मिथिलाको आस्थाको रूपमा परिचित छठ पर्वको दोस्रो दिन तयारी अन्तिम अवस्थामा पुगेको छ। छठको दोस्रो दिन खरनामा घाटहरूको सजावटलगायतका तयारीस्वरूप अधिकांश नदी तथा पोखरीको घाटहरू सजाइसकिएको छ। प्रायः स्थानमा जनस्तरबाटै छठ घाटहरू सजाइने गरिएको छ। जलेश्वर, मटिहानी र पिपराका साथै महोत्तरीको प्रायः सबै स्थानमा तयारी लगभग सकिएको छ।
यता नेपाल र भारत तथा महोत्तरी र धनुषा छुट्याउने सीमा क्षेत्रमा पर्ने मटिहानी तुल्सियाहीस्थित विग्ही नदीको किनारमासमेत छठको तयारी लगभग सकिएको छ। महोत्तरी, धनुषा र भारतको मधवापुर र वरिपरिका स्थानीयले सोही नदीमा एकसाथ छठ मनाउने भएकोमा उक्त स्थानमा भारतीय र नेपालीले संयुक्त रूपमा छठ मनाउँदै आएका छन्। भौगोलिक अवस्थाले उक्त स्थान विभाजित रहे पनि धार्मिक र सांस्कृतिक हिसाबले उक्त स्थानमा फरक देखिँदैन।
छठ पर्वको पहिलो दिन नहाय खाय, दोस्रो दिन खरना र तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य र अन्तिम चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठको विधिवत समापन हुनेछ । आज मंगलबार छठको दोस्रो दिन छठका व्रतालुहरूले घरमै गुँड, दूध मिश्रित खिर, केरालगायतका प्रसाद चढाएर खरना पूजा गर्नेछन्। छठमा भाकल गरेकाहरूले पमरिया नचाउने, दण्ड प्रणामलगायतका आआफ्नो भाकलअनुसार सूर्य देवतालाई खुसी पार्ने तयारीमा छन्।
यसकारण मनाइन्छ छठ पर्व :
छठप्रतिको आस्था र विश्वासका कारण नै मिथिलालगायत नेपालका अधिकांश भेगमा यो पर्व मनाइने गरिएको छ। छठ पर्व मधेशी समुदायसँगै पहाडी समुदायले समेत मनाउने क्रम बढ्दै गएको छ। पछिल्लो समय मुस्लिम समुदायका मानिसहरूले समेत छठ मनाउने गरेका छन्।
कार्तिक शुक्ल चतुदर्शीका दिनबाट सुरु हुने छठ पर्व सूर्यको आराधना गरी मनाइने गरिएको छ । यस पर्वमा माता षष्ठीसँगै सूर्यको पूजा गरिन्छ। छठको व्रतलाई कठोर मानिएकोले यसका विधि प्रक्रियाहरू सहज भने छैनन्।
पोखरी र नदी सरसफाइ गरी पोखरी र नदी घाटमा मनाइने छठ पर्व सरसफाइको प्रतीकका रूपमा रहेको छ। छठ घाटको सरसफाइदेखि व्रतको लागि बनाईने विभिन्न प्रसाद सामग्री तथा व्रतको विधिमा समेत सरसफाइ तथा शुद्धताको अति नै ध्यान राखिने हुनाले यो पर्व सरसफाइको संवाहक रहेको छ।