१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २९ शुक्रबार
  • Friday, 18 April, 2025
२o८१ चैत २९ शुक्रबार १७:१८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दाउन्नेमा ट्राफिक व्यवस्थापन गर्न डेढ सय सुरक्षाकर्मी परिचालन [भिडियाेसहित]

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २९ शुक्रबार १७:१८:oo

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको दाउन्नेमा सडक सञ्चालन र ट्राफिक व्यवस्थापन गर्न डेढ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

सडक विस्तारको काम भइरहेकोमा वर्षाले बाटो हिलो भएपछि ट्राफिक व्यवस्थापन र सवारी आवागमन सहज बनाउन नवलपुर खण्डमा मात्रै डेढ सयभन्दा बढी प्रहरी खटाउनुपरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए।

सवारीसाधन राम्ररी पास हुन नसक्दा यात्रुहरूको बिचल्ली भएको छ। अहिले दाउन्ने क्षेत्रमा नवलपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रमुख सबै खटिएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले दाउन्नेको पूर्वी खण्डमा मात्रै सात–आठ ठाउँमा बाटो एकतर्फी रहेको बताए।

ठेकेदार कम्पनीले कल्भर्ट निर्माणको काम आधा मात्रै सकेर काम बाँकी रहेका सात–आठ ठाउँमा एकतर्फी सवारी सञ्चालनमा रहेको बताए। उनले एकतर्फी सवारी सञ्चालन भएको ठाउँमा कुनै गाडी बिग्रँदा वा फस्ना साथ सवारीसाधन पूरै ठप्प हुने गरेको बताए।

प्रहरी उपरीक्षक यादव ढकालका अनुसार अहिले पूर्वी खण्डमा मात्रै तीन हजारभन्दा बढी सवारीसाधनहरू जाममा फसेका छन्। गएराति १२ बजेदेखि आज दिउँसोसम्म एउटा गाडी पनि पास हुन नसकेको ढकालले जानकारी दिए। अहिले साँझपख भने केही सवारीसाधन बिस्तारै पास हुन थालेका छन्। दिउँसोसम्म डोजरले धकेलेर पास गराए मात्र सवारीसाधन पास भएकोमा अहिले त्यो समस्या केही कम भएको हो।

दुई फिटसम्म जमेको धुलोमा हल्का पानी परेपछि बाटो चिप्लो भएर गाडी चल्न नसकेका हुन्। चैत २७ गतेदेखि बिहान ११ देखि दिउँसो ३ बजेसम्म सवारीसाधन रोकेर बाटो विस्तारको काम भइरहेको थियो। तर, २७ गते रातिदेखि परेको हल्का वर्षाका कारण यात्रुले सास्ती पाएका हुन्।

बाटो बन्द हुँदा दाउन्नेपश्चिमभन्दा दाउन्नेपूर्वमा अत्यधिक ट्राफिक जाम भएको प्रहरी उपरीक्षक ढकालले बताए। उनले दाउन्नेदेखि पश्चिम झन्डै चोरमारासम्म २० किलोमिटरभन्दा बढी ट्राफिक जाम भएको बताए।

जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनकराज बन्जराले २४सै घण्टा प्रहरी परिचालन गर्दा पनि समस्या समाधान हुन नसकेको बताए। सडकको ठाउँठाउँमा हेभी लोडवाला गाडी फसेका कारण साना सवारीसाधन पनि पास गराउन समस्या भएको उनको भनाइ छ।

उता दाउन्नेको पश्चिम खण्डमा भने पूर्वी खण्डमा जस्तो समस्या नरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले जानकारी दिए।