टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ ९ आइतबार
  • Sunday, 23 January, 2022
चन्द्रदेव जोशी
२०७८ मङ्सिर १० शुक्रबार ०९:४८:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

वाम ध्रुवीकरण सम्भव छ?

बहस

Read Time : > 5 मिनेट
चन्द्रदेव जोशी
२०७८ मङ्सिर १० शुक्रबार ०९:४८:००

आम शोषित–पीडित जनता कम्युनिस्टहरूप्रति अझै आशावान् छन्, आवश्यकता छ त केवल उच्च नैतिक बल, कम्युनिस्ट चरित्र र राजनीतिक इमानदारिताका आधारमा स्पष्ट कार्यक्रम र दिशासहित संगठित हुने

‘बन्दुकको नालबाट’ होइन, मतपत्रका माध्यमबाट पूर्ण सत्ता प्राप्त गरी विश्व कम्युनिस्ट आन्दोलनमा नयाँ पहिचान स्थापित गर्न पुगेको नेपालको कम्युनिस्ट आन्दोलन, सत्ताधारी कम्युनिस्ट पार्टीको नेतृत्व वर्गको सैद्धान्तिक दिवालियापन, नैतिक पतन, व्यक्तिगत अहंकार र भ्रष्ट चरित्रका परिणामस्वरूप सत्ताच्युत मात्र होइन, विखराव र पतनको अवस्थामा पुगेको दु:खद अवस्था छ, अहिले । झन्डै ६ दशक बितेछन्, कम्युनिस्ट राजनीतिमा । यस दौरान अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनसँगको सान्निध्यमा विभिन्न आन्दोलन तथा मञ्चहरूमा सहभागिताका सुअवसर प्राप्त पनि भए । धेरै उतारचढाव देखियो । साम्राज्यवादीहरूको प्रत्यक्ष/परोक्ष प्रहारबाट कम्युनिस्ट सत्ताहरूको दु:खद अन्त्य देखियो, पढियो । तर, सत्ताको उत्कर्षमा पुगेको पार्टीको सैद्धान्तिक होइन, नितान्त व्यक्तिगत महत्वाकांक्षा र स्वार्थको टकरावका कारण पतन भएको यो पहिलो अनुभव रह्यो । मार्क्सका कुनै पनि अनुयायीको मनमा यो अवस्थामा यो देशमा कम्युनिस्ट आन्दोलनको भविष्य के भन्ने प्रश्न र चिन्ता स्वाभाविक हो ।

विश्व कम्युनिस्ट आन्दोलनका विभिन्न उतारचढावको अनुभव र सोभियत संघ विघटनपछिको अवस्थामा हामीजस्ता तेस्रो मुलुकका कम्युनिस्ट पार्टीहरूले मार्क्सवाद–लेनिनवाद तथा वैज्ञानिक समाजवादी लक्ष्यप्रति समर्पित रहेर त्यसको प्राप्तिका लागि पार्टी परिचालन, जनाधारको निर्माण, तात्कालिक कार्य र कार्यदिशालाई नयाँ किसिमले परिभाषित गरी तदनुरूप काम गर्नुपर्छ भनी अनेकौँ लेख रचना तथा राजनीतिक मञ्चहरूबाट आफ्नो धारणा व्यक्त गर्दै आएको छु । यस सन्दर्भमा हामीले हाम्रो विशिष्ट भौगोलिक एवं आर्थिक–सामाजिक अवस्थालाई मध्यनजर नगरी हुँदैन । यी विषयबारे आफ्ना अनुभव र अवधारणा प्रकाशोन्मुख पुस्तक ‘मार्क्स, मार्क्सवाद, अन्तर्राष्ट्रिय तथा नेपालको कम्युनिस्ट आन्दोलन’मा विस्तारमा प्रस्तुत गरेको छु ।

