर्णय पुनर्विचार होस् ।’ कारबाही समस्याको समाधान नभएको र समस्या सुल्झाउन सकिने उपाय भएको मल्लले बताए । ‘हामीमाथि भएको कारबाही सच्याउन आग्रह गरेका छौँ, कारबाही नै समस्याको समाधान होइन, अन्य माध्यमबाट पनि हल गर्न सकिन्छ,’ मल्लले नयाँ पत्रिकासँग भने, ‘गलत गरेको भए माफी माग्ने हो, कुनै पनि खेलाडीको हकहितका लागि कुरा गर्दा अनुशासन तोडियो भन्नु राम्रो होइन ।’

बुधबार बोर्ड बैठकले अनुशासन उल्लंघन गरेको आरोपमा ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रलाई उपकप्तानबाट हटाएको थियो । यी दुई क्रिकेटरसँगै सोमपाल र कमललाई २०२२ को सुरुवाती ६ महिना गे्रडमै नराख्ने पनि जनाएको थियो । उनीहरूले क्यानको वर्गीकरण सम्बन्धमा पनि प्रश्न उठाएका छन् । क्यानले आफूहरूलाई अहिलेसम्म वर्गीकरणसम्बन्धीको मापदण्ड नै जानकारी नगरेको दाबी गरेका छन् । 

‘क्यानले मापदण्ड पुगेको र नपुगेकै आधारमा खेलाडी वर्गीकरण गरेको भनिरहेको छ, तर अहिलेसम्म हामीलाई मापदण्ड कस्तो हो केही थाहा छैन,’ मल्लले भने, ‘यदि खेलाडी ग्रेडिङ मापदण्डअनुसारै भएको हो भने यो हामीलाई उपलब्ध गराउनुपर्छ ।’ खेलाडीको वर्गीकरण सम्बन्धमा क्यानका कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह, क्रिकेट म्यानेजर विनोद दास, जनरल म्यानेजर रौनक मल्लसँग छलफल भएको उनले बताए । 

‘हामीले ग्रेडिङबारेमा छलफल गरेका थियौँ, तर अहिलेसम्म ग्रेडिङको मापदण्डबारे केही उपलब्ध गराएको छैन,’ उनले भने । पूर्वकप्तान मल्लले आफूहरूले क्यानमा धम्कीपूर्ण पत्र नबुझाएको दाबी गरेका छन् । उनी भन्छन्, ‘खेलाडीहरूको समस्याबारे मात्र प्रश्न राखेका थियौँ, वर्गीकरण कसरी गरिएको, खेलाडीका बिमा र सुविधाबारे सोध्नु धम्कीपूर्ण रूपमा लिइयो,’ उनले भने, ‘यदि खेलाडीको हकहितबारे कुरा निकाल्नु धम्कीपूर्ण बुझाइ हुन्छ भने थप के भनूँ !’ 

मल्लले खेलाडी र क्यान एकै परिवार भएको जनाए । परिवारबीचको झै–झगडा छलफल गरी समाधान गर्न सकिने सुझाव दिए । ‘विवाद गरी अगाडि बढ्ने होइन, समाधान गरेर जाने भन्ने हो, क्यान र हामी एउटै परिवार हौँ,’ मल्लले भने, ‘अहिले महत्वपूर्ण प्रतियोगिता छ, ध्यान त्यसतर्फ जानुपर्छ, जतिसक्यो छिटो संवाद गरी हल हुनुपर्छ ।’ उनले टोलीमा कुनै गुट नबनाएको दाबी गरेका छन् । ‘गुट–उपगुटबारे केही थाहा छैन, मैले समग्र खेलाडीको नेतृत्व गर्ने हो,’ उनले भने । क्रिकेट खेलमा भविष्य खोजिरहेका खेलाडीले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नबनोस् भन्ने चारै खेलाडीको भनाइ छ । 

