१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ९ बिहीबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर ९ बिहीबार १५:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै लिङ्देनले भने– पार्टीमा परम्परागत गुटको अन्त्य गर्छु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर ९ बिहीबार १५:o३:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले पार्टीको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा ‘उम्मेदवार घोषणा कार्यक्रम’को आयोजना गर्दै नेता लिङ्देनले राप्रपाका नेता धवलशमशेर राणाको प्रस्तावलाई स्वीकार गर्दै आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरे। 

राप्रपाको महाधिवेशन आगामी मंसिर १५ गतेदेखि १७ गतेसम्म हुने तय भएको छ। उम्मेदवारी घोषणा गर्दै नेता लिङ्देनले भने, ‘साथीहरूले सल्लाह गरेर, खासगरी यो अभियानको औपचारिक रूपले प्रारम्भ गर्नुअघि नेता धवलशमशेर राणाले मलाई प्रस्ताव गर्नुभएको छ, म यसलाई सहर्ष स्वीकार गर्दै आउने १५, १६ र १७ गते जुन महाधिवेशन हुँदै छ, त्यसमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट नेतृत्व परिवर्तन हुनुपर्छ। र, नयाँ नेतृत्वबाटै राष्ट्रिय प्रजातन्त्र पार्टी अगाडि जानुपर्छ भन्ने आम हाम्रा पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको समेत भावनालाई स्वीकार गर्दै आफू उम्मेदवार बन्न तयार रहेको घोषणा गर्दछु।’

पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै नेता लिङ्देनले राप्रपा खिइनु र दुब्लाउनुमा अहिलेको अवस्थाभन्दा ठाउँ नरहेको भन्दै राप्रपाको ३१ वर्षको इतिहास असफलताको इतिहास भएको बताए। पार्टी एकीकरण भए पनि अध्यक्षत्रयले पार्टीलाई नयाँ दिशा र ऊर्जा दिन नसकेकोले वर्तमान नेतृत्वबाट पार्टी अगाडि बढ्न नसक्ने उनको भनाइ छ। आगामी महाधिवेशन पार्टीका नेता कार्यकर्ताको अग्निपरीक्षा भएको उल्लेख गर्दै उनले पार्टीमा रहेको परम्परागत गुटको अन्त्य गर्न आफ्नो उम्मेदवारी रहेको बताए। 

पार्टी अध्यक्षमा नेता लिङ्देनलाई प्रस्ताव गर्दै धवलशमशेर राणाले पार्टीलाई उठाउने जिम्मेवारी लिनुपर्ने भएकाले नेतृत्व परिवर्तन गर्नु आवश्यक रहेको बताए। राप्रपाको नेतृत्व परिवर्तन गरे मात्रै पार्टीको भविष्य हुने उनले बताए।