मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २५ बिहीबार
  • Thursday, 19 December, 2024
२o७८ कार्तिक २५ बिहीबार o८:५८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जग्गा अभावले धनगढीको एयरक्राफ्ट म्युजियम सारिँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक २५ बिहीबार o८:५८:oo

धनगढीमा रहेको वायुयान संग्रहालय (एयरक्राफ्ट म्युजियम) सर्ने भएको छ । म्युजियम राखेको जग्गाको सम्झौता अवधि सकिएको र अर्को ठाउँमा राख्नका लागि जग्गा नपाएपछि म्युजियम धनगढीबाहिर सार्न लागिएको हो । 

आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले क्याप्टेन बेद उप्रेतीले बेद उप्रेती ट्रस्टमार्फत नौ वर्षअघि एयरक्राफ्ट म्युजियम स्थापना गरेका थिए । ग्राउन्डेड अवस्थामा रहेको कस्मिक एयरको फोकर–१०० विमानलाई म्युजियम बनाइएको छ । एयरक्राफ्ट म्युजियममा विमान अविष्कारक राइट दाजुभाइले तत्कालीन समयमा निर्माण गरेका विमान तथा आधुनिक समयमा निर्मित पाइलटरहित अत्याधुनिक विमानका ड्रोन मोडेलहरू राखिएका छन् । म्युजियमभित्र जेट ककपिटको अवलोकन पनि गर्न पाइन्छ ।

६ महिना लगाएर ग्राउन्डेड विमानका पार्टपुर्जा ल्याएर एयरक्राफ्ट म्युजियम सञ्चालनमा ल्याइएको ट्रस्टले जनाएको छ । डेढ करोड रुपैयाँ लगानीमा सञ्चालनमा ल्याइएको संग्रहालय जग्गा नपाउँदा सार्नुपर्ने अवस्था आएको उप्रेतीले बताए । उनले लिजमा लिएको जमिनको सम्झौता अवधि सकिएकाले नयाँ जग्गा पाउन समस्या भइरहेको बताए । ‘जग्गाको सम्झौताअवधि सकिएको छ । नयाँ जग्गा पाएका छैनौँ,’ उप्रेतीले भने, ‘म्युजियम राख्नका लागि जग्गा खोज्न यहाँको स्थानीय तहलाई पटकपटक आग्रह गर्‍यौँ तर पाउन सकेनौँ ।’ 

नगरपालिकाले बेवास्ता गरेको गुनासो
धनगढी पार्कभित्र एयरक्राफ्ट म्युजियम राख्न नगरपालिका सकारात्मक भएको र कार्यपालिकाबाट यसबारे निर्णय भए पनि अहिले त्यो निर्णय कार्यान्वयन हुन नसकेको उनले बताए । म्युजियमलाई नेपालगन्ज वा महेन्द्रनगर लगिने उनले जानकारी दिए । एयरक्राफ्ट म्युजियम धनगढीको महत्वपूर्ण पर्यटकीय गन्तव्य बनेको छ । एयरक्राफ्ट संग्रहालय भएकाले बच्चादेखि वृद्धको आकर्षणमा परेको थियो । संग्रहालय सर्ने भएपछि यसले यहाँको पर्यटन विकासमा असर पर्ने पर्यटन व्यवसायीहरू बताउँछन् ।

‘हामीले जग्गा खोजिदिन आग्रह गरेपछि उपमहानगरपालिकाले धनगढी पार्कभित्र म्युजियम राख्न दिने निर्णय गरेको थियो । तर, अहिले उपमहानगरपालिकाले यसमा चासो नदिएपछि हामी म्युजियमलाई छिट्टै अन्यत्र सार्दै छौँ,’ उप्रेतीले भने, ‘म्युजियम सकभर धनगढीमै रहोस् भन्ने चाहेका थियौँ, तर जग्गाका कारण त्यो सम्भव हुने देखिएन ।’ 

यो नेपालकै पहिलो एयरक्राफ्ट म्युजियम हो । म्युजियमबाट हुने आम्दानीको केही अंश ट्रस्टले क्यान्सरपीडितको उपचारमा सहयोग गर्दै आएको छ । स्वदेश तथा विदेशमा पाइलटको रूपमा लामो समय अनुभव बटुलेका उप्रेतीले बेद उप्रेती ट्रस्टमार्फत काठमाडौंमा पनि एयरक्राफ्ट म्युजियम सञ्चालनमा ल्याएको छ । उप्रेती अहिले एयर इन्डियामा कार्यरत छन् ।