गत निर्वाचनमा जे–जस्तो लेनदेन पवित्र–अपवित्र गठबन्धन, धनबल–बाहुबलबाट भए पनि कम्युनिस्टहरूले झन्डै दुईतिहाइ बहुमतसहित स्थानीय तहदेखि संघीय सत्तासमेतमा एकल वर्चस्व काय गर्न सकेका थिए । वर्तमान विश्व सन्दर्भमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका लागि यो नयाँ अवस्था थियो । कम्युनिस्ट आन्दोलनले नयाँ युगमा नयाँ इतिहास लेख्ने र शास्त्रीय मार्क्सवादमा नयाँ अध्याय थप्न सक्ने ऐतिहासिक अवसर नेपालको कम्युनिस्ट आन्दोलनले प्राप्त गरेको थियो । निर्वाचनकै माध्यमबाट पनि व्यापक जनसमर्थनसहित कम्युनिस्टहरूले सत्ता प्राप्त गर्न, समाजवादमा संक्रमण गर्न सक्छन् भन्ने सैद्धान्तिक अवधारणलाई कार्यरूप दिने सुअवसर पाएको थियो । त्यो अवस्थाबाट हर्षित भएर यसका सम्भावना र कठिनाइ तथा तात्कालिक कार्यभार र कार्यदिशा, नेतृत्वले अपनाउनुपर्ने राजनीतिक सुझबुझ र लचकतालगायतबारे थुप्रै लेख लेखिए, कमीकमजोरी औँल्याइए । तर, दुर्भाग्य ! स्वार्थी, आडम्बरी, महत्वाकांक्षी, चरित्र र चिन्तनबाट च्युत नेताहरूको हातमा पार्टी तथा सरकारको नेतृत्व पुग्दा न कम्युनिस्टको सत्ता रह्यो, न कम्युनिस्ट आन्दोलन संगठित रहन सक्यो ।

नेपाली कम्युनिस्ट आन्दोलनको विगत र वर्तमानलाई निष्पक्ष र माक्र्सवादसम्मत दृष्टिकोणबाट हेर्दा कम्युनिस्ट पार्टीको स्थापनाकालदेखि नै (चाहे त्यो ०१९ सालसम्मको अविभाजित अवस्था होस् वा त्यसपछिको) विशृंखलता, क्रान्तिकारी लफ्फाजी, वैचारिक विचलन, राजनीतिक रोमान्टिसिज्म, असैद्धान्तिक व्यक्तिवादी अन्तरकलह र टुटफुटको सिकार हुँदै आएको हो । तैपनि, पञ्चायत र ज्ञानेन्द्रविरोधी आन्दोलनमा, समष्टिगत रूपमा, कम्युनिस्ट आन्दोलनको निर्णायक भूमिका रह्यो । तर, आज यो आन्दोलन व्यापक जनसमर्थन र सत्ता प्राप्त गरेर पनि विखण्डित हुँदै एकले अर्कालाई समाप्त गर्ने प्रतिस्पर्धामा पुगेको छ । कम्युनिस्टहरूमा देखिएको यो दिशाविहीनता, सैद्धान्तिक विचलन, चारित्रिक एवं नैतिक पतनको अवस्थाले आज प्रत्येक मार्क्सवादीका अगाडि एउटा अहम् प्रश्न खडा गरेको छ– के कम्युनिस्ट आन्दोलनलाई वर्तमान विचलन र विखरावको दलदलबाट बाहिर निकाली मार्क्सवाद–लेनिनवादको जगमा स्थापित गर्न कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्न सम्भव छ ? यो आन्दोलभित्र सकारात्मक ध्रुवीकरण हुन सक्ने अवस्था छ ? यसको सकारात्मक र सतही उत्तर हुन्छ– सम्भावना सधैँ रहन्छन् र समयले नै त्यो अनुकूल अवस्था उपस्थित गर्नेछ । तर, यथार्थ के हो भने यसलाई कार्यरूप दिन समाज परिवर्तनको महत्वपूर्ण राजनीतिक कार्यभार लिएका कम्युनिस्टहरूको सक्रिय हस्तक्षेपविना सम्भव छैन । नामधारी कम्युनिस्ट पार्टी रहलान्, कम्युनिस्ट आन्दोलन रहनेछैन । कम्युनिस्ट आन्दोलनको पुनर्गठन र सकारात्मक ध्रुवीकरण खातिर माक्र्सवादीहरूको सक्रिय हस्तक्षेपको आवश्यकता हिजोभन्दा आज बढी छ । यसका लागि कम्युनिस्ट आन्दोलनको सैद्धान्तिक शुद्धीकरण र दिशा निर्धारणको विषयमा गहन संवादको आवश्यकता छ । यसै चिन्तनबाट अभिप्रेरित भएर यसका सम्भावनाबारे वर्तमान अवस्थाको पूर्वावलोकन गर्ने यो लेखको उद्देश्य हो । एउटै लेखमा समष्टिगत समीक्षा सम्भव छैन, लेख्दै जानेछु । 