खेलकुदमन्त्रीको चासो

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले खेलाडीमाथिको कारबाही पुनर्विचार गर्न क्यानलाई आग्रह गरेका छन् । खेलाडीमाथिको कारबाही विवाद चर्किरहँदा खेलकुदमन्त्री गहतराजले शुक्रबार मन्त्रालयमै क्यानका पदाधिकारीसँग छलफल गरेका हुन् । मन्त्री गहराजतले क्यानको पछिल्लो निर्णयप्रति असन्तुष्टि जनाएका छन् । विश्व क्रिकेटमा नेपाललाई चिनाएका खेलाडीलाई कमजोर र निरुत्साहित बनाउने निर्णय गलत भएको मन्त्री गहतराजले क्यानका पदाधिकारीसमक्ष आफ्नो भनाइ राखेका छन् । 

‘खेलाडीहरूलाई गलत तरिकाले कारबाही गर्नु गलत भन्नुभएको छ,’ मन्त्रीसँगको छलफलमा सहभागी क्यानका एक पदाधिकारीले भने । क्यान र खेलाडीबीचको विवाद विभिन्न प्रकारले समाधान निकाल्न मन्त्री गहतराजले जोड दिएका छन् । ‘समस्याको समाधान निकाल्न सकिन्छ, यसकारण तपाईंहरू विभिन्न विधिबाट यस विषयको समाधान निकाल्नुस्,’ मन्त्री गहतराजको भनाइ उद्धृत गर्दै ती पदाधिकारीले भने । सो छलफलको क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले प्रमाण पुर्‍याएर नै खेलाडीमाथि कारबाही गरेको जानकारी मन्त्री गहतराजलाई गराएका थिए । 

सफल कप्तान तर क्यानको नजरमा असफल

क्यानले कप्तान मल्ललाई कारबाही गर्नुको पहिलो कारणका रूपमा अनुशासन र नियम उल्लंघन गरेको जनाएको छ । अहिले मल्ल एक असफल कप्तानी भएकाले नै कप्तानीबाट हटाउनुपरेको भनाइ पनि छ । क्यानले कारबाही गर्दै मल्लको कप्तान तथा दीपेन्द्रसिंह ऐरीको उपकप्तान पद खोसेको थियो । क्यानले युवा लेग स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान नियुक्त गरेको छ । यदि घरेलु तथा अन्तर्राष्ट्रि डाटा हेर्ने हो भने मल्लले धेरै सफलता प्राप्त गरेका छन् । 

ज्ञानेन्द्र मल्ल

मैले अहिलेसम्म सम्झौतापत्र पढेको पनि छैन, यसमा के उल्लेख छ थाहा छैन, जब सम्झौतापत्रमा हस्ताक्षर नै नगरेपछि कसरी कारबाही हुन्छ ?

पारस खड्काले कप्तानीबाट राजीनामा दिएपछि क्यानले नै ०७६ को कात्तिकमा मल्ललाई टोलीको मुख्य जिम्मेवारी दिएको थियो । ज्ञानेन्द्रको कप्तानमा नेपालले दुई वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागिता जनायो । यसक्रममा नेपालले ज्ञानेन्द्रको कप्तानीमा ११ वटा अन्तर्राष्ट्रिय टी–२० र १० एकदिवसीय खेल खेल्यो । मल्लले कप्तानी गरेको ११ अन्तर्राष्ट्रिय टी–२० मध्ये नेपालले आठ खेलमा जित निकाल्यो । नेपालले पछिल्लो १० मध्ये ६ एकदिवसीय खेलमा मल्लकै कप्तानीमा जित निकाल्यो । 

