मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
कृष्ण रिजाल काठमाडाैं
२०७८ कार्तिक २६ शुक्रबार ०८:३१:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

चीनले रसुवागढी र तातोपानीबाट हुने निर्यात दुई वर्षदेखि रोक्यो

Read Time : > 3 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
२०७८ कार्तिक २६ शुक्रबार ०८:३१:००
  • उत्तरतर्फका दुवै नाका एकतर्फी मात्रै सञ्चालनमा, भन्सार विभागका अनुसार तातोपानी नाकाबाट ०७६ कात्तिकदेखि र रसुवा नाकाबाट ०७६ माघदेखि निर्यात भएको छैन
  • चीनबाट नेपालले कुल ६७ अर्ब २४ करोडको आयात, निर्यात भने २५ करोड २५ लाखबराबरको मात्रै, चीनसँगको व्यापारमा ६६ अर्ब ९८ करोड घाटा

चीनको अवरोधका कारण नेपालले विगत दुई वर्षयता उत्तरतर्फका दुवै नाका रसुवागढी र तातोपानीबाट निर्यात गर्न पाएको छैन । चीनले ०७६ देखि कोभिड–१९ को जोखिमका कारण देखाउँदै स्थलमार्गबाट हुने नेपालको निर्यात पूर्ण रूपमा बन्द गर्दै आएको छ । उत्तरतर्फको छिमेकीले अन्तर्राष्ट्रिय नाकालाई एकतर्फी मात्रै सञ्चालन गरेपछि चीनतर्फको नेपालको निर्यात घटेको छ भने व्यापार घाटा बढेको छ । 

उद्योग वाणिज्य मन्त्रालयले विभिन्न औपचारिक एवं अनौपचारिक वार्ता तथा छलफलमा निर्यात खुलाउने कुरा उठाउँदै आए पनि सफल हुन सकेको छैन, परराष्ट्र मन्त्रालयमार्फत पनि निर्यात खुलाउने पहल गरिएको छ

भन्सार विभागका अनुसार तातोपानी नाकाबाट कात्तिक ०७६ देखि र रसुवा नाकाबाट माघ ०७६ देखि निर्यात भएको छैन । आर्थिक वर्ष ०७६/७७ को माघसम्ममा रसुवा नाका हुँदै नेपालले ५८ करोड २३ लाख रुपैयाँबराबरको वस्तु निर्यात गरेको थियो । त्यस्तै, आर्थिक वर्ष ०७६/७७ को कात्तिकसम्ममा तातोपानी नाकाबाट नेपालले १३ करोड ७६ लाख रुपैयाँबराबरको वस्तु निर्यात गरेको थियो । त्यसयता रसुवा र तातोपानी नाकाबाट निर्यात ठप्प रहेको विभागको तथ्यांक छ । 

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा तातोपानी नाकाबाट दुई अर्ब ४१ करोडको आयात भएको छ । तर, निर्यात शून्य छ । त्यस्तै, रसुवा नाकाबाट सात अर्ब ४६ करोडको आयात भएको छ । तर, रसुवाबाट पनि नेपालले निर्यात गर्न पाएको छैन । नेपालको कुल आयातमा रसुवा नाकाको हिस्सा १.५६ प्रतिशत र तातोपानी नाकाको हिस्सा ०.५ प्रतिशत रहेको छ । तर, निर्यातमा दुवै नाकाको हिस्सा शून्य रहेको तथ्यांकले देखाउँछ । यस अवधिमा चीनबाट नेपालले कुल ६७ अर्ब २४ करोडको आयात गरेको छ । जबकि निर्यात भने २५ करोड २५ लाखबराबरको मात्रै हुन सकेको छ । चीनसँगको व्यापारमा नेपालले ६६ अर्ब ९८ करोड घाटा व्यहोरेको छ । 

चीनजस्तो नजिकको छिमेकी मुलुकले नेपालजस्तो सानो र विकासशील मुलुकको निर्यात रोक्नु व्यावहारिक र भावनात्मक रूपमा उचित नहुने अर्थविद् डा. पोषराज पाण्डे बताउँछन् । ‘दुई वर्षयता चिनियाँ नाकाबाट हुने नेपालको व्यापार प्रभावित छ । आयात करिब २० प्रतिशत मात्रै भइरहेको छ भने निर्यात ठप्प छ,’ उनले भने, ‘चीनले स्वास्थ्यका कारण अन्तर्राष्ट्रिय नाका रोक्न सक्छ, तर अहिले चीनले निर्यात रोक्नु छिमेकीको भावनाविपरीत छ । चीनले एउटा असल छिमेकीले गर्ने व्यवहार गरेको देखिँदैन ।’

