मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सौरभ यादव राजविराज
२०७८ मङ्सिर २२ बुधबार ०७:५३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

गहुँको बिउ वितरण गर्ने विषयले गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट

Read Time : > 1 मिनेट
सौरभ यादव राजविराज
२०७८ मङ्सिर २२ बुधबार ०७:५३:००

छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष उषाकुमारीले हानेको कुर्सीले अध्यक्ष मण्डलको दुईवटा दाँत भाँचियो

गहुँको बिउ वितरणको विषयमा विवाद बढ्दै जाँदा सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट भएको छ । गाउँ कार्यपालिकाको मंगलबारको बैठकमा उपाध्यक्ष मण्डलले कुर्सीले हान्दा अध्यक्ष मण्डलको दुईवटा दाँत भाँचिएको छ । 

छिन्नमस्ता गाउँपालिका–३ का वडाध्यक्ष दीपेन्द्रकुमार यादवले सामान्य विषयमा विवाद बढ्दै जाँदा यस्तो घटना भएको बताए । उनका अनुसार मंगलबार दिउँसो ३ बजे कार्यपालिकाको बैठकमा गहुँको बिउ वितरण गर्ने विषयमा छलफल भइरहेका वेला विवाद भएको हो । ‘म पनि कार्यपालिका बैठकमा सहभागी थिएँ, सामान्य छलफल भइरहेको थियो । सोही क्रममा एक्कासि अध्यक्ष र उपाध्यक्षबीच हात हालाहाल भयो । अध्यक्षको दुईवटा दाँत भाँचिएको छ भने उपाध्यक्षको हातमा चोट लागेको छ ।’

उपाध्यक्ष मण्डलले गहुँको बिउ वितरण गर्ने विषयमा छलफल भइरहेकै वेला अध्यक्ष सूर्यनारायण मण्डलले नजिक आएर अपशब्द प्रयोग गरेपछि कुर्सीले प्रहार गरेको स्वीकार गरिन् । ‘अध्यक्षज्यूले अपशब्द प्रयोग गर्न थालेपछि मैले प्रतिवाद गरेँ र सोही क्रममा मैले कुर्सी उठाएर हानेकी हुँ,’ उनले भनिन् । घटनाबारे बुझ्न खोज्दा अध्यक्ष मण्डलको फोन उठेन ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले कुटाकुटको घटनाबारे सुने पनि आधिकारिक रूपमा जानकारीमा नआएको बताए । ‘घटनापछि उहाँहरू आ–आफ्नो घर हिँडेको सुनियोे । उहाँहरूले घटनाबारे प्रहरीमा जानकारी गराउनुभएको छैन,’ उनले भने । 

अध्यक्ष र उपाध्यक्षबीच विगतमा बजेट वितरणलाई लिएर पनि सार्वजनिक रूपमै विवाद हुँदै आएको छ । स्थानीय विनोद यादवले अध्यक्ष र उपाध्यक्षबीच विगतमा भनाभन र विवादका घटना भइरहेको बताए । उनका अनुसार छिन्नमस्ता गाउँपालिकामा पछिल्लो दुई आर्थिक वर्षदेखि गाउँसभा हुन सकेको छैन । जसकारण विकास निर्माणका काम पनि पूर्ण रूपमा ठप्प छ । कर्मचारीले समेत महिनौँदेखि तलब पाएका थिएनन् । एक साताअघि मात्रै गत आर्थिक वर्षको गाउँसभा भएको यादवले बताए । 

गाउँपालिकामा अध्यक्ष मण्डलले तत्कालीन नयाँ शक्तिबाट चुनाव जितेका थिए भने उपाध्यक्ष मण्डलले तत्काली राष्ट्रिय जनता पार्टीबाट जितेकी थिइन् । तर, उनीहरू दुवै हाल दुई अलग पार्टीमा पुगेका छन् । अहिले अध्यक्ष मण्डल जसपामा छन् भने उपाध्यक्ष उषाकुमारी लोकतान्त्रिक समाजवादी पार्टीमा छिन् ।