१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ मङ्सिर ९ बिहीबार ०९:०१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेकाे दशौँ महाधिवेशन : तयारीकाे काम ७५ प्रतिशत सकियो    

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर ९ बिहीबार ०९:०१:००

एमालेको दशाैँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु हुँदै छ । महाधिवेशन नजिकिएसँगै यतिवेला चितवनको नारायणी नदी किनार क्षेत्र र सौराहा क्षेत्रमा चहलपहल बढेको छ । अहिलेसम्म महाधिवेशनको तयारीको काम ७५ प्रतिशत  सकिएको छ ।

एमालेका केन्द्रीय तहका नेतादेखि जनवर्गीय संगठनका नेता चितवन आउने क्रम जारी छ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधि आजदेखि आउने क्रम सुरु हुनेछ । महाधिवेशन प्रतिनिधिका लागि सौराहामा शनिबारदेखि मात्रै बस्ने व्यवस्थापन मिलाइएको छ । महाधिवेशनको उद्घाटन समारोह हुने नारायणी नदी किनारमा मञ्चको निर्माण कार्यले तीव्र गति लिइरहेको छ ।

गैँडाको मस्कट तयार  

नेकपा एमालेको दशाैँ राष्ट्रिय महाधिवेशनको लोगोमा अंकित गैँडाको मस्कट तयार गरिएको छ । मूर्तिकार सूर्य मध्यरातसहित १० जनाको टोलीले १० दिन लगाएर गैँडाको मस्कट तयार पारेको हो । चितवन एकसिंगे गैँडाका लागि परिचित भएकाले महाधिवेशनको लोगोमा गैँडाको मस्कट राखिएको एमाले चितवनका अध्यक्ष पार्वती रावलले जानकारी दिए ।

यो मूर्ति महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा राखिनेछ । मूर्ति राख्नका लागि मञ्चको पश्चिमतर्फको भागमा बेस निर्माण गरिएको छ । यही मंसिर १० देखि १२ गतेसम्म हुन लागेको महाधिवेशनको तयारी लगभग अन्तिम चरणमा छ । उद्घाटन सत्रमा लाखौँ कार्यकर्ता सहभागी हुने भएकाले प्रदर्शनका लागि गैँडाको मस्कटसहित केही सेल्फी प्वाइन्ट निर्माण गरिएका छन् ।    

‘समृद्ध नेपाल, सुखी नेपाली’को थिममा चित्रकला  

नेपाल कम्युनिस्ट पार्टी एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र हुने स्थान होटेल सेभेन स्टारको पर्खालमा कलात्मक चित्र कोरिएका छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’को थिममा आयोजना गरिएको चित्रकला प्रतियोगितामा चितवन र नवलपुरका ५७ कलाकारले चित्र कोरेका छन् । होटेलको दुई सय मिटर लामो पर्खालमा कलाकारले चित्र कोरेका हुन् ।  

महाधिवेशन मूल आयोजक समितिको संयोजनमा सिर्जनशील ललितकला संघ र प्रगतिशील ललितकला संघको आयोजनामा चित्रकला आयोजना गरिएको हो । विसं २०५५ देखि चित्रकलामा सक्रिय वर्ड आर्ट लिङ्कका सञ्चालक योगेश खनालले समृद्ध नेपाल, सुखी नेपालीको अवधारणामा चित्र कोरिएको बताए । करिब दुई सय मिटर लामो पर्खामा कोरिएको चित्र हेर्दा देशले चाहेको विकास र समृद्धिबारे सहजै बुझ्न सकिने भन्दै खनालले अधिकांश नवप्रवेशीले चित्र चित्रकलामा भाग लिएका जानकारी दिए ।  

कलाकारले देशले शान्ति चाहेको आकृति, आँखाको नानीमा सूर्य चिह्नभित्र विकासका सूचक झल्कने चित्र, कृषिमा क्रान्तिको खाँचो औँल्याउने खालका चित्र, स्वयम्भू, धरहरा, परेवा, दुर्लभ पाटेबाघसहितका चित्र कोरेका छन् । उत्कृष्ट चित्र बनाउने कलाकारलाई एमालेको महाधिवेशन उद्घाटनका दिन अध्यक्ष केपी शर्मा ओलीले नगद र प्रमाणपत्रसहित पुरस्कृत गर्ने बताइएको छ ।