मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १० शुक्रबार १७:२०:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

नबिल सामाजिक उद्यमशीलता विकास कार्यक्रम सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १० शुक्रबार १७:२०:००

नबिल बैंकले सामाजिक उद्यमशीलताको लागि नबिल स्कुल अफ सोसल आन्टरप्रेनरसिप (एसएसई) कार्यक्रम सुरु गरेको छ। बैंकले शुक्रबार त्रिभुवन विश्वविद्यालयमा एक कार्यक्रम गरी त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय स्कुल अफ म्यानेजमेन्टसँग सम्झौता गरेर कार्यक्रमको सुरुवात गरेको हो।

कार्यक्रमले समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने उद्देश्य लिएको बताइएको छ। यस कार्यक्रममार्फत बैंकले स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासको लागि आवश्यक सीप र वित्तीय सहयोग प्रदान गर्नेछ।

कार्यक्रमअन्तर्गत सामाजिक उद्यमशीलता प्रमाणपत्र र फेलोसिप कार्यक्रम गरी दुई किसिमका रहेका छन्। जसमध्ये पहिलो चरणमा सातै प्रदेशको एक–एकवटा क्याम्पसँग सम्झौता गरेका नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बताए। कार्यक्रमले सातै प्रदेशलाई समेट्ने गरी प्रत्येक प्रदेश वा विश्वविद्यालयसँग सहकार्य गरी वार्षिक ७०० विद्यार्थीलाई सामाजिक उद्यमी बन्न बैंकको सहयोग हुने उनले बताए। उनले भने, ‘नबिल बैंकले यो कार्यक्रम सुरुवात गर्नुको लक्ष्य प्रत्येक एक वर्षमा सात सय नेपाली युवालाई सामाजिक उद्यमको प्रमाणपत्र दिने हो, यसरी हरेक प्रदेशमा एक सय सामाजिक उद्यमी उत्पादन गरी प्रमाणपत्र दिएर प्रत्येक वर्षमा ७ सय विद्यार्थी सामाजिक उद्यमी बन्ने अवसर सिर्जना गर्नेछौँ, फेलोसिप कार्यक्रम आवासीय तालिम हो।’

प्रमुख अधिकृत शाहले नबिलको एसएसई कार्यक्रमको दुवै कोर्ष पूरा गरेका व्यक्ति उद्यमशीलताको स्पष्ट सोच विकास गरी नयाँ सामाजिक उद्यमको मोडल गर्दै बैंकबाट ऋण लिएर सामाजिक उद्यम सुरु गर्ने अपेक्षा बैंकको रहेको बताए। उनले नबिल बैंक स्थापना कालदेखि नयाँनयाँ कामको सुरुवात गर्दै आइरहेको बताए। 

कार्यक्रमले १८ देखि ५० वर्षभित्रका इच्छुक व्यक्तिलाई उद्यमको सुरुवात गर्न सहयोग गर्ने लक्ष्य राखेको छ। यस कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले तोकिएको मापदण्डअनुसार निवेदन दिन सक्नेछन्। तालिम अविधमा खाने बस्ने सबै सुविधा उपलब्ध हुने बैंकले जनाएको छ। उक्त कार्यक्रम सात प्रदेशमध्ये प्रदेश १ मा महेन्द्र मोरङ आदर्श मल्टिपल क्याम्पस, प्रदेश २ मा वीरगन्ज पब्लिक कलेज, बागमती प्रदेशमा काम्पियन कलेज, गण्डकीमा पोखरा विश्वविद्यालय, कर्णालीमा  सुर्खेत मोडल कलेज र सुदूर पश्चिमाञ्चलको सुदूर पश्चिमाञ्चल एकेडेमीसँग सम्झौता भएको छ। सात प्रदेशका यी कलेजमा नबिलको सामाजिक उद्यमशीता कार्यक्रम पढाइ हुनेछ।