प्रकृतिको विनाश गरेर भित्र्याउन खोजिएको आसेपासे समाजवादबाट मात्र होइन, समयसँगै मक्किएको ढोंगी समाजवादबाट पनि हाम्रो भविष्य बन्दैन
आसेपासे’ नेपालको राजकाज र प्रशासन वृत्तमा सबैभन्दा बढी प्रयोग हुने शब्द हो । यही ‘आसेपासे सम्बन्ध’का कारण हाम्रो देश संसारमै पछि पर्दै गएको छ । अर्थशास्त्रका जानकारहरू ‘आसेपासे पुँजीवाद’को निकै चर्चा गर्छन् । तर, राजनीति, प्रशासन र समाज सबैतिर ‘आसेपासे’ले जरा गाडेको छ । हाम्रो आजको लोकतान्त्रिक गणतन्त्र नेपालमा यिनै आसेपासे र तिनैका भरमा समृद्धिको सपना वितरण गरेर सत्ताको हाटबाट हप्ता असुली गर्नेहरूले आफूहरू नै असली समाजवादी भएको डंका पिटिरहेका छन् ।
दोस्रो विश्वयुद्धपछि संसारभर समाजवाद र पुँजीवाद विकसित भइरहँदा नेपालमा भने सुरुदेखि नै यी दुवै विचारको ठिमाहा जन्मियो, पालितपोषित भयो । सुरुमा यो भारतको बाटो हुँदै आयो । अंग्रेजराज धपाएर बाबासाहेब अम्बेडकरको नेतृत्वमा भारतीय संविधानमै लेखिएको समाजवाद उतिवेलाको नेपालमा भित्रिनु अनौठो पनि थिएन । तर, यसलाई संस्थागत गर्ने जिम्मेवारी लिने सक्षम नेतृत्वको अभाव हुँदा यो राणहरूको जहानियाँ शासन र आसेपासे अर्थ व्यवस्थाको चक्रव्यूहमा फस्न पुग्यो । परिणामतः यही समाजवाद समयक्रममा ‘आसेपासे समाजवाद’मा रूपान्तरित हुँदै गयो । र, यो क्रम अहिलेसम्म पनि जारी छ ।
प्रजा परिषद् हुँदै कांग्रेस बनेको पार्टीको यो चर्तिकलाबाट जिल्लिएका नेपालका ‘आसेपासे कम्युनिस्ट’लाई यो सबै देखेर औडाहा भयो । ती के कम हुन्थे ? उनीहरूचाहिँ पछि पर्ने कुरै भएन । भारतको उपनिवेशी बाटो आउँदा सामाजिक साम्रज्यवादी भइन्छ भन्ने डरले यसलाई तत्कालीन सोभियत संघबाट सीधै झिकाइयो । चिल्ला गातामा सजिएको सुनौला अक्षरमा लेखिएको समाजवादको बखानले सत्ता बिर्तामा पाएका राजालाई समेत उत्साहित बनायो । अनि, तत्कालीन आसेसासे कम्युनिस्ट नेतालाई दरबारमै बोलाएर उताबाट ल्याइएको सामाजिक समाजवादको अधियाँ मात्र मागेनन्, यसलाई हुर्काउन उनका आसेपासेसित साझेदारीको प्रस्तावसमेत गरे ।
समयक्रममा यही साझेदारीको बलमा राजाले प्रजातान्त्रिक समाजवादको दुईतिहाइको सरकार ढाले र यिनका उत्तराधिकारीहरूले ‘सामन्ती आसेपासे’हरूसँग मिलेर तीन दशकसम्म निरंकुश पञ्चायती समाजवादको रजगज चलाए । यसबीचमा चीनमा पानी पर्दै गयो र यता छाता ओढ्नेहरू बाक्लिँदै गए । माओ र किमका राता किताब गायत्री मन्त्रजस्तै कण्ठ भए । मौलिक समाजवाद ल्याउन उत्साहितहरू कोही गद्दार घोषित भए भने कोहीले निरकुंश शासकसँग घाँटी जोडेको आरोप खेपे ।
