१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार o५:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

नक्कली लालपुर्जामा १९ करोड कर्जा  : बैंकिङ कसुर मुद्दा नचलाउने विशेष सरकारी वकिल कार्यालयको निर्णय 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o५:५५:oo

नक्कली लालपुर्जाका आधारमा कुमारी बैंकबाट १९ करोड रुपैयाँ कर्जा प्रवाह भएको घटनामा बैंकिङ कसुर मुद्दा नचलाउने निर्णय विशेष सरकारी वकिल कार्यालयले गरेको छ । यसअघि सरकारी वकिल कार्यालयले नै यसमा बैंकिङ कसुर मुद्दा आकर्षित हुने भन्दै त्यसअनुसार अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो । 

बैंकले कर्जा उठाउने सुनिश्चितता गरेको अवस्था देखिएको भन्दै बुधबार सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको हो । मुद्दा चल्ने प्रशस्त प्रमाण भए पनि दबाबका आधारमा यस्तो निर्णय भएको स्रोत बताउँछ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकका कर्मचारीसहित १३ जनाविरुद्ध बैंकिङ कसुर मुद्दा चलाउन रायसहितको सिफारिस गरेको थियो । तर, विशेष सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरी पक्राउ परेकालाई हाजिरी जमानीमा छाड्न प्रहरीलाई निर्देशन दिएको छ । 

यही प्रकरणमा यसअघि केही अभियुक्तविरुद्ध लिखत किर्तेसम्बन्धी मुद्दा दायर भइसकेको छ । जसमा कुमारी बैंकको वीरगन्ज शाखाका कनिष्ठ सहायक सोनु ठाकुर, नक्कली लालपुर्जाका आधारमा कर्जा लिने एसकुमार महर्जन र मुक्तिलाल गौतमलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको थियो । त्यतिवेला पक्राउ परेका धितो मूल्यांकनकर्ता अजय चौरसियालाई एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको थियो । पक्राउ परेका अर्का अभियुक्त कुशन प्रधान अस्पतालमा भएकाले उनीविरुद्ध मुद्दा नै दायर हुन सकेको छैन । 

नक्कली लालपुर्जा बनाई १९ करोड कर्जा प्रवाह 
अपराधको प्रकृति बैंकिङ कसुरसँग समेत मिल्ने भएको भन्दै यससम्बन्धी अनुसन्धान गर्न जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले निर्देशन दिएपछि सोही आधारमा सिआइबीले थप छानबिन गरेको थियो । महान्यायाधिवक्ता कार्यालयमातहतकै विशेष सरकारी वकिल कार्यालयले भने मुद्दा नचलाउने निर्णय गरेको छ । 

गायक योगेश्वर अमात्यको बाराको विश्रामपुरमा रहेको १२ बिघा जग्गा डेनियल ट्रेडिङ नामक कम्पनीलाई बिक्री गरेको देखाएर नक्कली लालपुर्जा बनाई कुमारी बैंकबाट १९ करोड कर्जा प्रवाह भएको हो । सो कम्पनीले बैंकको न्युरोड शाखामा कर्जाका लागि निवेदन दिएको थियो । शाखाले धितो मूल्यांकन गरेर पठाउन वीरगन्ज शाखालाई पत्राचार गरेको थियो । वीरगन्ज शाखाका कर्मचारी सोनु ठाकुरले धितो मूल्यांकनको नक्कली कागजपत्रमा हस्ताक्षर गरेका थिए । कर्जा दिने अन्तिम निर्णय भने केन्द्रीय कार्यालयबाटै भएको थियो । जसमा बैंकका कर्मचारीद्वय अजित राई र गोपाल जोशीको प्रमुख कमजोरी देखिएपछि उनीहरूविरुद्ध मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको थियो । 

अमात्यले आफ्नो जग्गाको नक्कली लालपुर्जा राखेर कर्जा प्रवाह भएकोे सुनेपछि त्यसबारे अनुसन्धानका लागि निवेदन दिएका थिए । अनुसन्धानको क्रममा उनको जग्गा डेनियल ट्रेडिङ नामक कम्पनीको नाममा देखाएर कर्जा प्रवाह भएको भेटिएको थियो । मालपोत कार्यालयमा भने सो जग्गा अमात्यकै नाममा छ । नक्कली लालपुर्जा भएको खुलेपछि पछि बैंकले अर्काे धितो राखेर कर्जा उठाउने प्रयास गरेको हो । त्यही आधारमा हाल मुद्दा नचलाउने निर्णय भएको हो ।

तर, कम्पनीको नाममै नआएको जग्गामा कर्जा प्रवाह भएको, धितो बन्धकसम्बन्धी कागजपत्रमा मालपोतको सट्टा नगरपालिकाको छाप भएको, हदबन्दीभन्दा धेरै रहेको जग्गामा कर्जा प्रवाह भएको जस्ता विषयमा बैंकको चरम लापरवाही देखिएको थियो । यही प्रकरणपछि बैंकका कामु प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमल्सिना छानबिन नसकिएसम्मका लागि बिदामा बसेका थिए ।

ad
ad