१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ४ शनिबार
  • Monday, 01 July, 2024
२o७८ मङ्सिर ४ शनिबार १४:o५:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

चिच्याएर वर मागिने मालिका मेला

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर ४ शनिबार १४:o५:oo

‘मनको पुकार कसैले सुनेनन्, बुझेनन्, चिच्याएर वर माग्न आउँला मालिका ।’ लोकदोहोरी गायक एवं सर्जक वसन्त थापाको गीत हो यो । थापाले गीतमा भनेजस्तै चिच्याएर वर माग्ने विशेषताले कुर्घा मालिका प्रसिद्ध छ। मुसिकोट नगरपालिका ६ कुर्घामा अवस्थित मालिका भगवतीको मन्दिर गुल्मीसहित पश्चिम बाग्लुङ, अर्घाखाँची, प्युठान र पाल्पाका नागरिकको धार्मिक आस्थाको केन्द्र हो । 

विशेष गरी कार्तिक शुक्ल चतुर्दशीका (वैकुण्ठ चतुर्दशी) दिन मेला लाग्ने गर्दछ। वर्षभरि एकादशी, औँसी, सोह्रश्राद्ध, स्वस्थानी र साउनबाहेक नियमित पूजा हुने गरेको मालिका भगवती मन्दिर व्यवस्थापन समिति अध्यक्ष झविराम शर्माले जानकारी दिए । उनले पछिल्लो समय वैकुण्ठ चतुर्दशीका अवसरमा विभिन्न प्रतियोगीतासहित तीन दिन मेला लाग्ने गरेको बताए। पहिले वर्षमा एकपटक कार्तिक शुक्ल चतुर्दशीका दिन रातमा मात्रै मेला हुने गर्दथ्यो। रातको समयमा हजारौँ दर्शनार्थीहरूको भिड हुनुका साथै कतिपय अवस्थामा लडाइँ झगडा हुने भएकाले केही वर्षदेखि नियमित पूजा सुरु गरेपछि भिड र लडाइँ झगडाका घटना कम हुँदै गएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शर्माले बताए । मन्दिरमा बोकाको बलि र परेवा उडाउने प्रचलन रहेको छ ।

मालिका मेलामा दर्शनार्थीको घुइँचो

मालिका मन्दिरको छेउमा पहाडको ठूलो खोच छ। जहाँ ढुंगाको कपेराका बीचबाट ठूलो पानी उम्रिएको छ। त्यही खोचकै कुनामा मालिका देवी छन् भन्ने जनविश्वास छ। जसका कारण सोही ठाउँमा पुग्न र वर माग्न दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ। इस्मा गाउँपालिका– ४ दोहलीका कमल गुरुङले निकै ठूलो भिडका बीच मालिकाको दर्शन गरेको बताए। उनले भने, ‘भिडमा वर माग्ने स्थानमा पुग्नै गाह्रो पर्छ। पुगेर बर मागेपछि मन निकै प्रफुल्ला हुन्छ। समय पाएसम्म प्रत्येक वर्ष आउने हो।’ विशेष गरेर लाहुरे बन्न इच्छुक युवकहरू, सन्तान सुख माग्नेहरू तथा रोगबाट मुक्तिका लागि वर माग्नेहरू मालिका पुग्छन्। रेसुंगा नगरपालिका १४ पराल्मीकी छली घर्तीले आफूलाई दुःख पर्दा परेवा उडाउने संकल्प गरेकाले पूरा भएपछि परेवा उडाउन आएको बताइन् । 

मालिका व्यस्थापन समितिअनुसार मालिका मेला अवधिभर करिब तीन हजार दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन्। मालिका मेलाको व्यवस्थापन भने राम्रो हुन नसकेको दर्शनार्थीको गुनासो छ। वृद्धवृद्धा तथा अपागंता भएकाहरूका लागि मन्दिरसम्मको आवतजावतमा कठिनाइ पर्ने गरेको छ। अर्घाखाँचीबाट सो मेलामा आएका कमल पाण्डेले मन्दिर दर्शनमा भद्रगोल देखिएको भन्दै नागरिकको सास्ती कम नगरे मेलाको महत्व हराउने प्रतिक्रिया दिए । उनले भने, ‘स्थानीय र आयोजक मेला व्यावस्थापनका बिषयमा अझै चनाखो बन्नुपर्‍याे । मन्दिर दर्शनमा भद्रगोल देखियो । नागरिकको सास्ती कम नगरे मेलाको महत्व हराउँछ।’

