१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मञ्जु टेलर काठमाडौं
२०७८ मङ्सिर ५ आइतबार ०७:३२:००
Read Time : > 2 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

नेपालमा कोभिडबाट ६ हजार दुई सय  २९ ज्येष्ठ नागरिकको मृत्यु

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडौं
२०७८ मङ्सिर ५ आइतबार ०७:३२:००

चिकित्सकहरू भन्छन्– दीर्घरोगबाट बढी प्रभावित हुने र संक्रमणसँग लड्ने क्षमता घट्दै जाँदा ज्येष्ठ नागरिकमा मृत्युदरसमेत अन्य उमेर समूहभन्दा बढी छ

दैनिक परीक्षणको आधारमा नेपालमा कोभिड संक्रमण दर ३ प्रतिशतमा झरेको छ । कोभिडविरुद्धको खोप प्रभावकारी बन्दै गएपछि पछिल्लो सातादेखि दैनिक संक्रमण दर ३ प्रतिशतको हाराहारीमा छ । कोभिड संक्रमणबाट हुने दैनिक मृत्युदरसमेत घट्दै गएको छ । 

डा.अनुप बास्तोला, भाइरोलोजिस्ट 

अस्पतालमा बिरामीको चाप घट्दै गए पनि आइसियूमा बिरामी त्यही अनुपातमा घटेका छैनन् । जसमध्ये अधिकांश ज्येष्ठ नागरिक छन् । कोभिडविरुद्धको पूर्ण खोप लगाएका कतिपय व्यक्तिहरूसमेत गम्भीर बिरामी छन् ।

महामारी सुरु भएयता हालसम्म संक्रमणका कारण ११ हजार चार सय ९५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । प्रतिरोधी क्षमता कम हुने भएकाले दीर्घरोगी र ज्येष्ठ नागरिक तुलनात्मक रूपमा बढी प्रभावित भएको पाइन्छ । दैनिक संक्रमण दर मात्र नभई आइसियूमा उपचार गर्नुपर्ने अर्थात् गम्भीर बिरामीहरूमध्ये ज्येष्ठ नागरिकको संख्या आधाभन्दा बढी प्रतिशत छ । योसँगै हालसम्म कोभिड संक्रमणका कारण मृत्यु हुनेमध्ये ज्येष्ठ नागरिक झन्डै ५५ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ । 

हालसम्म कोभिडबाट मृत्यु हुने ज्येष्ठ नागरिकको संख्या ६ हजार दुई सय २९ छ, जुन कुन कोभिड मृत्युदरको ५४.१९ प्रतिशत हो । चिकित्सकहरूका अनुुसार ज्येष्ठ नागरिकहरू दीर्घरोगबाट बढी प्रभावित हुने र संक्रमणसँग लड्ने क्षमता घट्दै जाँदा मृत्युदरसमेत अन्य उमेर समूहभन्दा बढी छ । ‘अस्पतालमा बिरामीको चाप घट्दै गए पनि आइसियूमा बिरामी त्यही अनुपातमा घटेका छैनन् । जसमध्ये अधिकांश ज्येष्ठ नागरिक छन् । कोभिडविरुद्धको पूर्ण खोप लगाएका कतिपय व्यक्तिहरूसमेत गम्भीर बिरामी छन्,’ भाइरोलोजिस्ट डा.अनुप बास्तोलाले भने ।

मन्त्रालयको तथ्यांकअनुसार हालसम्म सबैभन्दा धेरै ६० देखि ६९ वर्ष उमेरका ज्येष्ठ नागरिकको कोभिड संक्रमणबाट मृत्यु भएको छ । सो उमेर समूहका दुई हजार चार सय १३ जनाको मृत्यु भएको छ । ७० देखि ७९ वर्ष उमेर समूहका दुई हजार दुई सय ७६ र ८० वर्षभन्दा माथिका एक हजार पाँच सय ४१ गरी ६ हजार दुई सय २९ ज्येष्ठ नागरिकको मृत्यु भएको तथ्यांकले देखाउँछ । यसबाहेक हालसम्म ५० देखि ५९ वर्ष उमेरका दुई हजार दुई सय २६ जनाको निधन भएको छ । 

कोरोनाबाट प्रभावित हुनेको संख्या वयस्कमा बढी भए पनि मृत्युदर भने उमेरअनुसार घट्दै गएको देखिन्छ । मन्त्रालयको तथ्यांकअनुसार ४० देखि ४९ वर्ष उमेरका एक हजार ६ सय २८ र ३० देखि ३९ वर्ष उमेर समूहका नौ सय ३४ जनाको मृत्यु भएको छ । यसबाहेक २० देखि २९ वर्ष उमेरका तीन सय ५९ जनाको मृत्यु भएको छ । हालसम्म एक सय ६ जना बालबालिकाको कोभिडबाट मृत्यु भएको मन्त्रालयको तथ्यांकले देखाउँछ । 

अस्पताल भर्ना भएकामध्ये ५१ प्रतिशत आइसियूमा 
अस्पतालमा कोभिड संक्रमितको चाप घट्दै गएपछि कोभिड अस्पतालहरूले अन्य सेवा पनि सुचारु गरेका छन् । तर, अस्पताल भर्ना भएका कोभिड संक्रमितमध्ये आधाभन्दा बढी प्रतिशत बिरामी गम्भीर रहेको मन्त्रालयको तथ्यांकले देखाउँछ । शनिबार संस्थागत आइसोलेसन अर्थात् अस्पतालमा उपचाररत चार सय ५१ संक्रमितमध्ये दुई सय ३४ जना आइसियूमा उपचाररत छन् । ५५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । जुन अस्पतालमा भर्नादरको ५१.८८ प्रतिशत हो । 

हाल देशभर सात हजार तीन सय तीनजना सक्रिय संक्रमित छन् । जसमध्ये ६ हजार आठ सय ५२ जना होम आइसोलेसन र बाँकी अस्पतालमा उपचाररत छन् । आइसोलेसनमा रहेकामध्ये सबैभन्दा धेरै बागमतीमा एक सय १५ र गण्डकी प्रदेशमा ५९ छन् । प्रदेश १ मा २९, लुम्बिनीमा २२, प्रदेश २ मा पाँच, कर्णालीमा तीन र सुदूरपश्चिममा एकजना संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ । गम्भीर बिरामी मात्र अस्पतालसम्म पुग्ने गरेकाले आइसियूमा संख्या धेरै भएको चिकित्सकहरू बताउँछन् । ‘आइसोलेसनमा अधिकांश वृद्धवृद्धा र अन्य दीर्घरोग भएकाको संख्या धेरै भएकाले आइसियू आवश्यक परेको हो,’ डा.बास्तोलाले भने ।