१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २६ आइतबार
  • Monday, 01 July, 2024
२o७८ मङ्सिर २६ आइतबार o८:५७:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

खेलाडीको असन्तुष्टिबारे क्यानको बोर्डमा छलफल हुने

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर २६ आइतबार o८:५७:oo

क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले खेलाडीको स्पष्टीकरण हेरेर प्रतिवेदन तयार गरेको छ, जुन यसै साता क्यानको बोर्ड बैठकमा पेस गरिनेछ

क्रिकेटको नियमनकारी संस्था नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय क्रिकेट पुरुष टोलीका चार सिनियर खेलाडीबीचको विवाद निकै माथि पुगेको छ । क्यानको खेलाडी वर्गीकरण चित्तबुझ्दो नभएको जनाउँदै नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लसँगै उपकप्तान दीपेन्द्रसिंह ऐरी, अलराउन्डर सोमपाल कामी र तीव्र गतिका बलर कमलसिंह ऐरीले मिडियामा असन्तुष्टि पोखेका थिए । 

गत १७ कात्तिकमा कप्तान ज्ञानेन्द्रसहित चार खेलाडीले राष्ट्रिय क्रिकेटरको वर्गीकरण वैज्ञानिक नभएको भनी मिडियामा असन्तुष्टि पोखेका हुन् । मिडियामा दिएको यही अभिव्यक्तिले नै खेलाडी र क्यानबीच एउटा विवादको मोड लिएको छ । सम्झौताविपरीत मिडियाबाजी गरेको भनी क्यानले खेलाडीसँग दुईपटक स्पष्टीकरण लियो । क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले खेलाडीले बुझाएको स्पष्टीकरणको आधारमै प्रतिवेदन तयार पारेको छ । 

समितिले तयार पारेको प्रतिवेदन यसै साता क्यानको बोर्ड बैठकमा लाने तयारी भएको क्यानका कार्यवाहक सचिव तथा समितिका संयोजक मल्लले जानकारी दिएका छन् । ‘समितिले प्रतिवेदन बनाइसकेको छ, यसै साताभित्र क्यानको बोर्ड बैठकमा प्रतिवेदन बुझाइनेछ,’ मल्लले भने, ‘बोर्डले प्रतिवेदनअनुसार आफ्नो निर्णय गर्नेछ ।’ 

मल्लले नियमविरुद्ध गएका खेलाडी कारबाहीमा पर्न सक्ने स्पष्ट पारेका छन् । ‘नियम सबैलाई लागू हुन्छ, यसमा यो मान्छे वा त्यो मान्छे हेरिँदैन, क्यानको नियमअनुसारै दोषी देखिए कारबाहीमा पर्न सक्छन्,’ उनले भने । क्यानले खेलाडीसँग के कति कारण मिडियामा अभिव्यक्ति दिएको भनी पहिलोपटक स्पष्टीकरण लिएको थियो । पहिलोपटकको स्पष्टीकरण चित्तबुझ्दो नहुँदा क्यानले खेलाडीसँग दोस्रोपटक स्पष्टीकरण लिएको हो । 

खेलाडीद्वारा अल्टिमेटम
५ मंसिरमा स्पष्टीकरण जवाफपत्रसँगै खेलाडीहरूले उल्टै क्यानलाई अल्टिमेटम दिएको दाबी मल्लले गरेका छन् । ‘हामीले अनुशासनबाहिर गएका खेलाडीलाई स्पष्टीकरण मागेका थियौँ, संसारभरि संघ वा संस्थाले नियमबाहिर गएका जोकोहीलाई पनि स्पष्टीकरण लिने चलन छ, यही प्रक्रियाअनुरूप नै क्यानले खेलाडीसँग स्पष्टीकरण मागेको हो,’ मल्लले भने, ‘तर, उनीहरूले उल्टै हामीलाई अल्टिमेटम दिँदै पत्र बुझाए ।’ 

