मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ७ मंगलबार
  • Wednesday, 18 December, 2024
सौरभ यादव राजविराज
२o७८ मङ्सिर ७ मंगलबार १७:४३:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

राजविराज बसपार्क निर्माण सुस्त, ३४ वर्षमा ४५ प्रतिशत मात्रै काम

Read Time : > 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o७८ मङ्सिर ७ मंगलबार १७:४३:oo

३४ वर्षयता मेयरदेखि प्रधानमन्त्रीसम्मले शिलान्यास गरेका राजविराज बसपार्कको निर्माण कार्य अझै पूरा भएको छैन। पटकपटक स्थानीय जग्गाधनीको अवरोधका कारण ढिलाइ भएको निर्माण कार्य अहिले फेरि ठेकेदारको ढिलाइका कारण ओझेलमा परेको छ।

२०४४ सालमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले पहिलोपटक बसपार्कको शिलान्यास गरेका थिए। त्यसपछि ०४६ मा तत्कालीन अञ्चलाधीश सूर्यबहादुर सेन वली, ०५२ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र ०७४ मा सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा र राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले संयुक्त रूपमा बसपार्कको शिलान्यास गरेका थिए।

पछिल्लोपटक सहरी विकास मन्त्रालयबाट १६ करोड ३८ लाख ९६ हजार ५१९ रुपैयाँमा काम गर्ने ठेक्का पाएको काठमाडौंको कुलेश्वरस्थित सिनर्जी बिल्डर्स प्रालिले बसपार्क निर्माणका लागि २०७४ पुस १६ गते सम्झौता गरेको थियो। निर्माण कम्पनीले २०७७ साल पुस १८ गतेभित्र निर्माण गरिसक्नुपर्ने थियो। तर, हालसम्म ४५ प्रतिशत मात्र भौतिक प्रगति भएको सघन सहरी तथा भवन निर्माण आयोजना राजविराजको तथ्यांकले देखाउँछ।

कोभिडका कारण देशमा पटकपटक बन्दाबन्दीले निर्माण काम हुन नसकेको आयोजनाका सूचना अधिकारी मदन रायले बताए । उनका अनुसार आगामी चैत्र मसान्तसम्मका लागि ठेकेदार कम्पनीलाई थप म्याद प्रदान गरिएको छ। यता, राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले सघन सहरी तथा भवन निर्माण आयोजना तथा ठेकेदार कम्पनीको ढिलाइका कारण बसपार्क निर्माण कार्य अलपत्र परेको बताए।

मेयर र सचिव मात्र नभएर प्रधानमन्त्रीजस्ता व्यक्तिको हातबाट समेत दुईपटक शिलान्यास गरिएको बसपार्क सञ्चालन नभएकोमा स्थानीय असन्तुष्ट छन्। बसपार्क सञ्चालनको विषयमा नगरवासीसँग प्रतीक्षा गर्नुको विकल्प नभएको नागरिक सञ्जालका संस्थापक अध्यक्ष सुखराम यादवले बताए। ‘आमजनको पीडा सम्बोधनका निम्ति नभए पनि राज्यको लगानी तथा प्रधानमन्त्रीजस्तो पदको गरिमाका निम्ति भए पनि नेपाल सरकारको गम्भीर ध्यानाकर्षण होस्,’ उनले भने, ‘बसपार्कमाथि आमसप्तरीवासीको चाहना रहेकोले स्थानीय जनप्रतिनिधिले पनि ध्यान दिनुपर्ने जरुरी छ।’