१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २६ शुक्रबार
  • Monday, 01 July, 2024
मञ्जु टेलर काठमाडौं
२o७८ कार्तिक २६ शुक्रबार o७:४४:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
पालिका अपडेट प्रिन्ट संस्करण

युरोपमा कोभिड संक्रमण दर ५५ प्रतिशतभन्दा बढी 

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक २६ शुक्रबार o७:४४:oo

विश्वभर कोरोना संक्रमण बिस्तारै नियन्त्रणमा आइरहे पनि युरोपका केही देशमा भने कोभिड संक्रमण दर घट्न सकेको छैन । पूर्वी युरोपका केही देशमा संक्रमण दर नघट्नुलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गम्भीर चेतावनी दिएको छ । 

डब्लुएचओका अनुसार युरोपका केही देशमा कोभिडविरुद्धको भ्याक्सिन प्रयोग गर्नेहरू न्यून रहेका कारण यी देशहरू पुनः एकपटक महामारीको एपिसेन्टर बन्न सक्छ । डब्लुएचओका अनुसार स्पेनमा करिब ८० प्रतिशतले कोभिडविरुद्धको भ्याक्सिन लगाएका छन् भने जर्मनीमा ६६ प्रतिशतले भ्याक्सिन लगाइसकेका छन् । तर, केही पूर्वी युरोपेली देशहरूमा भने भ्याक्सिनको प्रयोग एकदम न्यून छ । यहीकारण पछिल्लो समय यी देशहरूमा दैनिक संक्रमण उच्च देखिन थालिएको छ ।

डब्लुएचओका अनुसार रुसमा अक्टोबर अन्तिमसम्म जम्मा ३२ प्रतिशतले मात्रै कोभिडविरुद्धको भ्याक्सिन लगाएका छन् भने युक्रेनमा जम्मा १९ प्रतिशतले मात्रै भ्याक्सिन लगाएका छन् । डब्लुएचओले पछिल्लो समय सार्वजनिक स्वास्थ्यमा बढिरहेको बेवास्ताका कारण संक्रमण बढिरहेको जनाएको छ । यसरी सार्वजनिक स्वास्थ्यमा बेवास्ता गर्नेमा एसियाका केही देशसहित ५३ देश छन् । 

पूर्वी युरोपमा कोभिड संक्रमणदर ५५ प्रतिशतभन्दा बढी 
भ्याक्सिन र स्वास्थ्य सेवामा सहज पहुँच भए पनि पछिल्लो चार सातादेखि युरोपमा कोभिड संक्रमण दर ५५ प्रतिशतभन्दा बढी रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सेप्टेम्बरको सुरुवातदेखि रुसमा कोभिड संक्रमण अत्यधिक बढेको छ । पछिल्लो केही सातायता रुसमा दैनिक कोभिड संक्रमणदर औसत ३८ हजारभन्दा बढी छ । रसियन फेडरेसनको तथ्यांकअनुसार मंगलबार मात्रै ३९ हजार एक सय ६० जना नयाँ संक्रमित थपिएका छन् ।

अक्टोबरमा औसत दैनिक संक्रमणदर २८ हजारको हाराहारीमा रहे पनि संक्रमण निरन्तर बढ्दै गएको तथ्यांकले देखाएको छ । यस्तै, रुसमा मृत्युदरसमेत बढ्दै गएको छ । वल्डोमिटरको तथ्यांकअनुसार रुसमा मंगलबार १२ सयभन्दा बढीको मृत्यु भएको छ । अक्टोबरको अन्तिमदेखि दैनिक संक्रमणदर ५५ प्रतिशतभन्दा बढी रहेको डब्लुएचओले जनाएको छ । 

जर्मनीमा पनि कोभिड संक्रमण निरन्तर बढिरहेको छ । भ्याक्सिनको प्रयोगसँगै अप्रिलदेखि जर्मनीमा कोभिड संक्रमण दर घटेको थियो, तर पछिल्लो तीन सातायता संक्रमण बढेको छ । अक्टोबर तेस्रो साता यहाँ दैनिक संक्रमणदर १५ हजार हाराहारीमा रहेकोमा यो साता संक्रमण बढेर २८ हजारको हाराहारीमा पुगेको छ । जर्मनीमा मंगलबार २३ हजार सात सय १७ जनामा संक्रमण देखिएको डब्लुएचओले जनाएको छ । 

दक्षिण एसियामा संक्रमण घट्दै 
दक्षिण एसियामा कोभिड संक्रमणबाट सबैभन्दा बढी प्रभावित भारतमा अप्रिल तेस्रो सातादेखि संक्रमणदर घट्दै गइरहेको छ । पछिल्लो साता भारतमा औसत संक्रमणदर ११ हजार मात्रै छ । भारतमा मंगलबार १० हजार एक सय २६ जनामा संक्रमण देखिएको डब्लुएचओको तथ्यांकले देखाउँछ । यो संख्या गत फेब्रुअरी महिनायताकै सबैभन्दा कम हो ।

यस्तै, भुटान र अफगानिस्तानमा संक्रमण दर शून्यमा झरेको छ । अफगानिस्तानमा साताको औसत संक्रमणदर १६ जना देखिए पनि आइतबारदेखि संक्रमण शून्यमा झरेको हो । डब्लुएचओको तथ्यांकअनुसार, सबैभन्दा धेरै दैनिक औसत संक्रमण दर क्रमशः श्रीलंकामा ६ सय १४, पाकिस्तानमा पाँच सय १२, बंगलादेशमा दुई सय ११ र माल्दिभ्समा एक सय ५० मात्रै छ । 

कोरोनाबाट ११ हजार चार सय ६६ जनाको मृत्यु
बिहीबार देशभर थप तीन सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा तीन सय एक र एन्टिजेन परीक्षणमा १६ जनामा संक्रमण देखिएको हो । 

यो अवधिमा नौ हजार ६ सय नौजनाको पिसिआर परीक्षण र तीन हजार ४४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । हाल देशभर सात हजार पाँच सय ३५ जना सक्रिय संक्रमित रहेका छन् । बिहीबार दुई सय ७९ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घन्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या ११ हजार चार सय ६६ पुगेको छ ।

ad
ad
ad
ad