१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
जलेको घरअगाडि खाँदबारी नगरपालिका– ४ सेकाहा छवयागाउँ टोलकी एकल महिला गुनमाया गुरुङ । तस्बिर : नयाँ पत्रिका
नवीन गुरुङ संखुवासभा
२०७८ कार्तिक २५ बिहीबार ०८:४९:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

घर आगलागी हुँदा एकल महिलाको बिचल्ली

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७८ कार्तिक २५ बिहीबार ०८:४९:००

घर आगलागी हुँदा खाँदबारी नगरपालिका–४ सेकाहा छवयागाउँकी एकल महिला गुनामाया गुरुङको बिचल्ली भएको छ । गुनामाया एक्लै बस्दै आएको घर आगलागी भएपछि उनको बिचल्ली भएको हो । 

उनका श्रीमान् दलबहादुरको करिब साढे दुई वर्षअघि निधन भएको थियो । कुनै सन्तान नभएकी गुनमाया त्यसयता सो घरमा एक्लै बस्दै आएकी थिइन् । १९ कात्तिकमा विद्युत् सर्ट भएर घरमा आगलागी भएको थियो । घरमा भएका अन्नपात, लत्ताकपडासमेत डढेकाले उनको बिचल्ली भएको ४ नम्बर वडासदस्य जितबहादुर गुरुङले बताए । 

‘आगलागीमा परेर अन्नपात, लत्ताकपडा सबै जल्यो । गुनामायाको ज्यानबाहेक केही बाँकी रहेन,’ जितबहादुरले नयाँ पत्रिकासँग भने, ‘अहिले छिमेकीको शरणमा बसिरहेकी छिन् ।’ गुनामायाको सहयोगका लागि गाउँलेले केही राहत संकलन गर्न थालेका छन् । छवयागाउँ टोल विकास संस्थाले प्रत्येक घरधुरी एक हजार रुपैयाँका दरले १६ घरबाट १६ हजार संकलन गरी हस्तान्तरण गरेको छ । टोलभित्रका एउटा उपभोक्तालाई पीडा परेको समयमा सबैले मिलेर सहयोग गर्नुपर्ने टोलअध्यक्ष प्रेमकुमार गुरुङले बताए । 

सेकाहा सामुदायिक विकास क्लबले कम्बल, सिरकलगायतका सामग्री हस्तान्तरण गरेको छ । क्लबका अध्यक्ष मनिराज गुरुङले विभिन्न संघसंस्था, स्थानीय सरकार र कार्यालयहरूसँग समन्वय, सहकार्य गरी गुनमायाका लागि एकतले घर निर्माण गर्न पहल गरिने बताए । नेपाल रेडक्रस सोसाइटीले पनि त्रिपाल, भाँडाकुँडालगायतका सामग्री उपलब्ध गराएको छ ।

यस्तै, खाँदबारी नगरपालिकाले त्रिपाल र भाँडाकुँडा दिएको छ भने जिल्ला प्रशासन कार्यालयले विपत् कोषबाट १५ हजार रुपैयाँ राहत उपलब्ध गराएको छ । गुनामायाको घर आगलागी हँुदा सात लाख ७५ हजार रुपैयाँबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।