१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २ बिहीबार ०८:३१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अमेरिकी सहायक विदेशमन्त्री काठमाडौंमा : आज उच्चस्तरीय भेटवार्ता, एमसिसीबारे छलफल हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २ बिहीबार ०८:३१:००

अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी विदेश सहायकमन्त्री डोनाल्ड लु बुधबार साँझ काठमाडौं आइपुगेका छन् । विदेश मन्त्रालयमा उनी मातहतकी उपसहायकमन्त्री केली केइन्डरलिङ बिहीबार आइपुग्दै छिन् । समसामयिक विश्व मामिला, एमसिसीसहित नेपाल अमेरिका सम्बन्धका विषयमा छलफलका लागि लू आइपुगेका हुन् ।

जो बाइडेन राष्ट्रपति भएपछि दक्षिण तथा मध्य एसिया हेर्ने अधिकारीहरू फेरबदल भएसँगै उनीहरूको यो पहिलो परिचयात्मक भ्रमण हो । उनीहरूले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा.नारायण खड्कालगायत उच्च अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ ।

‘उनीहरूको मूलतः परिचयात्मक भ्रमण हो, तर एमसिसीलगायत समसामयिक मुद्दामा पक्कै पनि छलफल हुनेछ,’ अमेरिकी दूतावासका एक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘मुख्यतया जलवायु परिवर्तन, कोभिड–१९ महामारीमा सहकार्य र लोकतन्त्रको सबलीकरणलगायतका विषयमा औपचारिक कुराकानी हुने जानकारी आएको छ ।’ 

यसअघि एमसिसीका उपाध्यक्ष फातिमा सुमारले नेपालको भ्रमण गरेकी थिइन् । अमेरिकाले एमसिसी सम्झौता संसद्बाट शीघ्र पारित गर्न आग्रह गर्दै आएको छ । सुमारले एमसिसी सम्झौतालाई राजनीतिक विषय नबनाउन आग्रहसमेत गरेकी थिइन् । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक सहमति बनाएर एमसिसीबारे निर्णय गर्ने चिठी अमेरिकी सरकारलाई पठाएका छन् । माओवादी केन्द्रले भने यथास्थितिमा एमसिसी सम्झौता संसद्बाट पारित गर्न नसकिने औपचारिक निर्णय गरिसकेको छ । ‘अहिले एमसिसी सम्झौता संसद्बाट पारित हुन सम्भव छैन भन्ने कुरा अमेरिकाले बुझेको छ । तर, फेरि पनि सबै पक्षलाई त्यसबारे स्पष्ट पार्ने प्रयत्न हुनेछ,’ अमेरिकी दूतावास स्रोतले भन्यो । 

नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५ वर्षको पूर्वसन्ध्यामा राष्ट्रपति जो बाइडेनका उच्चतम प्राथमिकताहरूका सन्दर्भमा भ्रमण हुन लागेको अमेरिकी दूतावासले जनाएको छ । दुई देशबीच १२ वैशाख ००४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालले ०१४ मा अमेरिकामा र अमेरिकाले ०१५ मा नेपालमा दूतावास स्थापना गरेका थिए । बेलायतपछि नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको दोस्रो मुलुक अमेरिका हो, त्यतिवेला भारत बेलायतबाट स्वतन्त्र भइसकेको थिएन ।

सहायक विदेशमन्त्री लूले पाँच मध्यएसियाली मुलुक काजकस्तान, किर्गिस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तान तथा दक्षिण एसियाली मुलुकहरू नेपाल, भारत, भुटान, बंगलादेश, पाकिस्तान, श्रीलंका, मालदिभ्स र अफगानिस्तानसँग अमेरिकी सम्बन्ध हेर्दै आएका छन् । किर्गिस्तान र अल्बानियाका लागि अमेरिकी राजदूत भइसकेका लूले दिल्लीस्थित अमेरिकी दूतावासमा उपनियोग प्रमुखका रूपमा पनि कार्य गरेको अनुभव छ । सहायकमन्त्री लूले डिसेम्बरमा अमेरिका आयोजना हुने विश्व प्रजातन्त्र सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवालाई निमन्त्रणा दिने कार्यक्रम रहेको कूटनीतिक स्रोतले बताएको छ । नेपालमा भेटवार्ता सम्पन्न गरेर सहायकमन्त्री लु शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ ।