मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १६ बिहीबार
  • Wednesday, 18 December, 2024
कोरोना परीक्षण गराउन जमुनाहस्थित हेल्थ डेस्कको लाइनमा बसेका नेपाली ।
२o७८ मङ्सिर १६ बिहीबार १o:४९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘ओमिक्रोन’ संक्रमण भित्रिन नदिन नाकामा कडाइ, २०३ को जाँच गर्दा एकजनामा संक्रमण पुष्टि  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १६ बिहीबार १o:४९:oo

भारतबाट कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण नेपाल भित्रिन नदिन नेपालगन्ज नाकामा कडाइ गरिएको छ । कामका लागि भारतका विभिन्न सहर पुगेर स्वदेश फर्किने सवै नेपालीको एन्टिजेन प्रविधिमार्फत कोरोना जाँच गर्न थालिएको छ । योभन्दा पहिले समूहका एकजनाको मात्र कोरोना जाँच गरिन्थ्यो । 

स्वास्थ्य सेवा विभागले नाकामा रहेका हेल्थ डेस्कलाई भारतबाट फर्किने नेपालीको कोरोना जाँच गर्न निर्देशन दिएपछि काम गरेर फर्किने सबै नेपालीको कोरोना जाँच गर्न थालिएको हेल्थ डेस्क इन्चार्ज गीता गिरी शाहीले बताइन् । उनले पहिले समूहमा भएका एकजनाको मात्र जाँच गरे पनि पछिल्लो समय सबैको जाँच गर्न थालिएको बताइन् । ‘कसैलाई नछुटाएर जाँच गर्न निर्देशन छ,’ उनले भनिन्, ‘एकैसाथ धेरैजना आउँदा भिडभाड सम्हाल्न गाह्रो हुन्छ ।’

बुधबार दुई सय तीनजनाको एन्टिजेनमार्फत कोरोना जाँच गरिएको छ । यसअघि दैनिक ४०–४२ जनाको मात्र कोरोना जाँच हुने गरेको थियो । पछिल्लो समय दैनिक सरदर दुईजनाको कोरोना जाँच हुन थालेको उनको भनाइ छ । ‘भारतबाट फर्किने सबै नेपालीको कोरोना जाँच गर्छौँ, तर यात्रुको तुलनामा जनशक्ति एकदमै थोरै छौँ, तैपनि पालैपालो जाँच गरेर पठाउने प्रयासमा छौँ,’ उनले भनिन् । हेल्थ डेस्कभित्र छिरेको एक घन्टाभित्र कोरोना जाँच भई रिपोर्ट दिने गरेको उनले जिकिर गरिन् । जतिसक्दो छिटो रिपोर्ट दिएर गन्तव्यतर्फ पठाउने हाम्रो प्रयास रहन्छ,’ शाहीले भनिन् । 

२०३ जनाको कोरोना जाँच गर्दा एकजनामा संक्रमण पुष्टि
नेपालगन्ज नाकामा बुधबार कोरोना जाँच गर्दा एकजनामा कोरोना पुष्टि भएको हेल्थ डेस्क इन्चार्ज शाहीले बताइन् । उनले दुई सय तीनजनाको कोरोना जाँच गर्दा एकजनामा कोरोना पुष्टि भएको जानकारी दिइन् । उनका अनुसार, सल्यानका करिब ३५ वर्षीय डम्बर रावतमा कोरोना संक्रमण पुष्टि भएको छ । उनी भारतको हिमाञ्चलबाट नेपाल आएका हुन् । छुट्टै गाडीको व्यवस्था गरी गृहजिल्ला पठाइएको उनको भनाइ छ । कोरोनाको भेरियन्ट पत्ता लगाउन उनको स्वाब संकलन गरी केन्द्रीय प्रयोगशालामा पठाउने तयारी छ,’ उनले भनिन् । 

कोरोना रिपोर्ट भएकालाई मात्र नेपाल प्रवेश अनुमति 
कोरोना रिपोर्ट हेरेर मात्र कामका लागि भारत गएर फर्किने नेपालीलाई नेपाल प्रवेश गर्न दिएको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी नायब निरीक्षक (सइ) मीनबहादुर विष्टले बताए । उनले भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित फेला परेपछि नाकामा कडाइ गरिएको बताए । ‘एन्टिजेन रिपोर्ट भएकालाई मात्र नेपाल प्रवेश गर्न दिन्छौँ, नभएकालाई कोरोना जाँचका लागि हेल्थ डेस्कमा पठाउँछौँ,’ उनले भने, ‘भारतबाट ओमिक्रोन भित्रिन नदिन केन्द्रबाट आएको निर्देशनअनुसार कडाइ गरिएको छ ।’

नेपालगन्ज नाकाबाट पछिल्लो समय दैनिक १५०–२०० नेपाली स्वदेश फर्किने गरेको उनले बताए । तर, यो संख्या पहिलेको भन्दा धेरै हो । दसैँ, तिहारपछि दैनिक १००–१५० नेपाली आउँथे । अहिले स्वदेश फर्किनेको संख्या केही बढेको छ,’ सइ विष्टले भने ।