पुँजीवादी राज्य प्रणालीमा राजनीतिज्ञ र नियमनकर्ता निकाय सजग हुन सके पुँजी बजारमा हुने लगानी सुरक्षित हुन सक्छ
मंसिर पहिलो साता राष्ट्र बैंकले वर्तमान आर्थिक वर्षको पहिलो चौमासिक प्रतिवेदन प्रस्तुत गरेदेखि नेपालमा एक किसिमको त्रासयुक्त हल्ला फैलन सुरु भयो । प्रतिवेदनले सो अवधिमा एक खर्ब ५४ अर्बले विदेशी सञ्चिति घटेको, पोहोर सालको तुलनामा ७.५ प्रतिशतले रेमिट्यान्स घटेको, ५.३२ प्रतिशतले मुद्रास्फीति बढेको र निर्यातको तुलनामा आयात खर्बौंले वृद्धि भएको जनाएको थियो । अर्थतन्त्रका निराशलाग्दा यी तस्बिर देखिएको तीन सातापछि २६ मंसिरमा नेप्से परिसूचक ७९.२३ अंकले र २७ गते ८८ अंकले घट्न पुग्यो ।
त्यसपछि भने प्रेसजगत् उल्टिएर अब अर्थतन्त्र क्र्यास हुनै लाग्यो भनेर दौडिए । माओवादी नेता प्रचण्डले कुनै एक भाषणमा ‘स्टक–मार्केट’ साम्राज्यवादको परिपोषक हो भन्दिएकाले सेयर बजार घट्यो भन्ने अर्थ लगाइयो । केही लगानीकर्ताले उनी र उनको पार्टीलाई ‘नो–भोट’ क्याम्पिएन नै चलाउने समाचार बाहिरियो । योजना आयोगका उपाध्यक्षदेखि अमुक पार्टीका नेताहरूले विज्ञप्ति निकालेका कुरा तथा प्रमुख प्रतिपक्षी दलले खिसिट्युरी गरेका कुरा पनि आए । आक्षेप, अन्योल, विलौना र आक्रोश यी चारवटै कुरा आगामी दिनमा निकै लामो समयसम्म चल्ने यो पंक्तिकारको ठम्याइ छ । किनकि, अहिलेको आर्थिक संकट जुन–जुन कारणले भइरहेको छ, ती कारण नेपाली अर्थतन्त्रको अर्थ–सामाजिक संरचनासँग गाँसिएका छन् । अहिलेको आर्थिक संकटको जग नेपालको विद्यमान आर्थिक–सामाजिक संरचनाभित्र छ । सदियौँदेखि नेपालको आर्थिक सामाजिक संरचनामा जुन प्रकारले असामाजिक, अन्यायपूर्ण र असमान ढंगले गरिएको वितरणले स्थिरता प्राप्त गर्यो, त्यसको जगमा विकास होइन, विनाश नै फल्थ्यो ।
विगत दुई दशकदेखि बजेटमा विनियोजन गरिएको पुँजीगत खर्च यथार्थमा खर्च हुन सकिरहेको थिएन । राष्ट्रिय गौरव भनिएका हुन् या नभनिएका परियोजनाहरू कुनै पनि योजना समयमै र लागत इस्टमेटअनुरूपको खर्चमा कहिल्यै पूरा भएका छैनन् । वास्तवमा विनासूचना, विनाखोज तथा अनुसन्धानमा अधारित परियोजना, विनासंस्थागत क्षमता अभिवृद्धि र विनादक्ष जनशक्ति खर्च हुने सम्भावना नै थिएन र भोलि पनि हुँदैन । संघीय सरकार बनिसकेपछिको पहिलो बजेट प्रस्तुति तथा पन्ध्रौँ पञ्चवर्षीय योजनाको खाका हेरेपछि यो पंक्तिकारले धेरै अक्षर यस सम्बन्धमा लेखिसकेको छ । नेपालको सन्दर्भमा संरचनागत सुधार र आर्थिक सामाजिक रूपान्तरणको प्रस्ट खाका कोरेर जण्ड सुधारका लागि दृढतापूर्वक अगाडि नबढुन्जेल को प्रधानमन्त्री र को अर्थमन्त्री हुन्छ भन्नुको कुनै तुक रहन्न । समष्टिगत अर्थतन्त्र र संरचनागत परिवर्तनका एजेन्डाबारे केही दिनपछि चर्चा गरौँला । आज भने यो आलेख पुँजी बजार अर्थात् सट्टाबजार अर्थात् दलाल मार्केट वास्तवमा के हो भन्ने विषयमा केन्द्रित छ ।
के हो पुँजी बजार ?