मल्लकै कप्तानीमा नेपालले दुईवटा अन्तर्राष्ट्रिय सिरिज जित्यो । घरेलु मैदान कीर्तिपुरमा मलेसिया र नेदरल्यान्ड्स सम्मलित त्रिकोणात्मक टी–२० सिरिजको उपाधि नेपालले उचालेको थियो । ओमानमा नेपालले पपुवा न्युगिनीविरूद्धको दुई खेलको एकदिवसीय सिरिज २–० ले आफ्नो पक्षमा पा¥यो । नेपालले उनकै कप्तानमा पहिलोपटक आइसिसी वल्र्ड डिभिजन २ मा ओमानलाई पहिलोपटक हराएको थियो । 

मल्लकै कप्तानमा नेपालले १३औँ दक्षिण एसियाली खेलकुदमा क्रिकेटबाट कांस्य हात पारेको थियो । अन्तर्राष्ट्रिय टी–२० फम्र्याटमा मल्ल नेपालबाट दोस्रो धेरै रन बटुल्ने ब्याट्सम्यानमा पर्छन् । उनले ३२ अन्तर्राष्ट्रिय टी–२० मा ६ सय ७३ रन जोडेका छन् । यसमा उनले समान एक शतक तथा अर्धशतक प्रहार गरेका छन् । जसमा एक शतक र एक अर्धशतक सामेल छन् । उनले एकदिवसीय खेलमा १६ इनिङ्सबाट चार सय १८ रन बनाएका छन् । यसक्रममा उनले चारपटक अर्धशतकीय इनिङ्स खेलेका छन् । मल्लले सन् २००५ मा यू–१५ बाट आफ्नो क्रिकेट यात्रा सुरु गरेका थिए । 

मल्लले काठमाडौंको पुरानो यंगाल क्लबबाट घरेलु क्रिकेटमा पाइला राखेका थिए । सन् २००६ मा आइसिसी यू–१९ विश्वकपमा उनले ६ इनिङ्समा एक सय १५ रन जोडेका थिए । सोही प्रतियोतिगाअन्तर्गत प्ले च्याम्पियनसिपको सेमिफाइनलमा टेस्ट मान्यताप्राप्त दक्षिण अफ्रिकामाथि नेपालले दुई रनको सनसनीपूर्ण जित निकाल्दा मल्लले ४५ रन जोडेका थिए । उनी २००८ मा यू–१९ विश्वकप टोलीमा सहभागी जनाएको नेपाली टोलीका उपकप्तान थिए । 

आर्टिकल ३.३.१ अनुसार कारबाही
सम्झौतापत्रमा उल्लेख नियमअनुसारै खेलाडीमाथि कारबाही गरेको दाबी क्यानका पदाधिकारीले गर्दै आइरहेका छन् । कारबाहीमा परेका खेलाडीले सम्झौतापत्रमा केही पनि नभएको दाबी गर्छन् । क्यानले खेलाडीहरूसँगको सम्झौतापत्रअनुसार आर्टिकल ३.३.१ अनुसार कारबाही गरेको जनाएको छ । यस आर्टिकलमा खेलाडीहरू बोर्डको अनुमतिविना, आइसिसी, एसिया र मिडिया नजाने उल्लेख छ । ‘खेलाडीहरूले सम्झौता गर्दा यो आर्टिकल हेरेको छैन जस्तो छ, यसमा स्पष्ट रूपमा लेखिएको छ, क्यानको अनुमितिविना, आइसिसी, एसिया र मिडियामा जाँदैनौँ,’ क्यानका एक पदाधिकारीले भने, ‘हामीले यही नियमअनुसार खेलाडीमाथि कारबाही गरेका हौँ, खेलाडी संघविरुद्ध नै मिडियामा गए, समितिले बुझाएको प्रतिवेदनका आधारमा बोर्डले कारबाही गरेको हो ।’ 

