१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १ बुधबार ०७:४५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रेमिट्यान्स घटे पनि मुलुकको  भुक्तानी सन्तुलन लयमा आउँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १ बुधबार ०७:४५:००

रेमिट्यान्समा गिरावट आए पनि भदौको तुलनामा असोजमा मुलुकको भुक्तानी सन्तुलन (शोधनान्तर) केही सम्हालिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको पहिलो तीन महिनाको तथ्यांकअनुसार भदौमा ८३ अर्बले ऋणात्मक रहेको शोधनान्तर असोजमा केही घटेर ७६ अर्बमा सीमित भएको छ । यो अवधिमा आयात बढे पनि पर्यटकबाट हुने आम्दानीमा सुधार हुन थालेको, खुद प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि भएकाले शोधनान्तरमा केही सुधार भएको देखिन्छ ।

तीन महिनामा आयात ६३ प्रतिशतले वृद्धि भएर चार खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ । कुल निर्यातमा पनि उल्लेख्य सुधार देखिन्छ । निर्यात १०९ प्रतिशत बढेर ६५ अर्ब रुपैयाँ पुगेको छ । मूल्य अभिवृद्धि गराउने, औद्योगिक प्रयोगमा आउने मध्यवर्ती उपभोगका वस्तुहरूको आयात बढ्दो दरमा छ । 

पछिल्लो समय विदेशी पर्यटकबाट हुने आम्दानी करिब १८३ प्रतिशतले बढेर चार अर्ब २० करोड रुपैयाँ पुगेको छ । विगत चार महिना (जुलाईदेखि अक्टोबरमा) ४२ हजार ९० पर्यटकको आगमन भएको छ । अघिल्लो वर्षको यही अवधिमा भने तीन हजार ७२ पर्यटक भ्रमणका लागि आएका थिए । यद्यपि, नेपालीहरूको विदेश भ्रमण खर्चसमेत वृद्धि हुन थालेको छ ।

यसले मुलुक बाहिरिने रकममा थप वृद्धि भइरहेको छ । गत आवको तीन महिनामा नेपालीहरूले विदेश भ्रमणमा पाँच अर्ब ३१ करोड खर्च गरेकोमा यो आवमा १५ अर्ब रुपैयाँ खर्चिएका छन् । खुद प्रत्यक्ष वैदेशिक लगानीमा समेत ७३ प्रतिशतले वृद्धि भएको छ । यो पाँच अर्ब रुपैयाँ पुगेको हो । कोभिडपछि आयातमा भइरहेको वृद्धिले रेमिट्यान्स भित्रिने दरमा समेत असर पुगिरहेको बैंकरहरूको गुनासोलाई राष्ट्र बैंकको तथ्यांकले भने प्रमाणित गरेको छ । 

रेमिट्यान्स भित्रिने दरमा गत आवको यही अवधिको तुलनामा १९ अर्ब ६१ करोड रुपैयाँले कमी आएको छ । गत आव असोजमा दुई खर्ब ५८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा चालू आवमा भने दुई अर्ब ३९ अर्ब रुपैयाँ भित्रिएको हो । यो ७ दशमलव ६ प्रतिशतको गिरावट हो ।

‘कोभिडपछि आयात बढेको र यसले गर्दा व्यवसायीहरूले न्यून बिजकीकरण गर्ने प्रवृत्तिले रेमिट्यान्स बाहिरै रहन थालेको देखिन्छ,’ एक बैंकरले भने, ‘रेमिट्न्यास भित्रिने दरमा यही कारण कमी भइरहेकाले बैंकिङ प्रणालीबाट मात्रै रेमिट्यान्स भित्रिने वातावरण बनाउन राष्ट्र बैंकसँग हामीले भन्दै आएका छौँ ।’

वैदेशिक मुद्राको सबैभन्दा ठूलो स्रोत रेमिट्यान्समा आएको संकुचनसँगै वैदेशिक मुद्राको सञ्चिति भने घट्दो क्रममा नै छ । भदौमा ११ अर्ब १४ करोड रुपैयाँ सञ्चिति रहेकोमा असोजमा यो घटेर १० अर्ब ९८ करोडमा सीमित भएको छ । यो सञ्चितिले ७ महिना ८ दिनबराबरको आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । 

गत वर्षको असोजमा ३ दशमलव ७९ प्रतिशत मूल्यवृद्धि खेपिरहेका नेपाली जनताहरूले यो असोजमा ४ दशमलव २४ प्रतिशतको मूल्यवृद्धि सामना गरिरहेका छन् । 
राष्ट्र बैंकको तथ्यांकअनुसार नेपाली भान्सा अत्यधिक महँगिएको हो । घिउ तथा तेल, माछा तथा मासु र दाल तथा गेडागुडीमा उच्च मूल्यवृद्धि देखिएको छ । घिउ तथा तेल, माछा तथा मासु र दाल तथा गेडागुडीमा क्रमशः ३१.६८ प्रतिशत, ११.९३ प्रतिशत र १०.७१ प्रतिशतले मूल्य बढेको हो । 

नेपालीहरूको यातायातमा हुने खर्चमा समेत वृद्धि भइरहेको छ । यसमा करिब ८ प्रतिशतको मूल्यवृद्धि देखिएको छ । पेट्रोलियम पद्धार्थमा भइरहेको वृद्धिले पनि यातायात खर्च चुलिएको हो । सबैभन्दा धेरै मूल्यवृद्धि पहाडका बासिन्दाले खेपिरहेका छन् । काठमाडौं उपत्यकामा ३.४८ प्रतिशत, तराईमा ४.०१ प्रतिशत, पहाडमा ५.६८ प्रतिशत र हिमालमा ३.१२ प्रतिशत मूल्यवृद्धि छ । आयातको मुख्य स्रोत भारतको तुलनामा भने नेपालीले कम मूल्यवृद्धि खेपिरहेको तथ्यांक राष्ट्र बैंकको छ । भारतमा यो अवधिमा ४ दशमलव ४८ प्रतिशतसम्मको मूल्यवृद्धि छ । भारतमा हुने मूल्यवृद्धिको समेत नेपालमा प्रभाव रहन्छ ।