धेरैलाई थाहा भएकै कुरा हो, पुँजी बजारमा दुइटा बजार हुन्छन् । पहिलो, प्रारम्भिक बजार र दोस्रो, सेकेन्डरी बजार । वास्तवमा पहिलो बजार सबैभन्दा धेरै महत्वको हुने गर्छ । नयाँ फर्म, कम्पनी वा व्यवसाय गर्ने अग्र्यानिक मानिसले नै जारी गरेको सेक्युरिटी र नयाँ फोरेक्समा अन्य लगानीकर्ताले लगानी गर्छन् । यद्यपि मूल उद्देश्य भनेको राज्य, संस्था तथा उद्यमका लागि पुँजी विकासका लागि प्रारम्भिक बजार स्थापना गर्नु हो । यो बजारले कम्पनी र कर्पोरेसनहरूमा नयाँ प्रोजेक्ट लगानी लगाउन खासगरी आइपिओ (इनिसियल पब्लिक अफरिङ) को बन्दोबस्त गर्छ । बचत गरेका मानिसका लागि पहिलो चरणको लगानी गर्ने सुविधा हुन्छ ।
सेकेन्डरी मार्केट (जसलाई स्टक एक्सचेन्ज वा स्टक मार्केट पनि भनिन्छ) मा सेक्युरिटिजहरू (डिबेन्चर, बन्ड, विल्स, सेयर्स आदि) लगानीकर्ताले खरिद र बिक्री गर्छन् । पहिलो र दोस्रो बजारमा फरक के हो भने पहिलोमा उद्यमी आफैँले (व्यक्ति, पार्टनरसिप, ज्वाइन्ट स्टक कम्पनी वा बहुराष्ट्रिय कम्पनी) सेक्युरिरिटिजहरू जारी गर्छन् भने दोस्रोमा जारी गरिएका सेक्युरिटिजहरूमा दलाल अर्थात् मध्यस्थकर्ताहरूले व्यापार गर्छन् । भन्नचाहिँ के भनिन्छ भने यस्ता सेक्युरिटिजहरूको व्यापार कडा नियमन र कडा नियम कानुनअन्तर्गत नै हुने गर्छ । सेकेन्डरी मार्केटहरू पनि धेरै खाले हुन्छन् । उनीहरू लगानीकर्ता वा व्यक्ति जे भए पनि एकअर्काबीच सेक्युरिटिज खरिद–बिक्री गर्छन् । यो पुँजीको सञ्चितिका लागि गरिने कारोबारको केन्द्र हो ।
ठेट शब्दमा भन्ने हो भने पुँजीवादी देशमा पुँजी बजारले पाँचवटा विषयमा सहयोग पुर्याउँछ भन्ने मान्यता राख्ने गरिन्छ । (१) पुँजीको आपूर्तिकर्ता तथा प्रयोगकर्ताबीच पुलको काम गर्छ । (२) बचत र लगानी गर्न प्रोत्साहन गर्छ । (३) वित्तीय कठिनाइ भोगिरहेका, चाहे मुलुक होस, चाहे कर्पोरेट हुन् या फर्म, तिनलाई आवश्यक स्रोतको जोरजाम गरिदिन्छ । (४) पूर्वाधार विकास तथा अन्य उपयोगका लागि लगानी गर्ने वातावरण मिलाउँछ । (५) निजी तथा पब्लिक प्राइभेट पार्टनरसिपका लागि लगानी जोगाड गरिदिन्छ ।
पुँजी–बजारको ऐतिहासिकता
पुँजी बजार आर्थिक बजार हो र त्यहाँ बेच्ने र खरिदकर्ता भेला हुन्छन् । यसले राज्यले उठाउने फन्डका लागि वित्तीय संस्थाहरूलाई फिक्स्ड, नियमित रकम (अर्थात् ओर्किङ लिक्विडिटीका लागि जहाँ मध्यकालीन तथा दीर्घकालीन समयका लागि आवश्यक रकम उपलब्ध गराउने काम हुने गर्छ । यसका व्यापारीहरूले उपलब्ध गराइने ऋणको किसिममा बढी ध्यान दिन्छन् । धेरैले पुँजी बजारले फोरेक्सको (फरेन एक्सचेन्ज मार्केट) व्यापार गर्छन् । पुँजी बजारमा केहीले स्टक, बन्ड, सेक्युरिटिज तथा अन्य आर्थिक सम्पत्तिको कारोबार गर्छन् । उदार पुँजीवादी अर्थशास्त्रीले पुँजी बजार र लगानी (इन्भेस्टमेन्ट) फरक छुट्याउन कोसिस पनि गर्छन् । केहीले पुँजी बजारले साना व्यवसायीलाई स्कोप भएका ठूला कम्पनीमा बढुवा हुन मद्दत गर्छ भनिरहेका भेटिन्छन् । पुँजी बजारले व्यक्तिलाई लगानी गर्न प्रोत्साहित गर्ने हिसाबले सम्पत्ति लगानी गरेर आफ्नो र परिवारको भविष्य सुनिश्चित हुने कुरा हो भन्छन् ।