विवाद विषयमा देउवा र प्रचण्डबीच छलफल

खेलाडीमाथिको कारबाहीले नराम्रो सन्देश जान्छ : प्रचण्ड

खेलाडीमाथिको विवाद खेल क्षेत्रले मात्र चासो राखेको छैन, यो विषय अहिले मुलुककै जल्दोबल्दो भइरहेको छ । खेल क्षेत्रसाथै विभिन्न दलका नेताहरूले त्यत्तिकै चासोका साथ लिइरहेका छन् । खेल क्षेत्रलाई नजिकबाट चासो राख्ने व्यक्तिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पर्छन् । खेलाडीमाथिको कारबाही सम्बन्धमा अध्यक्ष प्रचण्डले शुक्रबार बिहान १० बजे प्रधानमन्त्री कार्यालय बालुवाटारमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग आफ्नो विचार राखेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई क्रिकेट खेलाडीमाथि गरिएको कारबाहीबारे पुनर्विचार गर्न आग्रह गरेका छन् । ‘अन्तर्राष्ट्रिय क्षेत्रमा देशका लागि खेल्ने र राष्ट्रको नाम उच्च बनाउने खेलाडीमाथिको कारबाहीले नराम्रो सन्देश दिन्छ,’ अध्यक्ष दाहालले प्रधानमन्त्री देउवासँगको छलफलको क्रममा भनेको भनाइ उद्धृत गर्दै दाहालको स्वकीय सचिव रमेश मल्लले नयाँ पत्रिकालाई जानकारी दिएका छन्, ‘देशका लागि खेल्ने खेलाडीमाथि कारबाही किन गरिएको हो ? ।’ 

केही दिनदेखि अध्यक्ष प्रचण्डले क्यान र खेलाडीबीचको विवाद जानकारी लिइरहेको उनका स्वकिय सचिव मल्लले बताए । ‘अध्यक्षज्यू हिजो र अस्तिदेखि नै मिडियामा क्रिकेट खेलाडीमाथि कारबाही भएको सम्बन्धमा जानकारी राख्नु भइरहेको थियो,’ मल्लले भने । 

खेलाडीहरूले के गल्ती गरेको र गल्ती कुन लेभलको हो यसबारेमा पनि अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसँग जिज्ञासा राखेको मल्लले बताएका छन् । ‘वास्तवमै खेलाडीहरूको गल्ती के थियो ? उनीहरूको गल्ति लेभल कस्तो थियो, उनीहरूलाई कारबाही गर्नुपर्ने वा गर्न नहुने अवस्था थियो वा थिएन,’ प्रचण्डको भनाइ उद्धृत गर्दै मल्लले भने, ‘यस्तो किसिमको कारबाहीले अन्तर्राष्ट्रिय रूपमै नराम्रो सन्देश जान्छ ।’ 

खेलाडीमाथि ठूलै कारबाही गर्नुपर्ने अवस्था कसरी आएको भन्ने जिज्ञासा प्रचण्डले प्रधानमन्त्री देउवासमक्ष राखेको मल्लले बताएका छन् । ‘एकैपटक खेलाडीमाथि नै कारबाही किन गर्नुपरेको हो, यो अवस्था कसरी आएको हो, यसबारे छलफल गर्नु आवश्यक छ,’ दाहालले देउवालाई भने । 

तत्कालै प्रधानमन्त्रीद्वारा क्यान अध्यक्षलाई फोन
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसमक्ष आफ्नो जिज्ञासा राखेपछि तत्कालै देउवाले क्यानका अध्यक्ष चतुरबहादुर चन्दसँग कुराकानी गरेको मल्लले जनाएका छन् । ‘अध्यक्षज्यूको आफ्नो जिज्ञासा राखेपछि प्रधानमन्त्रीज्यूले तत्कालै फोनमा क्यान अध्यक्ष चन्दसँग जानकारी लिनुभयो,’ मल्लले भने, ‘विवादबारे छिटै जानकारी दिन निर्देशन भयो ।’ ‘प्रधानमन्त्री र क्यान अध्यक्षबीचको कुराकानीबारे थप जानकारी भएन,’ मल्लले भने । 

ad
ad
ad
ad