धनगढीमा रहेको वायुयान संग्रहालय (एयरक्राफ्ट म्युजियम) नेपालगन्ज सारिएको छ। म्युजियम राखिएको जग्गाको सम्झौता अवधि सकिएको र नयाँ ठाउँमा राख्नका लागि यहाँ जग्गा नपाएपछि अन्यत्र लगिएको म्युजियम सञ्चालन गर्दै आएको क्याप्टेन वेद उप्रेती ट्रस्टले जनाएको छ।
धनगढीमै अन्यत्र राख्न खोजे पनि जग्गा नपाएपछि नेपालगन्ज लग्नुपरेको क्याप्टेन उप्रेतीले बताए। ‘जग्गाको सम्झौता अवधि केही महिनाअघि नै सकिएको थियो। धनगढीमै अन्यत्र राख्नका लागि जग्गा खोज्ने धेरै प्रयास गर्याैँ,’ उप्रेतीले भने, ‘नपाएपछि नेपालगन्ज लगेका हौँ।’ जग्गाका लागि यहाँको स्थानीय तहलाई पटकपटक आग्रह गरे पनि नपाइएको उनले बताए। धनगढी पार्कभित्र म्युजियम राख्न छलफल भए पनि सहमति नभएको उनले बताए।
क्याप्टेन उप्रेतीले नौ वर्षअघि करिब डेढ करोड रुपैयाँ लगानीमा धनगढीमा एयरक्राफ्ट म्युजियम स्थापना गरेका थिए। ग्राउन्डेड अवस्थामा रहेको कस्मिक एयरको फोकर– १०० विमानलाई म्युजियम बनाइएको थियो। उप्रेतीले उक्त विमान नेपाल नागरिक उड्डयन प्राधिकरणबाट करिब ७० लाख रुपैयाँमा खरिद गरेर यहाँ ल्याएका थिए।
एयरक्राफ्ट म्युजियमभित्र विमान आविष्कारक राइट दाजुभाइले तत्कालीन समयमा निर्माण गरेका विमान तथा आधुनिक समयमा निर्मित पाइलटरहित अत्याधुनिक विमानका ड्रोन मोडेलहरू अवलोकनका लागि राखिएका थिए। एयरक्राफ्ट म्युजियम आन्तरिक र बाह्य पर्यटकका लागि पनि प्रमुख पर्यटकीय गन्तव्य बनेको थियो। झन्डै ६ महिना लगाएर तयार गरिएको म्युजियम सरेपछि यहाँको पर्यटन विकासमा असर पर्ने पर्यटन व्यवसायीहरू बताउँछन्। उप्रेतीका अनुसार म्युजियम नेपालगन्जको बिपी चोकनजिकै राखिनेछ। नेपालगन्ज नगरपालिकाले म्युजियम राख्नका लागि जग्गा निःशुल्क रूपमा उपलब्ध गराएको उनले बताए।