१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७८ मङ्सिर ७ मंगलबार ०८:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिन्धुपाल्चोकको १० स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७८ मङ्सिर ७ मंगलबार ०८:३१:००

सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये १० मा नेपाली कांग्रेसले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सोमबार सम्पन्न अधिवेशनले आठवटामा निर्वाचन र दुई स्थानमा सहमतिबाट नेतृत्व टुंग्याएको हो । इन्द्रावती र लिसंखुपाखर गाउँपालिकामा सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि आज निर्वाचन हुन लागेको संघीय क्षेत्र नं. २ का सभापति आइतमान तामाङले जानकारी दिए । 

संघीय क्षेत्र १ अन्तर्गत रहेका ६ स्थानीय तहमा देउवा पक्ष हाबी भएको छ । सुनकोसी गाउँपालिकामा रूपकाजी लामा ४९ मतसहित सभापतिमा विजयी भए । प्रतिद्वन्द्वी जगन्नाथ कार्कीले ४५ मत ल्याएका थिए । भोटेकोसी गाउँपालिकामा ५५ मतसहित देवीबहादुर बुढोथोकी सभापतिमा निर्वाचित भएका छन् । मुके शेर्पाले २२ र सांबो शेर्पाले १३ मत ल्याए । बलेफी गाउँपालिकामा झनक तिमल्सिनालाई पछि पार्दै रामकुमार लामा विजयी भएका छन् ।

त्यसैगरी, बाह्रबिसे नगरपालिकामा एक सय ३३ मत प्राप्त गरी शम्भु तिमल्सिना विजयी भएका छन् । रमेश तामाङले ५० मत ल्याए । त्रिपुरासुन्दरी गाउँपालिकामा मोहनकुमार श्रेष्ठ ८१ मतसहित विजयी भए । सभापतिका अर्का उम्मेदवार समीर लामाले २१ मत ल्याए । 

संघीय क्षेत्र नं. २ मा पौडेल पक्ष हाबी भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकामा सूर्यबहादुर अधिकारीलाई पराजित गर्दै प्रेम दोङ विजयी भए । हेलम्बु गाउँपालिकामा राजकुमार भण्डारी ७९ मतसहित विजयी भए । अर्का उम्मेदवार सञ्च तामाङले ४५ मत प्राप्त गरे । मेलम्ची नगरपालिकामा वसन्त गुरुङले एक सय ३९ मत ल्याएर सभापतिमा विजयी भएका छन् । प्रतिद्वन्द्वी प्रकाश दाहालले एक सय १६ मत ल्याए । चौतारा साँगाचोकगढी नगरपालिका र जुगल गाउँपालिकामा सहमतिमा नयाँ कमिटी गठन भएको छ ।