मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
सिमरा विमानस्थलबाट काठमाडौं आउन हजाईजहाज चढ्दै यात्रुहरू । तस्बिर : नयाँ पत्रिका
अजित अधिकारी काठमाडाैं
२०७८ मङ्सिर २१ मंगलबार ०६:२३:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिमरा विमानस्थलमा हवाई इन्धन भर्ने व्यवस्था मिलाउन ताकेता

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडाैं
२०७८ मङ्सिर २१ मंगलबार ०६:२३:००

हवाई उडानको चाप बढ्दै गएपछि काठमाडौंबाट नजिकको दूरीमा रहेको सिमरा (बारा) विमानस्थलमा हवाई इन्धन भर्ने व्यवस्था मिलाउन वायुसेवा सञ्चालक संघले आयल निगमलाई ताकेता गर्न थालेको छ । काठमाडौंमा मौसम खराबी हुँदा आन्तरिक जहाज ‘डाइभर्ट’ गर्न तथा काठमाडौं–सिमरा उडान गर्ने जहाजलाई सजिलो हुने भन्दै संघले सिमरामा इन्धन भर्ने व्यवस्था मिलाइदिन आग्रह गर्दै आएको हो । ‘हामीले धेरैपटक सिमरामा हवाई इन्धन भर्ने व्यवस्था मिलाइदिन आयल निगमलाई पत्र लेखिसक्यौँ, तर सुनुवाइ भएको छैन,’ संघका महासचिव मनोज कार्कीले भने, ‘केही समयअघि पनि ताकेता गर्दै पत्र लेखेका छौँ ।’ अहिले सिमरामा उडान गर्ने विमानले दुईतर्फीका लागि चाहिने इन्धन काठमाडौंमा नै भर्नुपर्छ । 

महासचिव कार्कीले जाडो मौसममा काठमाडौं विमानस्थलमा अवतरण गर्न नसक्दा विमानलाई सिमरामा अवतरण गर्न धेरै सजिलो हुने बताए ।  ‘सिमरामा इन्धन भर्ने व्यवस्था भए काठमाडौंमा अवतरण हुन नसकेको जहाजलाई सिमरामा ल्यान्ड गर्ने थियौँ र त्यहाँ तेल हालेर काठमाडौं आउन सक्थ्यौँ,’ कार्कीले भने, ‘सिमरा–काठमाडौं छोटो रुट (२५ मिनेट) भएकाले डाइभर्ट गर्न धेरै सजिलो र कम खर्चिलो हुने थियो ।’ काठमाडौंबाट सबैभन्दा नजिकको गन्तव्य चितवनको भरतपुर विमानस्थल भए पनि डाइभर्टका लागि सिमरा सजिलो हुने कार्कीले बताए ।

अहिले सिमरा–काठमाडौं रुटमा दैनिक १५ वटासम्म उडान हुन थालेका छन् । सिमरामा हवाई इन्धन भर्ने व्यवस्था भए काठमाडौंका अलावा सिमराबाट विराटनगर, पोखरा, नेपालगन्जलगायतका गन्तव्यमा क्षेत्रीय उडानसमेत भर्न सकिने संघको भनाइ छ ।आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले काठमाडौंमा अन्तर्राष्ट्रिय उडान पूर्ण रूपले सुचारु भएपछि सिमरामा हवाई इन्धन भर्ने व्यवस्था मिलाउने योजना रहेको बताए । ‘काठमाडौंको चाप कम गर्न बाहिरी जिल्लाका विमानस्थलमा तेल भर्दा प्रतिलिटर तीन रुपैयाँसम्म सस्तो गर्ने योजनामा छौँ । ‘दैनिक ६ हजार लिटरसम्म इन्धन खपत नगर्ने विमानस्थलमा रिफ्युलर राख्नु उचित हुँदैन भन्ने देखिएको छ । त्यसैले सिमराको खपत परिमाणबारे व्यवसायीले यकिन तथ्यांक दिए भने हामीलाई योजना बनाउन पनि सजिलो हुने थियो,’ उनले भने ।
आयल निगमले दाङ, जनकपुर र भद्रपुरमा हवाई इन्धन भण्डारणगृह राख्न लागेको छ । गत आव ०७७/७८ को नीति कार्यक्रमअनुसार दाङमा ३० हजार र जनकपुर तथा भद्रपुरमा समान ६० हजार लिटरको अस्थायी भण्डारणगृह (बन्डेड ट्यांक) राख्न लागिएको हो ।

 कुन विमानस्थलमा कति इन्धन खपत ?
आयल निगमको वितरण विभागबाट प्राप्त तथ्यांकअनुसार हाल दैनिक साढे पाँच लाख लिटर हवाई इन्धन खपत भइरहेको छ । त्यसमध्ये अन्तर्राष्ट्रिय र आन्तरिक उडान गर्ने त्रिभुवन विमानस्थलले मात्रै चार लाख ७० हजार लिटर इन्धन खपत गर्छ । काठमाडौंपछि सबैभन्दा धेरै नेपालगन्ज विमानस्थलले २० देखि २५ हजार लिटर, विराटनगर र भैरहवा विमानस्थलले १५–१५ हजार लिटर तथा भद्रपुर, धनगढी र पोखरा विमानस्थलले १०–१० हजार लिटर इन्धन दैनिक खपत गर्दै आएका छन् । जनकपुर विमानस्थलमा पाँच हजार र सुर्खेत विमानस्थलमा तीन हजार लिटर इन्धन दैनिक खपत हुने गरेको छ ।

सिमरा विमानस्थलमा भने प्रारम्भिक रूपमा चार हजार लिटर इन्धन खपत हुने वायुसेवा संघको अनुमान छ । ‘यहाँ हुने नियमित उडान र कहिलेकाहीँ हुने डाइभर्ट उडानले दैनिक चार हजार लिटरसम्म हवाई इन्धन खपत हुन सक्ने देखिएको छ,’ वायुसेवा संघका महासचिव कार्कीले भने । सिमरा विमानस्थलमा हवाई इन्धन भर्ने व्यवस्था भए काठमाडौंका अलावा अन्य गन्तव्यमा क्षेत्रीय उडानसमेत गर्दा दैनिक ६ हजार लिटरसम्म इन्धन खपत हुन सक्ने संघको अनुमान छ ।

निगमलाई खतराजन्य पदार्थ ढुवानी गर्न अनुमति
 नेपाल वायुसेवा निगमले पहिलोपटक खतराजन्य पदार्थ ओसारपसार गर्ने अनुमति प्राप्त गरेको छ । खतराजन्य कार्गो सामानहरू ढुवानी गर्न पाउँदा थप विदेशी मुद्रा नेपालमा भित्रिने विश्वास निगमको छ । निगमले विगत ६ दशकभन्दा लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा यात्रु तथा कार्गो सेवा प्रदान गरिरहेको छ ।

वायुसेवा कम्पनीले खतराजन्य पदार्थ ओसारपसारको अनुमतिका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को एनेक्स–१८ तथा डिओसी ९२८४ मा उल्लेख भएका खतराजन्य पदार्थसम्बन्धी प्रावधानहरू पूरा गर्नुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय उडान गर्ने निगमका एयरबस ए–३२० र ए–३३० जहाजलाई खतराजन्य पदार्थ ओसारपसारको अनुमति दिइएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षत्रीले खतराजन्य पदार्थ ओसारपसार अनुमतिपत्र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई प्रदान गरे ।