भारतबाट धेरै परिमाणमा फूल आएपछि नेपाली व्यवसायी मारमा परेको गुनासो गरेका छन्। काठमाडौंको नयाँसडक क्षेत्रमा देखिएको फूलको व्यापारमा अधिकांश भारतीय फूल देखिएको छ। भारतीय फूल प्रतिमाला दुई हजार रुपैयाँसम्म बिक्री हुँदा नेपाली फूलको प्रतिमाला पाँच सय रुपैयाँमा समेत बेच्न मुस्किल परेको किसान व्यापारीले गुनासो गरेका छन्।
काठमाडौंमा लक्ष्मीपूजा र गोवर्धन पूजाको दिन सयपत्री, मखमलीलगायतका फूलहरूको बिक्री धेरै हुने गर्छ। कात्तिक पहिलो साता देशभर परेको बेमौसमी वर्षाले मुख्य कृषि बालीसँगै फूलखेतीमा पनि क्षति गरेको थियो। वर्षाले देशभर लगाइएको र बिक्रीका लागि तयारी अवस्थामा रहेका फूलमा धेरै क्षति भयो। काठमाडौं उपत्यका वरिपरिका साथै तराईका विभिन्न क्षेत्रमा व्यावसायिक रूपमा फूलको खेती हुने गरेको छ। फूल बेच्नका लागि काठमाडौंमा छिमेकी जिल्लाहरू नुवाकोट,धादिङ, काभ्रेपलाञ्चोकबाट किसान तथा व्यापारी आउने गर्छन्।
काठमाडौंको नयाँसडकमा फूल बेच्ने र किन्नेहरूको अत्याधिक भिडभाड देखिए पनि नेपाली किसान व्यापारी भने निराश देखिएका छन्। वर्षेनी तिहारको समयमा काठमाडौंमा आई फूल बेच्दै आएका धादिङका अशोक अधिकारीले यस वर्ष भारतबाट फूल अत्याधिक आएका कारण नेपाली फूलले उचित मूल्य नै नपाएको गुनासो गरे।
यो वर्षको तिहारमा फूलमालाको माग बढ्ने र यसको प्रत्यक्ष लाभ नेपाली किसानले गर्ने अनुमान गरिएको थियो। तर बेमौसमी वर्षाको कारण नेपाली किसानले लगाएको फूल बारीमै नष्ट भएपछि भारतीय फूलले बजारमा कब्जा जमाएको छ। कोरना संक्रमणको जोखिम कम भएको र मानिसहरूले उल्लासमय तरिकाले तिहार मनाउने हुँदा माग बढ्ने अनुमान गरिएको थियो। गत वर्षको तुलनामा ५ लाख बढी मालाको माग बजारमा आउने अनुमान गरिएको छ। नेपालमा वार्षिक रूपमा करिब ३ अर्ब रुपैयाँबराबरको फूल कारोबार हुँदै आएको विभिन्न अध्ययनले देखाएको छ।