मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २२ सोमबार
  • Wednesday, 18 December, 2024
२o७८ कार्तिक २२ सोमबार o७:५४:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

शीतभण्डारमा राखेको किसानको आलु कुहियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक २२ सोमबार o७:५४:oo

आलु रोप्ने वेलामा बिउ अभाव नहोस् भनेर कमल–२ का कृषक टंक कट्टेलले गत चैतमा साढे तीन सय बोरा आलु दमक–४ स्थित शान्ति कोल्डस्टोरमा भण्डारण गरेर राखेका थिए । प्रतिबोरा तीन सय ६५ रुपैयाँ शुल्क तिरेर शीतभण्डारमा आलु स्टोर गरे पनि निकाल्ने वेलामा सबै आलु कुहिएको रहेछ । चार बिघा खेतमा आलु लगाउन उनले कृषि विकास बैंकबाट ऋण लिएका थिए । त्यस्तै, कमल–१ का कृषक लोकबहादुर पाण्डेले १८ बोरा आलु सोही शीतभण्डारमा राखेका थिए । चैतदेखि असोज मसान्तसम्मका लागि राखेको आलु अहिले कुहिएको छ । ‘असोज अन्तिमदेखि आलु रोप्नुपर्ने हो । तर, पानी परेर खेत तयार गर्न सकेनौँ । बल्ल रोपौँ भनेको बिउ सबै कुहिएको रहेछ,’ उनले भने ।

पाण्डेका चारजना परिवार कृषि पेसामा नै निर्भर छन् । खेती गर्नका लागि उनले कृषि विकास बैंकबाट तीन लाख ऋण लिएका थिए । ‘पोहोर १० कट्ठामा आलु लगाएको थिएँ । राम्रो फलेकाले अब एक बिघामा लगाऊँ भन्नेमा थिएँ । तर, यस्तो भयो । ऋण तिर्न नसकेकाले अब घरमै बैंक आउने वेला भयो,’ पाण्डेले भने, ‘भारतमा किसानले आत्महत्या गरेको समाचार सुनेको थिएँ । किन गर्छन् भन्ने लागेको थियो । अब त हाम्रै अवस्था यस्तो भयो ।’

शान्ति कोल्डस्टोरमा झापा र मोरङका कृषकले आलु भण्डारण गरेर राखेका थिए । विभिन्न कृषक समूह, कृषि सहकारीले १० हजार सात सय ६० बोरा आलु राखेको शीतभण्डारका प्रबन्ध निर्देशक सन्तोष अधिकारीले जानकारी दिए । जसमध्ये करिब ४५ सय बोरा आलु कुहिएको उनले बताए । ‘लगातार आएको वर्षाले जमिन चिसो भयो । बाहिर र भित्रको तापक्रम नमिल्दा आलु बिग्रियो,’ उनले भने, ‘असोज अन्तिमसम्म आलु राख्नुपर्ने हो । हामीले फोन गरेर बोलाउँदा पनि कृषकले वर्षाले खेत तयार नभएको भन्दै लिन आएनन् ।’   

अधिकारीका अनुसार कृषकको आलुको शीतभण्डारले नै बिमा गरिदिएको छ । उनले भने, ‘कृषि समूहलाई बिमाका बारेमा जानकारी छ । दर्ता गर्ने समयभन्दा ढिला आएका ५०–६० बोरा आलुको बिमा छैन । बिमाले क्षतिपूर्ति दिनुपर्छ । बिमाको प्रक्रिया सुरु भएको छ ।’