१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २३ बिहीबार
  • Saturday, 06 July, 2024
२o७८ मङ्सिर २३ बिहीबार ११:४८:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

भरतपुरका मुसहरलाई नयाँ घर हस्तान्तरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर २३ बिहीबार ११:४८:oo

खोलाको माछा मारेर जीवन निर्वाह गर्दै आएका ५७ वर्षका भुखला मुसहर र ५० वर्षीया उनकी पत्नी तुलिया मुसहर नयाँ पक्की घर पाउँदा खुसी देखिन्थे। दसैँअघिदेखि नै नयाँ घरमा बस्न थालेका उनीहरूलाई बुधबार सामूहिक आवास हस्तान्तरण कार्यक्रम आयोजना गर्दै भरतपुर महानगरपालिकाकी मेयर रेनु  दाहालमार्फत  नयाँ घर हस्तान्तरण गरिएको थियो।

दाहालले सो दम्पतीसँगै  शम्भु मुसहर, राजकुमार मुसहर, राजु मुसहर, गेडाहा मुसहर र दीपक मुसहरसहित ६ मुसहर परिवारलाई नयाँ घर हस्तान्तरण गरेकी हुन्। भरतपुर महानगरपालिका वडा नम्बर २७  र २८ मेघौलीका अति विपन्न मुसहर परिवारलाई भरतपुर महानगरपालिकाको आर्थिक वर्ष २०७७/२०७८ को २३ लाख ५७ हजार रुपैयाँ बजेटमार्फत भान्साकोठासहित तीन कोठा र शौचालय भएको घर निर्माण गरिएको सामूहिक आवास (मुसहर) बस्ती निर्माण उपभोक्ता समितिका संयोजक टीकाराम भुसालले जानकारी दिए।

नयाँ घर पाएकी तुलिया मुसहर जीवनको उत्तरार्द्धमा पक्की घरमा आरामदायी जीवन बिताउन पाएकोमा खुसी छन्। ‘पहिले खरले छाएको चुहिने घर थियो। आफ्नै जीवनकालमा पक्की घरमा बस्न पाइन्छ भनेर सोचेका पनि थिएनौँ,’ तुलियाले भनिन्, ‘महानगरपालिकाले दिएको घरमा बस्न पाएपछि नयाँ जीवन पाएको महसुस भएको छ’। तुलियाका पाँच छोरी र दुर्इ छोरा भए पनि उनीहरू छुट्टै बस्छन्।

‘हाम्रा लागि यो सौभाग्य भयो, यस्तो घर बनाएर बस्न सकौँला भन्ने कल्पना नै गरेको थिइनँ,’ सोही स्थानकी २५ वर्षीया सुनिता मुसहरले खुसी व्यक्त गर्दै भनिन्, ‘ साँझ–बिहान के खाने भन्ने चिन्ताले हामीलाई पिरोल्छ। हाम्रो औकातले यत्रो पक्की घर कहाँ बनाउन सक्थ्याैँ र ?’ तीन सन्तानकी आमा सुनिता पुरानो घर खर र कांसको कच्ची रहेको बताउँछिन्। ‘घर चुहिएर बिजोग हुन्थ्यो । नयाँ घर बनाउनु सपनाको कुराजस्तै थियो,’ विगत सम्झँदै उनले भनिन्, ‘पुरानो झुप्रो घरमा पानी पर्दा भाँडा थाप्नुपर्ने थियो।’

यस क्षेत्रमा १५ मुसहर परिवार छन्। घर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले निरन्तर रूपमा विपन्न र गरिब परिवारका लागि कार्यक्रम बनाउँदै आएको उल्लेख गरिन्। ‘हामीले महानगरपालिकाभित्र खरको छानोमुक्त अभियान सञ्चालन गरेका छौँ,’ दाहालले भनिन्, ‘भरतपुर महानगरपालिका अभिभावक बनेर यहाँको जनताको गाँस, बास र कपासको ग्यारेन्टी गर्न काम गरिरहेको छ।’ मेयर दाहालले मुसहर परिवारलाई घरसँगै सुत्ने ओछ्यान, डसना, खाना पकाउने भाँडाकुँडासमेत प्रदान गरिन्।

ad
ad
ad
ad