अल्टिमेटम पत्रमा १९ जना खेलाडीले हस्ताक्षर गरेको उनले बताए । ‘पहिलोभन्दा दोस्रो स्पष्टीकरण पत्र धम्कीपूर्ण थियो,’ मल्लले भने, ‘दोस्रोपटकको स्पष्टीकरणमा खेलाडीले क्यानको मानमर्यादा नै राखेनन्, खेलाडीमा अनुशासन नै छैन, अनुशासनविहीनताको पराकाष्ठा नै देखाएका छन् ।’ 

०७१ देखि मासिक तलब
क्यानले केन्द्रीय सम्झौतासहित खेलाडीहरूलाई मासिक तलब दिन थालेको ०७१ सालदेखि मात्र हो । यसअघि क्यानमा खेलाडी वर्गीकरणको व्यवस्था नै थिएन । अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा राम्रो छाप राखेका युवा खेलाडी रोहितकुमार पौडेल वर्गीकरणको लिस्टमै छैनन् । कमलसिंह ऐरी सी वर्गमा छन् । गत सेप्टेम्बरमा अमेरिकाविरुद्ध आइसिसी वल्र्ड डिभिजन २ लिगमा डेब्यु गरेका फास्ट बलर गुल्सन झा पनि वर्गीकरणमा छैनन् । 

आइसिसीको सहयोगमा क्यानले वर्गीकरणमा रहेका खेलाडीलाई मासिक पारिश्रमिक दिँदै आइरहेको छ । ए श्रेणीमा रहेका खेलाडीले मासिक ५० हजार रुपैयाँ पाउँछन् । यसैगरी, बी श्रेणीकाले मासिक ४० हजार र सी श्रेणीका खेलाडीले मासिक ३० हजार रुपैयाँ बुझ्छन् ।

सोमपाल बी ग्रेडमा परेपछि विवाद

गत जेठमा क्यानले खेलाडीहरूको वर्गीकरण गरेको थियो । नयाँ वर्गीकरणमा सोमपाल बी ग्रेडमा रहेका छन् । यद्यपि, वर्गीकरण सार्वजनिक हुँदा खेलाडीले आपत्ति नजनाएका होइनन् । त्यस समय यो विषय त्यतिकै साम्य भयो । क्यान र खेलाडीसँगको सम्झौता अप्रिल २०२१ देखि डिसेम्बर २०२१ सम्मको हो । सम्झौताको अवधि सकिन लाग्दा क्यानले हस्ताक्षर नगरेका खेलाडीलाई हस्ताक्षर गर्न भनिएको छ । 

यसपटक खेलाडीले पुरानै मुद्दा उठाए । क्यानको वर्गीकरणमा पूर्ण रूपमै भेदभाव भएको दाबी खेलाडीहरूले गरेका छन् । मुख्य विवादित पक्ष भनेकै फास्ट बलर सोमपाल कामी बी ग्रेडमा पर्नु नै हो । एकजना खेलाडीको कुरा लिएर सबै विवादमा होमिन नहुने तर्क कार्यवाहक सचिव मल्लले गरेका छन् । ‘सुरुमा सोमपाल बी ग्रेडमा पर्दा विवाद उत्पन्न भएको थियो, अहिले यसलाई अर्कै रूपमा लाने प्रयास देखिएको छ,’ उनले भने । 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को खेलाडी वर्गीकरणअनुसारै नेपालका खेलाडीहरूको वर्गीकरण भएको मल्लले बताए । ‘हामीले आइसिसीको नियम फलो गर्दै खेलाडी वर्गीकरण गरेका हौँ,’ उनले भने, ‘प्रत्येक खेलाडीको वर्गीकरण आइसिसीको मापदण्डअनुसारै भएको छ ।’ उनका अनुसार सोमपालले ए ग्रेड वर्गीकरण मिट गर्ने प्रदर्शन गरेका छैनन् । राष्ट्रिय टोलीबाट खेलाडीले एकदिवसीय र टी–२० फम्र्याटमा निश्चित कोटा पूरा गर्नुपर्छ । सोमपाल फिटनेस परीक्षणमा समेत असफल भएको मल्लको भनाइ छ । 