त्यसकारण पुँजी बजारले फोरेक्स ट्रेडिङ, ब्रोकर्स लोन, कन्सल्टेन्सी सर्भिस, नगद ऋण र सहयोग पनि गर्छ भन्ने मान्यता राखिन्छ । यद्यपि अर्थशास्त्रका मूल स्कुलका (शास्त्रीय, माक्र्सवादी तथा नवशास्त्रीय अर्थशास्त्रीहरू) विद्यार्थीको मान्यतामा यसको मूलभूत उद्देश्य पुँजीवादी प्रणालीमा पुँजीको सञ्चिति (क्यापिटल एकुमुलेसन) बढाउनु नै हो । साधारणतया पुँजीको सञ्चितिले सम्पत्ति, आय र जीवनस्तर उकासेर मुलुकलाई विकसित मुलुकको सूचीमा उन्न मद्दत गर्छ भन्ने मान्यता पनि राखिन्छ ।
पुँजी बजार उत्पादन वृद्धि र मानवीय समृद्धिका लागि मात्र नभई अमानवीय तरिकाले धन आर्जन गर्नका लागि प्रयोग हुने गरेको छ । पुँजीवादी अर्थतन्त्रको विकासमा पुँजी बजार अपरिहार्यजस्तै ठानिन्छ, तर यो नियमनभन्दा बाहिर हुनु हुन्न ।
यसबारे थोरै इतिहासको जानकारी हुन पनि जरुरी छ । पहिलो औद्योगिक क्रान्तिताका (अठारौँ शताब्दीको मध्य) बजारमा मुख्य खेलाडी वा प्रतिस्पर्धी साना उद्यमहरू नै थिए । प्रविधिको विकाससँगै कपडा उद्योगहरू फस्टाए । उत्पादन र पुनरुत्पादनको कामले रफ्तार पनि लियो । पुँजीको सञ्चितिसँगै आर्थिक वृद्धि पनि हुन पुग्यो । त्यस वेलाको पुँजी बजार स्वाभाविक रूपमा स्थानीय, सीमित दायराको तथा कमै सहभागी हुन्थे । पछि जब यातायातका साधन तथा सूचनाका (जस्तो नहर, स्टिमबोटस, रेल रोड, टेलिग्राफ) साधनहरूको विकास भयो, बजारको साइज पनि बढ्यो र प्रतिस्पर्धा पनि । उन्नाइसौँ शताब्दीको मध्यपछि आर्थिक सञ्चिति तथा विकास वृद्धिदर अत्यधिक बढ्यो ।
एक हिसाबले पुँजीवादले चकाचौँध ल्यायो । तर, अर्कातर्फ पुँजीमा गरिएको नाफा सामान्यभन्दा भिन्न थियो । जो–जसले उद्योग खोलिरहेका थिए, उनीहरूबीच चर्को प्रतिस्पर्धा थियो, एकले अर्कोलाई बढी र गुणयुक्त वस्तु तथा सेवा उत्पादन गरेर उछिन्न चाहन्थे र धेरैभन्दा धेरै नाफा कमाउन चाहन्थे । त्यसो हुँदा साना र कमजोरहरू जीवन संघर्षको स्थितिमा पुग्नु अस्वाभाविक थिएन । जब सानाहरू अस्ताउने अवस्थामा पुगे, त्यसपछिको कथा बेग्लै भयो । जस्तो संयुक्त राज्य अमेरिकामा सन् १८६५ मा होलसेल प्राइस इन्डेक्स १८५ थियो । तर १८९० मा त्यो ५७ प्रतिशतमा झरेर ८२ मा आइपुग्यो । १९१०–१४ मा त्यो इन्डेक्स १०० मा थिग्रियो । यसले गर्दा पुँजी र श्रम दुवै खुम्चिन पुगे । यसले औद्योगिक क्षेत्रमा उग्र रूपले अन्तरविरोध बढ्न पुग्यो । विध्वंस मच्चियो । यो कुरा एउटा देशभित्रका उद्यमका कुरा मात्र थिएनन् । पछि मुलुक–मुलुकबीचमै अन्तरविरोध देखा पर्यो र पहिलो विश्वयुद्ध हुन पुग्यो ।
