मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
तस्बिर : अमुल थापा
२०७८ मङ्सिर ३ शुक्रबार १५:४४:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

बार आन्दोलन : सर्वोच्च परिसरमा इतिहासकै धेरै सुरक्षाकर्मी परिचालन

Read Time : > 2 मिनेट
२०७८ मङ्सिर ३ शुक्रबार १५:४४:००

सर्वोच्च अदालतको सुरक्षा र आन्दोलनरत वकिलको भिड नियन्त्रण गर्न नेपाल प्रहरीले हालसम्मकै धेरै प्रहरी सुरक्षा टिम परिचालन गरेको छ । झन्डैै एक सय ६० जना प्रहरी सर्वोच्च परिसरमा खटिएका हुन् । सर्वोच्च परिसरमा यति ठूलो संख्यामा प्रहरी खटिएको यो पहिलो पटक हो ।

सुरक्षा निकायका जानकारहरूका अनुसार यसअघि यति लामो आन्दोलन सर्वोच्च र बार परिसरमा चर्किएको थिएन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा राजनीतिक भागबन्डामा लागेको, न्याय किनबेचमा बिचौलिया प्रयोग गरेको, अदालतभित्र राजनीति हाबी भएकोेलगायत आरोप लगाउँदै पछिल्लो समय झन्डै तीन सय संख्यामा वकिलहरू आन्दोलनरत छन् । उनीहरूले जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा हरेक दिन आन्दोलन, धर्ना र घेराउमूलक गतिविधि गर्दै आइरहेका छन् । कात्तिक १४ गतेबाट उनीहरूको आन्दोलन सुरु भएको थियो ।

जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने अडानमा वकिलहरू छन् । न्यायको सर्वोपरी निकायमा आन्दोलन, प्रदर्शन र धर्नामूलक गतिविधि बढ्न थालेपछि त्यस क्षेत्रमा प्रहरीले पनि सुरक्षा अवस्था कडाइ पारेको हो । दंगा तथा भिडभाड नियन्त्रणमा खटिने प्रहरी टोलीसमेत सर्वोच्च परिसरको सुरक्षामा खटाइएको छ । एक सय ६० जनाभन्दा बढी प्रहरीले सर्वोच्च अदालत र सर्वोच्च परिसरमा भएको वकिलहरूको प्रदर्शनलाई घेर्दै आइरहेका छन् । आक्रोशित वकिलहरूले अदालत परिसरमा पार्न सक्ने क्षतिलाई मध्यनजर गर्दै ठूलो संख्यामा प्रहरी परिचालन गर्नुपरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)का एसपी सुशीलसिंह राठौरले जानकारी दिए । उनका अनुसार मेट्रोमातहतबाट सर्वोच्च अदालत परिसरमा नियमित खटिने प्रहरी टोली ९० जनाको छ । उक्त टोली एसपी दीपक रेग्मीको कमान्डमा खटिन्छ । पछिल्लो समय अदालत परिसरमा आन्दोलन र प्रदर्शनमूलक गतिविधि हुन थालेसँगै महानगरीय प्रहरी परिसरबाट करिब ७० जनाभन्दा बढी प्रहरी टोली सर्वोच्च परिसरमा खटाइएको छ । ‘त्यहाँ खटिने नियमित प्रहरी टोली ९० जनाको छ, त्यसबाहेक थप ७० जनाभन्दा धेरै प्रहरी संख्या अदालत परिसरको सुरक्षामा खटिएका छन्,’ उनले भने, ‘झडप र अप्रिय घटना रोक्न ठूलो संख्यामा प्रहरी परिचालन गर्नुपरेको हो ।’

उनका अनुसार अदालत परिसरमा खटाइएको प्रहरी संख्या हालसम्मकै धेरै हो । यसअघि नियमित रूपमा यस्ता झडपमूलक गतिविधि र प्रदर्शन नभएकाले सीमित प्रहरी मात्र खटिन्थे । तर, अहिले अदालत परिसरमा विभिन्न झडपमूलक गतिविधि हुन सक्ने भन्दै बढी प्रहरी खटाइएको एसपी राठौरको भनाइ छ ।

अदालत परिसरको सुरक्षा इस्ट्यान्डर्ड पारिएको परिसरका प्रवक्ता रमेश बस्नेतले जानकारी दिए । उनले ठूलो संख्यामा प्रहरी परिचालन हुँदा विभिन्न सुरक्षा हतियार पनि बोक्नुपर्ने बताए । तर, सर्वोच्च अदालत परिसरमा पेस्तोल बोकेर प्रहरीले घेरा हालेको भन्दै त्यसको आलोचना भइरहेको छ । प्रहरी एसएलआर र इन्सास पेस्तोल बोकेर सर्वोच्च र बार परिसर पुगेपछि उक्त विषय विवादित बनेको हो । तर यसलाई वकिलहरूले गलत भनेका छन् । अधिवक्ता ओमप्रकाश अर्यालले अदालतमा एसएलआर देखाउनु निकै गम्भीर विषय रहेको बताए । उनले सफ्ट तरिकाले वकिलहरूले आन्दोलन गरेको वेला प्रहरीले पनि स्ट्यान्डर्ड हात हतियार बोक्नु निन्दनीय रहेको बताए । ‘अदालतमा एसएलआर पेस्तोल देखाइएको छ, भिजिलान्ते पात्र प्रयोग गरिएको छ, कतिपयलाई दुव्र्यवहार भएको छ,’ उनले भने, ‘न्याय परिसरमा के ठूलै युद्ध हुन लाग्या हो र ?’ 

नेपाल प्रहरीका अधिकारीहरूले यसरी अदालत परिसरमा पेस्तोलसहितका हतियार बोकेका प्रहरी खटिनु सुरक्षा स्ट्यान्डर्ड मानेका छन् । नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लले ठूलो संख्यामा प्रहरी खटिँदा उनीहरूले विभिन्न हातहतियार बोक्नु स्वाभाविक रहेको बताए । हतियार बोक्दैमा फरक नपर्ने उनको भनाइ छ । उनले भने, ‘प्रहरी कति संख्यामा खटिएका छन्, सोहीअनुसार पनि हातहतियार बोक्नुपर्ने हुन्छ, युनिटअनुसार हतियार बोकिन्छ, कति संख्या वा टोली सुरक्षामा खटिँदा कति हतियार बोक्ने भन्ने नियम हुन्छ, सोहीअनुसार हातहतियार बोकिएको हो ।’ प्रहरीले यसरी दिने सुरक्षालाई स्ट्यान्डर्ड सुरक्षा मानिने मल्लको भनाइ छ । उनका अनुसार पछिल्लो समय प्रहरीले बोक्ने खास राइफल दुई प्रकारका छन् । ती हुन्– एसएलआर र इन्सास । इन्सास राइफल ०६२/६३ पछि सशस्त्र र नेपाल प्रहरीलाई भारतले अनुदानमा दिएको थियो । प्रहरीले प्रयोग गर्ने आधुनिक पेस्तोल त्यही हो । ठूलो संख्यामा प्रहरी खटिँदा (हातहतियारका सेट) राइफल, टियर ग्यास, बन्दुक, लाठीलगायत बोक्छन् ।