खेलाडीले वर्गीकरणमा स्थान पक्का गर्न आइसिसीको निश्चित मापदण्ड पूरा गर्नुपर्ने उनले जनाए । ‘सोमपालको हकमा ए ग्रेडमा रहने किसिमको मापदण्ड नै पुगेन, यस कारण उनी बीमा झरेका हुन्,’ स्पष्ट पार्दै मल्लले भने, ‘सोमपाल पछिल्लो समय एकदिवसीयभन्दा टी–२० खेलमै व्यस्त भए, किन ब्री ग्रेडमा पुग्यो भन्दा विवाद गर्नमै खेलाडी देखिए, फेरि सधैँभरि बीमै रहने होइन, प्रदर्शन सुधार गर्दा अर्कोपटक एमा पनि पर्न सक्छन् ।’

पुबुदु दोस्रोपटक मुख्य प्रशिक्षकमा नियुक्त

क्यानले राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका रूपमा पुबुदु दासानायकेलाई दोस्रोपटक नियुक्त गरेको छ । क्यानको प्रशिक्षक छनोट समितिले दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्ने निर्णयलाई शनिबार बिहान बसेको क्यानको बोर्ड बैठकले अनुमोदन गरेको कार्यवाहक सचिव मल्लले नयाँ पत्रिकालाई जानकारी दिएका छन् । ‘बोर्डले शनिबार बिहान दासानायकेलाई नेपाली पुरुष सिनियर टोलीको मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको हो,’ मल्लले भने । 

क्यानले पुबुदुसँग दुई वर्षको सम्झौता तयारी गरेको छ । आसन्न २०२३ को एकदिवसीय विश्वकप छनोटसँगै अन्य अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गरी पुबुदुसँग सम्झौता हुने मल्लले जानकारी दिएका छन् । ‘सम्भवतः दुई वर्षको सम्झौता हुनेछ,’ उनले भने । क्यानसँगको सम्झौतापत्रमा हस्ताक्षर गर्न पुबुदु २० डिसेम्बरसम्म नेपाल आइसक्नेछन् । क्यानको कन्डिसनअनुसारै पुबुदुले दोस्रोपटक नेपाली टोली हेर्ने मल्लको भनाइ छ । 

पुबुदुको मासिक तलब १० लाखभन्दा कम रहेको छ । पुबुदुलाई मासिक तलब आइसिसीले क्यानलाई प्रदान गर्ने वार्षिक बजेटअनुसारै प्रदान गर्ने उनले बताए । ५१ वर्षीय पुबुदु सन् २०११ मा पहिलोपटक नेपालका प्रशिक्षक बनेका थिए । त्यतिवेला उनले श्रीलंकन प्रशिक्षक रोय डायसलाई विस्थापित गरेका थिए ।

सन् २०१५ मा क्यानसँग विवाद भएपछि पुबुदुले राजीनामा दिए । आइसिसीको अनुरोधमा उनी २०१७ मा विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि नेपालको कन्सल्ट्यान्ट प्रशिक्षक बनेका थिए । पुबुदुको प्रशिक्षणमा नेपालले डिभिजन ४ देखि डिभिजन २ सम्मको यात्रा गरेको थियो । पुबुदुको प्रशिक्षणमा नेपालले सन् २०१४ को टी–२० विश्वकप खेलेको थियो । 

सन् २०१६ मा अमेरिकाका प्रशिक्षक बनेका पुबुदुले सन् २०१९ मा प्रशिक्षक पदबाट राजनीनामा दिएका थिए । पछिल्लो तीन वर्ष पुबुदु एभरेस्ट प्रिमियर लिग (इपिएल) टिम भैरहवा ग्लाडिएटर्सका प्रशिक्षकमा आबद्ध छन् । पुबुदुले सन् १९९३ देखि १९९४ सम्म श्रीलंकाको राष्ट्रिय टिमबाट खेलेका थिए । ११ टेस्ट र १६ एकदिवसिय खेल खेलेका विकेटकिपर ब्याट्सम्यान पुबुदुले सन् २००५ देखि २००६ सम्म क्यानडाबाट समेत खेलेका थिए ।

ad
ad
ad
ad