सट्टा बजारको विचलन
विश्वप्रसिद्ध बेलायती अर्थशास्त्री जोन मिन्यार्ड किन्सले सन् १९३६ मा भनेका थिए, ‘अनुमान (स्पेकुलेसन) उद्यममा घरी–घरी उठ्ने पानीफोका जस्तो नोक्सानदायी हुँदैन । तर, स्वयं उद्यम नै पानीफोकाजस्तो भयो भनेचाहिँ ठूलो भड्खालो पर्ने सम्भावना हुन सक्छ । जब देशको पुँजीको विकास जुवाडे क्रियाकलापको सह–उत्पादक (बाइ–प्रोडक्ट) हुन्छ, त्यसपछिका सारा काम खराबजस्ता हुन पुग्छन् ।’ किन्सको यो विश्लेषण सन् १९२० को दशकको उत्तराद्र्धमा संयुक्त राज्य अमेरिकाको आर्थिक गतिविधिलाई लिएर आएको थियो । जब कि अमेरिका त्यो समयमा विकसित पुँजीवादी मुलुकको अग्रपंक्तिमा उभिइसकेको थियो ।
त्यो वेला पनि भएको थियो के भने वित्तीय पुँजीले आफ्नो मुख्य काम अर्थात् आममानवका लागि आवश्यक पर्ने वास्तविक उत्पादनमा सघाउ गर्न छोडेको थियो । उत्पादनमुखी अर्थतन्त्रबाट वित्तीय पुँजी विमुख भएपछि त्यो पुँजी बढी नाफा कमाएर आफ्नो आकार बढाउन अनुमानका आाधारमा लगानी हुने पुँजी (स्पेकुलेटिभ क्यापिटल) मा रूपान्तरित भयो । १९२० देखि १९२५ सम्म पनि यस्तो अनुमानमा आधारित पुँजी लगानीले राष्ट्रिय अर्थतन्त्रलाई नै प्रभाव पार्ला भन्ने त्यसवेलाका मूर्धन्य अर्थशास्त्रीले पनि सोचेका थिएनन् । तर, वित्तीय पुँजीले आफूले टेकेको धरातल छोड्यो र बतासियो ।
सन् २०२९ मा अमेरिकाको भीमकाय पुँजीबजार वालस्ट्रिट त्यही कारणले धराशयी बन्न पुग्यो । सन् १९३३ पछि ‘बृहत् मन्दी’बाट पाठ सिकेर वित्तीय पुँजी बजारलाई अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कानुनी दायराभित्र राखेर नियमनभित्र राखियो । तर, १९७० को दशकपछि ती सीमा र दायरा भत्काइए । नवउदारवादी बजार अर्थतन्त्रका नाममा गरिएका अनियमनकारी क्रियाकलाप चल्ते धेरै मुलुकका धेरै अर्थतन्त्र बिग्रिँदै भत्किँदै गए । सन् १९९० पछि विभिन्न विकसित तथा अल्पविकसित मुलुकका वित्तीय पुँजी बजार भत्किँदै गए । जस्तो, सन् १९९४ मा मेक्सिको, १९९७ मा दक्षिणपूर्वी एसियाली मुलुक, १९९८ मा रसिया, सन् २००२ मा अर्जेन्टिना, सन् २००८ मा संयुक्त राज्य अमेरिका, सन् २०१० मा युरोपेली युनियन र सन् २०१३/१४ मा भारतको वित्तीय पुँजी बजार प्रभावित बने ।
वास्तवमा नियमित नै जस्तो गरेर यस्तो किन हुन्छ भन्नेबारे विस्तृत व्याख्या यो छोटो लेखमा सम्भव हुन्न । यद्यपि, यति भन्नैपर्छ अहिले जुन किसिमको विश्व आर्थिक व्यवस्थाभित्र हामी छौँ, जसलाई हामी ‘नवउदारवादी बजार अर्थतन्त्र’ भनेर चिन्छौँ, त्यो वास्तवमा उदारवादी पुँजीवादी अर्थशास्त्रीले पस्किएको परिभाषामा जस्तो यो ‘पूर्ण प्रतिस्पर्र्धी बजार’ होइन । विश्व प्रसिद्ध बुद्धिजीवी अमेरिकी नागरिक एमआइटीका प्रोफेसर नोम चोस्की भन्छन्, ‘बितेका ४५ वर्षदेखि वास्तवमा हामी ‘बेलआउट इकोनोमी’ अन्तर्गत छौँ ।