नेपालको सिंगो कम्युनिस्ट आन्दोलनको कुरा गरे पनि आजको अवस्थामा देशको कम्युनिस्ट राजनीति नेकपा एमाले, नवगठित नेकपा समाजवादी र माओवादी केन्द्रवरपर केन्द्रित छ । नेपाली कम्युनिस्ट आन्दोलनको विश्लेषण गर्दा अन्तर्राष्ट्रिय विश्लेषक र मित्रशक्तिहरूले पनि यिनकै गतिविधिलाई नियालिरहेका हुन्छन् । वर्तमान विकृतिको कारक पनि यिनकै नेतृत्व वर्ग हो । कम्युनिस्ट आन्दोलनको पुनर्गठन र ध्रुवीकरणको सम्भावनाबारे विचार गर्दा पनि यी पार्टीहरूको आन्तरिक अवस्थालाई प्रमुख रूपमा हेर्नैपर्ने हुन्छ, किनकि अनेकौँ विकृति तथा नेतृत्व वर्गमा (तलदेखि माथिसम्म) देखिएको विचलन, नैतिक पतन र निम्न पुँजीवादी अहंकार र व्यक्तिवादका बाबजुद यी पार्टीहरूभित्र कम्युनिस्ट ध्येय र समाजवादी लक्ष्यप्रति समर्पित र निष्ठावान् कम्युनिस्टहरूको ठूलो जमात छ । नेतृत्वको दबदबा तथा भ्रष्टहरूको गुटबन्दीका कारण सेपमा परेको मात्र हो । जसकारण यो जमातले न ठोस वैचारिक आधार, योजना र दृष्टिकोणसहित संगठित भएर अन्तरपार्टी संघर्ष चलाउन सकेको छ, न आमजनतासामु स्पष्ट परिचयसहित आउन सकेको छ । यो दिशामा कुनै व्यावहारिक कदम उठाउने प्रयास पनि उनीहरूबाट गरिएका छैनन् । 

कम्युनिस्टहरूमा देखिएको यो दिशाविहीनता, सैद्धान्तिक विचलन, चारित्रिक एवं नैतिक पतनको अवस्थाले आज प्रत्येक मार्क्सवादीका अगाडि एउटा अहम् प्रश्न खडा गरेको छ– के कम्युनिस्ट आन्दोलनलाई वर्तमान विचलन र विखरावको दलदलबाट बाहिर निकाली मार्क्सवाद–लेनिनवादको जगमा स्थापित गर्न कम्युनिस्ट आन्दोलन पुनर्गठन सम्भव छ?
 

