मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ कार्तिक २३ मंगलबार ०६:५५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

महोत्तरीमा बोक्सी आरोपमा हत्या र कुटपिट घटना : अदालतको आदेशपछि दुवै घटनाका  अभियुक्त कारागार चलान

Read Time : > 1 मिनेट
२०७८ कार्तिक २३ मंगलबार ०६:५५:००

गत महिना बोक्सी आरोपमा भएको हत्या र मलमूत्र खुवाई गरिएको कुटपिट घटनाका अभियुक्तलाई जिल्ला अदालत महोत्तरीले पुर्पक्षका लागि थुनामा पठाएको छ । न्यायाधीश ठाकुरप्रसाद खरेल र मुकेश उपाध्यायको बेग्लाबेग्लै इजलासले सोमबार बोक्सी आरोपमा भएका दुवै घटनाका अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

महोत्तरी गाउँपालिका–३ मडइकी ४२ वर्षीया शीलादेवी झाको गत २८ असोजमा देवर सञ्जयकुमार झाले हत्या गरेका थिए । यस्तै, जलेश्वर– ४ सुगाकी सुकमरिया देवीलाई छिमेकीहरूले मलमूत्र खुवाई, चारपाटे मुण्डन गरी बिजुलीको पोलमा बाँधेर निर्मम कुटपिट गरेका थिए । 

सोमबार जिल्ला अदालतलको ६ नम्बर बेन्चमा भएको थुनछेक बहसको क्रममा न्यायाधीश खरेलले अभियुक्त सञ्जयलाई थुनामा राखी पुर्पक्षको आदेश दिएका थिए । २ नम्बर बेन्चमा भएको बोक्सी आरोपकै कुटपिट मुद्दामा थुनछेक बहसपछि न्यायाधीश उपाध्यायले अभियुक्तहरू ६५ वर्षीया प्रमिला देवी, उनका छोराहरू ३५ वर्षीय सिकिन्दर महतो र २० वर्षीय अनिल महतो तथा ३२ वर्षीया बुहारी पुरनी देवीलाई पुर्पक्षका लागि थुनामा पठाएको स्रेस्तेदार मदनप्रसाद जयसवालले जानकारी दिए ।

समाचार प्रकाशनपछि अनुसन्धानमा गम्भीरता
दसैँको सप्तमी र अष्टमीका दिन भएका दुवै घटनाबारे नयाँ पत्रिकाले विस्तृत समाचार प्रकाशन गरेको थियो । यस्तै, बोक्सी आरोपमा भएका हत्या तथा कुटपिट घटनाका अभियुक्त अदालतबाट सहजै छुट्ने गरेको तथ्यांकसहित नयाँ पत्रिकाले अर्को समाचारसमेत प्रकाशन गरेको थियो । प्रहरीले कमजोर अनुसन्धान गर्ने तथा सरकारी वकिलको कार्यालयले गम्भीरतापूर्वक मुद्दाको मिसिल तयार नगरी अदालतमा पेस गर्ने गरेकाले दोषीहरूले सहजै सफाइ पाउँदै आएका छन् । समाचार प्रकाशनपछि गम्भीरतापूर्वक अनुसन्धान गर्न प्रहरीलाई दबाब परेको थियो । 

शीलादेवी र सकमरियादेवीको मुद्दामा प्रहरीले विस्तृत अनुसन्धान गरी अभियोग पुष्टि हुने प्रमाणसमेत संकलन गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूले बताएका छन् । यस्तै, सरकारी वकिलको कार्यालयले पनि प्राप्त प्रमाणहरूसहित अभियुक्तलाई हदैसम्मको कारबाहीका लागि अभियोग दार्ता गरेको छ । 

पर्याप्त प्रमाणकै कारण जिल्ला अदालतले अभियुक्तहरूलाई पुर्पक्षका लागि थुनामा पठाएको महोत्तरीका जिल्ला न्यायाधिवक्ता यादवप्रसाद पौडेलले बताए । ‘यस्ता जघन्य अपराधका अभियुक्तलाई थुनामै राखेर मुद्दा चलाउन अदालतसमक्ष हामीले माग गरेका थियौँ,’ न्यायाधिवक्ता पौडेलले नयाँ पत्रिकासँग भने, ‘हामी पीडितलाई न्याय दिलाउन प्रतिबद्ध रहेकाले दोषीलाई कानुनअनुसार कारबाही दिलाउन सम्पूर्ण प्रयास गर्नेछौँ ।’