एकपछि अर्को वित्तीय संकट धानिरहका छौँ र पुँजीपतिहरूलाई सामान्य जनताबाट उठाइएको करबाट तिनलाई बचाउने (बेलआउट) गर्ने काम भइरहेको छ । सन् ७० को दशकदेखि जिम्मी कार्टरबाट सुरु भएको नवउदारवाद रोनाल्ड रेगन र मार्गरेट थ्याचरले विस्तार गरे । त्यसपछि एकतर्फी वर्गयुद्ध सुरु भयो । ‘गरिबका लागि बजार र धनीका लागि सुरक्षा (एओसी इन कन्भर्सेसन विथ नोम चोम्स्की, ज्याकोविन, १२.१५.२०२१) ।’
सेकेन्डरी मार्केटको समस्या
पुँजीको सेकेन्डरी मार्केटले के गर्छ भन्नेबारे माथि उल्लेख गरियो । तर, वास्तवमा यो हो के भन्नेबारे सबैले थाहा पाउँदैनन् । आइपिओमा लगानी गर्नेमध्ये पनि अधिकांशले यसबारे नबुझेका हुन सक्छन् । दोस्रो बजारमा ब्रोकरहरू (दलालहरू) सेक्युरिटिजमाथि बाजी थापिरहेका हुन्छन् । बाजी राख्नु भनेको खासमा ग्याम्बिलङ (जुवा) नै हो । किनभने, यसले भविष्यमा यति धेरै कमाउँछ भनेर स्पेकुलेसन गरेर लगानी गर्ने हो ।
त्यस पेसामा लागेका दलालले ‘क्यासिनो वा जुवा’ शब्द मन पराउने कुरै भएन । तर, यो साँच्चै साधारण भाषामा बुझ्ने हो भने जुवा हो । जुवा भन्न नरुचाउने तर लगानी गर्ने हो भने त्यो जुवा होइन भन्नु एक प्रकारको बहानाबाजी मात्र हो । स्टक मार्केटमा सधैँ हार्ने र जित्ने भइरहन्छ । एउटाले जित्दा अर्कोले हारिरहेको हुन्छ । अमेरिकामा भएको पछिल्लो वित्तीय संकट सम्पत्तिमाथि अत्यधिक बेटिङकै कारण भएको थियो । यस्तो ग्याम्बलिङमा कसले जित्छ र हार्छ भन्ने होसियारी, सजगता वा सूचना प्राप्तिमा भर पर्छ ।
पुँजीवादी राज्य प्रणालीमा राजनीतिज्ञ र नियमनकर्ता निकाय सधैँ सजग हुन जरुरी छ । किनभने मानिस आफूसँग भएको बचत लगानी गरेर भविष्य सुरक्षित पार्न चाहन्छ । तर, केही मानिस, जो जुवा खेल्न चाहन्छन्, तिनीहरू नकारात्मक सोच अर्थात् धर्मराएर होमिन्छन् र हार्छन् । पोजिटिभ भएर होमिँदा जति नाफा वा आय आर्जन हुन्छ, त्यो वेला ऊ आनन्द मान्छ । तर फरक के हुन्छ भने हार्दा अरूलाई सत्तोसराप गर्छ ।
माथि उल्लेख गरिएझैँ पुँजी बजार उत्पादन वृद्धि, मानवीय समृद्धिका लागि मात्र रहेन । त्यो अमानवीय तरिकाले धन आर्जन गर्नका लागि प्रयोग हुन थाल्यो । पुँजीवादी अर्थतन्त्रको विकासमा पुँजी बजार अपरिहार्यजस्तै ठानिन्छ, तर यो नियमन (रेगुलेसन) भन्दा बाहिर हुनु हुन्न ।
सबैलाई अनावश्यक जुवामा होमिन दिनु हुँदैन । किनकि, सट्टा बजारमा जुवा खेल्नेहरूले विगतमा एनरनजस्ता बहुराष्ट्रिय कम्पनीमा पनि लगानी गरेका थिए भने नेपालमै पनि नयाँ नटवरलालहरूले बैंक तथा सहकारी र फेक कम्पनीमार्फत ठगी चलाइरहेकै छन् । असंख्य मानिसलाई रुवाइरहेकै छन् । त्यसैले लगानी कसरी सुरक्षित हुन्छ ? कुन निकायले नियमन गर्छ ? र, वास्तवमा त्यो आफ्नो लगानी कति मानवीय कामका लागि हो भनेर सोच्न पनि जरुरी छ ।