यसकारण आज यी प्रमुख तीन कम्युनिस्ट पार्टीभित्र दमित अवस्थामा रहेका र अन्य माक्र्सवादीहरूको अगाडि एकातर्फ आ–आफ्नो पार्टीका भ्रष्ट तथा चरित्रहीन, अवसरवादी नेतृत्वबाट पार्टीहरूलाई मुक्त गर्न तिनका विरुद्ध निर्मम संघर्ष गर्नुपर्ने सघन जिम्मेवारी छ । अर्कातर्फ, विगतका संकीर्ण कठमुल्लावादी चरित्र एवं व्यवहार, व्यक्तिवाद र एकलकाँटे चिन्तन र व्यवहारबाट माथि उठेर वर्तमान अवस्था र लक्ष्यसापेक्ष अगाडि बढ्न यथार्थपरक कार्यदिशा र तात्कालिक कार्यभार निरूपण गर्न व्यापक र खुला छलफल गरी नयाँ रणनीति र कार्यनीतिसहित संयुक्त कम्युनिस्ट आन्दोलन निर्माण खातिर निष्ठावान् प्रयास गर्नुपर्ने अभिभारा पनि उनीहरूसामु छ । यो प्रक्रियाबाट मात्र आन्दोलनलाई पुनः वैचारिक, चारित्रिक र नैतिक जगमा ध्रुवीकृत गर्न सकिन्छ । देशका आम शोषित–पीडित जनता कम्युनिस्टहरूप्रति अझै आशावान् छन् । आवश्यकता छ त केवल उच्च नैतिक बल, कम्युनिस्ट चरित्र र राजनीतिक इमानदारिताका आधारमा स्पष्ट कार्यक्रम र दिशासहित संगठित हुने ।

माथि नै भनियो अहिले नेपालको कम्युनिस्ट राजनीति मुख्य रूपले उपरोक्त तीन पार्टीकै वरपर केन्द्रित छ । यी तीनवटै समूह विगत लामो समयदेखि सत्तामा हालीमुहाली गर्दै आएका पार्टी हुन् । आज कम्युनिस्ट आन्दोलनमा देखिएको अराजकता, कलह, दिशाविहीनता र कम्युनिस्टहरूको बदनामी विगतमा यिनले गरेका कुकर्महरूकै परिणाम हो । तर, यी पार्टीमा अझै देशको राजनीतिमा केही हदसम्म आफ्नो पहिचान बनाइसकेका नेता तथा इमानदार कार्यकर्ताहरूको जमात पंक्तिबद्ध छ । तर, दुर्भाग्य के छ भने यस्ता कम्युनिस्ट नेता तथा कार्यकर्ताहरू अन्योलग्रस्त मनस्थितिमा देखिन्छन् ।

उनीहरूमा (लामो राजनीतिक जीवनबाट थकित मानसिकताले गर्दा) निकट भविष्यमा राजनीतिक र आर्थिक लाभ लिन सकिने सम्भावना हेरी नेतृत्वका गलत प्रवृत्ति तथा क्रियाकलापविरुद्ध संघर्षभन्दा सम्झौता गरेरै भए पनि सक्दो लाभ लिई बाँकी राजनीतिक जीवन सुरक्षित गर्ने लालसा बढी नै देखिन्छ । तत्कालको लाभ–हानि नहेरी कम्युनिस्ट आदर्श र लक्ष्य लिएर विगतका त्याग र बलिदानलाई मूर्त रूप दिन कम्युनिस्टको कार्यभार पूरा गर्दै बाँकी जीवन पनि समर्पित गर्ने आँटिलो नेतृत्व उनीहरूले पाउन सकिरहेका छैनन् ।

स्मरणीय के छ भने क्षणिक लाभका लागि आत्मसमर्पण गर्दा विगतको त्याग र बलिदानको ब्याजबापत आरामदायी र समृद्ध जीवन त बनाउन सकिएला, तर यसबाट जुन लक्ष्यका लागि कम्युनिस्ट सिद्धान्तलाई स्वीकार गरी राजनीति गरिएको हो, त्यो आदर्श र लक्ष्यको भने हत्या हुनेछ । अतः आज कम्युनिस्ट आन्दोलनमा सकारात्मक र लक्ष्यगत ध्रुवीकरणका लागि नेतृत्वदायी पंक्ति र कार्यकर्ता संगठित गर्न पनि यसभित्रको मनोविज्ञानगत सम्भावना केलाउनुपर्ने आवश्यकता छ ।