मालिका संरक्षणको आशा

मुसिकोट नगरपालिकाले मालिकाको संरक्षण र विकासका लागि ११ करोडको डिपिआर बनाएको छ । भुवाचिदी–मालिका–स्वाँरा सडकको स्तराेन्नति गरिरहेको नगरपालिकाले बताएको छ। डिपिआरअनुसार अहिलेसम्म करिब तीन करोडको काम गरिएको मुसिकोट नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष खडकबहादुर खड्काले जानकारी दिए। पार्किङस्थल, घेराबार, वाल र खेलमैदान निर्माणको काम गरिएको खड्काले बताए । उनले मन्दिर जिर्णोद्धारसहितका अझै थुप्रै काम बाँकी भएको बताए । मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले मालिका, मुसिकोट दरबार, सालिमेसहितका प्रसिद्ध धार्मिकस्थल र कफीसँग जोडेर कृषि पर्यटनलाई विकास गरिरहेको बताए। मालिकानजिक जिल्लामै पहिलो स्वाँरा गुरुङ होमस्टे रहेको छ। मुसिकोट नगरपालिकाकी उपपमेयर कमला शर्माले मालिका मन्दिर र स्वाँरा होमस्टेको  संगै विकास र प्रवर्द्धन भइरहेको बताइन् । डिपिआरसहितको मालिकाको काम र भुवाचिदी–मालिका–स्वाँरा सडक व्यवस्थित भएपछि मालिका मन्दिरको दर्शन र होमस्टे आउने पर्यटकको संख्यामा वृद्धि हुने उनले बताइन्।

पाँच हजार वर्ष पुरानो इतिहास

मालिकाका बारेमा कतिपय पुराणहरूमा चर्चा गरिएको छ । स्थानीयका अनुसार मालिका मन्दिर द्वापर युगको अन्त्यतिर स्थापना भएको हो। मालिका भगवती प्रकट भएर माल्याश्री नामका ऋषिलाई वरदान दिएपछि मालिकाको उत्पत्ति भएको पाइन्छ। अहिले मन्दिर भएको ठाउँमा सुन्दर ताल र माल्यश्री ऋषिको आश्रम रहेको बताइन्छ। आश्रममा अरू साधुसन्त र अध्ययन गर्ने विद्यार्थी पनि रहेका थिए। दैनिक पूजापाठ र घृतधारा तथा चरु हुन्थ्यो। त्यो स्थानमा अचानक ठूलो खडेरी पर्‍यो। पानीका मुहानहरू सुके। ताल र खोलाहरू सुकेपछि वनजंगल मासियो। वन्यजन्तु लोप हुन थाले। ठूलो हाहाकार मच्चिएपछि स्थानीयहरू ऋषिसँग बिन्ती बिसाउन पुगे । ऋषिले मालिका भगवतीको आराधना गरे। देवी प्रसन्न भएपछि ऋषिले पानी मागे। एक्कासी पहरोबाट पानी निस्कियो। सोही दिनदेखि कृषकले मन्दिर स्थापना गरेर मालिका भगवती देवीको पूजा गर्न सुरु गरेको किंवदन्ती रहेको मालिकाका जानकार त्रिभुवन माविका शिक्षक दधिराम शर्मा पंगेनीले बताए । 

पहाडको भित्र मालिका भगवती देवी भएकाले चिच्याएर वर माग्ने धार्मिक जनविश्वास रहेको छ। आफूले मालिका जान्न थालेदेखि नै चिच्चाएर वर माग्ने गरिएको पंगेनीले बताए। उनका अनुसार चिच्याएर वर माग्ने नामले प्रसिद्ध मालिका मन्दिरमा वैकुण्ठ चर्तुदशीका दिन रातभर जाग्राम बस्ने, भजनकीर्तन गर्ने, सुनिमाया, यानीमाया र सालैजो गाउने प्रचलन रहेको छ।

ad
ad
ad
ad