‘उद्योग वाणिज्य मन्त्रालयले विभिन्न औपचारिक एवं अनौपचारिक वार्ता तथा छलफलमा यो कुरा उठाउँदै आए पनि सफल हुन नसकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले बताए । ‘परराष्ट्र मन्त्रालयमार्फत पनि निर्यात खुलाउने पहल गरिएको छ,’ उनले भने ।

पटक–पटकको आग्रहलाई सुनेन चीनले 
अहिले नेपालले कोभिडविरुद्धको खोप अभियानलाई तीव्र बनाएको जानकारी गराउँदै नाकाबाट हुने निर्यात खुलाउन पुनः चिनियाँ पक्षसँग आग्रह गरिएको प्रवक्ता रेग्मीले जानकारी दिए । ‘भ्याक्सिनेसन बढाइरहेको र स्वास्थ्य मापदण्ड पूरा गर्ने भनेर हामीले निर्यात खुलाउन आग्रह गरेका हौँ,’ उनले भने, ‘चिनियाँ पक्षले उच्च नेतृत्वमा कुरा राख्छौँ भन्नुभएको छ ।’

यही विषयलाई लिएर गत ६ माघ ०७७ मा तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चीनसँगको व्यापारमा पुनर्विचार गर्नुपर्ने बताएका थिए । नेपाल इन्टरमोडल यातायात विकास समितिको २४औँ वार्षिकोत्सवमा बोल्दै ‘चीनसँग व्यापार नै गर्ने कि नगर्ने’ भनेर पुनर्विचार गर्नुपर्ने बताएका थिए । ‘चीनले कोभिड र विभिन्न बहानामा एक वर्षदेखि व्यापार रोक्दा त्यसको मार जनतासम्म नै पुगेको छ,’ उनले भनेका थिए, ‘हाम्रो छिमेकीको व्यवहारले असहज र अप्ठ्यारो भएको छ, अप्ठ्यारो अवस्थामा पनि जिम्मेवार देखिएनन् ।’ 

निजी क्षेत्रले गरेको आग्रहलाई पनि चीनले सुनेको छैन । नेपाल–चीन उद्योग वाणिज्य संघले आयात सहजीकरण र निर्यात खुलाउन पटक–पटक आग्रह गर्दै आएको छ । संघले गत २० कात्तिक ०७७ मा विज्ञप्ति जारी गर्दै तातोपानी र केरुङ नाका लामो समयदेखि आंशिक रूपमा सुचारु हुने र रोकिने अवस्थाबाट गुज्रिरहँदा व्यवसायीहरू नराम्ररी प्रभावित हुनुका साथै दुई देशबीचको सम्बन्धमै टीकाटिप्पणी हुन थालेको औँल्याएको थियो । 

चीनले नेपालको निर्यात रोकेर असल छिमेकीको व्यवहार देखाएन : डा. पोषराज पाण्डे अर्थविद्

राष्ट्रिय सुरक्षा र स्वास्थ्यका कारण अन्तर्राष्ट्रिय नाका रोक्न सकिन्छ । यसर्थ, चीनले नेपालको निर्यात रोक्नु अन्तर्राष्ट्रिय सन्धि–सम्झौता एवं कानुनविपरीत त होइन । तर, यो छिमेकीको भावनाविपरीत छ । चीनले एउटा असल छिमेकीले गर्ने व्यवहार गरेको देखिँदैन ।

चीनले अन्य मुलुकसँगको सबै नाका दुईतर्फी नै चलाएको बुझिएको छ । तर, नेपालजस्तो एउटा सानो विकासशील छिमेकी देशको निर्यात रोक्नु उचित होइन, यो अनैतिक हो । खासगरी चीनले बिआरआईअन्तर्गतका परियोजना कार्यान्वयन नभएको एवं एमसिसी, इन्डो प्यासिफिक रणनीतिको चर्चा भइरहेका वेलामा नेपाललाई कुनै म्यासेज दिन खोजेको पनि हुनुपर्छ ।

यसलाई चीनले बोर्डर जियोपोलिटिकल इस्युका रूपमा व्यवहार गरेको हुनुपर्छ । चीन आफैँले ड्राइभर र सम्बद्ध कर्मचारीलाई खोप दिएर आयात–निर्यात सहज रूपमा सञ्चालन गर्न सक्थ्यो ।

निर्यात खुलाउन पटक–पटक आग्रह गर्दै आएका छौँ  : डा. नारायणप्रसाद रेग्मी प्रवक्ता, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

उहाँहरूले कोभिडको जोखिमका कारण नेपालबाट हुने निर्यात रोक्नुभएको हो । यसलाई पुनर्विचार गर्न हामीले आग्रह गरेका छौंँ । उद्योग वाणिज्य मन्त्रालयले विभिन्न औपचारिक एवं अनौपचारिक वार्ता तथा छलफलमा यो कुरा उठाउँदै आएका छौँ, परराष्ट्र मन्त्रालयमार्फत पनि निर्यात खुलाउने पहल गरिएका छन् ।