यस पक्षबाट हेर्दा आजका नेकपा (समाजवादी) तथा एमाले चारु मजुमदारको वर्गशत्रु सफाया नीतिअन्तर्गत व्यक्तिहत्याको राजनीति लिएको झापाली अतिवादी समूहका उत्तरदान हुन् । कालान्तरमा मदन भण्डारीले प्रतिनिधिहरूलाई बाह्य जगत्सँग सम्पर्क गर्नसमेत बन्देज लगाई प्रज्ञा प्रतिष्ठानको हलमा बन्दसत्र गराई कार्यनीति परिवर्तन गरेको साक्षी स्वयं माधव नेपाल, झलनाथ खनालहरू नै छन् । तिनले आ–आफ्ना समूहको नेतृत्व गरिरहेकै छन् । भण्डारीको प्रयासले बहुदलीयता, संसदीय परिपाटी, बहुलवादबारे सुन्नै नचाहने तत्कालीन माले पार्टीलाई बहुदलीय प्रजातन्त्रवादी कम्युनिस्ट पार्र्टीमा रूपान्तरित गर्ने काम त गर्‍यो, तर निर्वाचनमा सहभागी भएपछि यो पार्टी एउटै झट्कामा दक्षिणपन्थी संसदीय भासमा जाकिन पुग्यो ।

०४८ को आमनिर्वाचनमा सशक्त दोस्रो पार्टीको रूपमा संसद्मा पुगेपछि कम्युनिस्ट समर्थक आमजनताको त्यसप्रति आकर्षण बढ्नु स्वाभाविक थियो । यो पार्टीको नेतृत्वले त्यो अवस्थालाई कम्युनिस्ट आन्दोलनको सबलीकरणका लागि उपयोग गर्न सक्नुपर्थ्यो । समाजवादी लक्ष्यबाट निर्देशित भएर तत्कालीन राजनीतिक अवस्थामा पार्टीका कार्यभार र कार्यदिशा निर्धारण गरी फराकिलो भएर कम्युनिस्ट आन्दोलनलाई संगठित गर्नुपर्ने थियो । तर, असहमत र ऊसँग समाहित हुन नचाहने अन्य कम्युनिस्ट पार्टीहरूलाई भुरे–टाकुरे र धरहराबाट खोज्नुपर्ने भन्दै तहसनहसको नीति लियो ।

साथै, सत्तास्वार्थबाट निर्देशित भएर जसरी पनि सत्ता हत्याउने सोचका साथ ३० वर्ष लामो बलिदानपूर्ण संघर्षबाट सत्ताच्युत गरिएको दरबारिया प्रतिक्रान्तिकारी शक्तिसँग साँठगाँठ गरी अगाडि बढ्ने गैरमाक्र्सवादी कार्यदिशा लिन पुग्यो । दरबारिया शक्तिलाई पुनस्र्थापित गर्न सहयोगी शक्तिको रूपमा उभियो । आफ्नो आदर्श, लक्ष्य र जनताका लागि राजनीतिभन्दा निहित स्वार्थपूर्ति हेतु पार्टीलाई हतियार बनाउने मानसिकताका भ्रष्टहरूलाई प्रश्रय दिँदै सिंगो पार्टीलाई संसदीय भासमा धकेल्यो । कम्युनिस्ट पार्टी होइन, दलाल तथा आर्थिक अपराधीहरूको बलियो मोर्चा निर्माण गर्न पुग्यो । र, त्यहीँबाट यसको दक्षिणपन्थी संसदीय विचलन यात्रा पनि सुरु भयो ।