जर्ज आरवेलका चारखुट्टेको घरजमका पात्र सुँगुरजसरी पलायन भइसकेका रजौटाहरूले चाहिँ आफ्नो सत्ता आए सबै नेपालीलाई रामराज्य दिने कसम खाए । राता किताब पढेकाहरू काटमारको राजनीतिमा उत्रिए । यिनले माहेन्द्रीय भूमिसुधारको अनुसरण र बुर्जुवा शिक्षा बहिष्कार गर्ने निधो गरे । यो महेन्द्रीय भूमिसुधारलाई जमिनको हदबन्दी लुकाउन, सार्वजनिक, पर्ती, उखडा जमिन हत्याउन र आदिवासी जनजातिका परम्परागत स्रोतमाथि धाबा बोल्न दुरुपयोग गरिएको जगजाहेर छ । धेरै प्रजातान्त्रिक समाजवादी भनिने आसेपासेले यसैलाई सघाए भने टुटेफुटेका कम्युनिस्टले यसमा मलजले गरे । किनकि यो दमदार प्रस्ताव थियो र यसबाट राजनीतिमा राम बन्न सकिने विश्वास थियो । यो तुजुकको नतिजा अहिले देखिँदै छ ।
हुनु के थियो, आसेपासे समाजवाद डहरछेउको गनाउने झारजस्तै मौलाउँदै गयो । एकदलीय पञ्चायतजस्तै शासनकै सपना भए पनि भागबन्डा नमिल्ने डरले नामधारी कम्युनिस्ट बाहिरै बसे । निर्दल र बहुदलबीचको जनमत संग्रहमा बहिष्कार गर्नेे अर्घेल्याइँ गरे । सुकुम्बासी बस्तीको मण्डलेकरण र सरकारी जालझेलबाट सुधारिएको पञ्चायती मण्डले व्यवस्था अर्थात् मण्डले समाजवादको उदय भयो । सँगै यसलाई जोगाउन थप चुरे भाँवरमा सुकुम्बासी पुनरुत्पादन ‘कारखाना’ चलाइए । यो व्यवस्थालाई अहिलेका आसेपासे कम्युनिस्टले चालू राखेकै छन् ।
यससँगै सुरुमा मण्डलेकरण भएका पञ्च र पछि सबैखाले आसेपासे समाजादीको दिन फिर्यो । यिनले वनपाखा, खोलाकिनार र पहाडका टापु कतै छाडेनन् । अहिलेको चुरे दोहन, मेलम्चीकरण (खोलाकिनारका जोखिमपूर्ण बस्ती) र जग्गा दलालीको जग यही बलमा ल्याएको आसेपासे समाजवाद हो भन्दा अति हुँदैन बरु कमै हुन्छ । त्यति गर्दा पनि यिनले मण्डले समाजवाद जोगाउन सकेनन् । कम्युनिस्ट नामधारी आफैँ मण्डले भइसकेका थिए, तर उनीहरूलाई क्रान्तिकारी कम्युनिस्ट भइरहनु छ । यो आसेपासे समाजवादको वर्गचरित्र हो । पञ्चायत ढलेसँगै उत्साहित अगुवाले सार्वजनिक मञ्चबाटै घोषणा गरे– माले, मसाले र मण्डले सबै एउटै हुन् । यससँगै सबै आसेपासे समाजवादी एक भए । यिनले ०६२/६३ अगाडिका १५ वर्ष के गरे, जगजाहेर नै छ । यिनको आसेपासे समाजवादी दर्शनले बिस्तारै काँचुली फेर्यो र यो अहिले सिंहदरबार र ठोरी पुगेको छ ।
दोस्रो जनआन्दोलनपछि समाजवादमा आसेपासे लोकतन्त्र र गणतन्त्र थपियोे । क्रान्ति सम्पन्न भयो कि भएन भन्ने थाहा भएन, तर आसेपासेको मुहारमा कान्ति भने अवश्यै थपियो ।
यसपछिका दिनमा भूमिमाथिको दलाली र शिक्षाको व्यापार यिनको मुख्य समाजवादी सूत्र बन्योे । यसलाई आसेपासेका हितमा थप मजबुत बनाउन वैज्ञानिक भूमिसुधार र जनवादी शिक्षाले नयाँ व्याख्या पाए । यो राजनीतिक दर्शनको माक्र्सवादी—लेनिनवादीहरूको कोरा समाजवादको क्रान्तिकारी रूपान्तरण थियो । यसले आसेपासेको समृद्धि भित्र्याउने दिशातर्फ अग्रसर हुँदै बिस्तारै बिचौलिया दलालको जीविका सपार्न अग्रगामी छलाङ मार्यो । आज नेपाली समाजमा देखिएको आसेपासेको समृद्धि यात्रा यही जगमा टेकेर सम्भव भएको हो । यस क्रममा डुँडे झाडीदेखि मोतीपुरसम्म आइपुग्दा भूमिहीन सुकुम्बासीका भने सहिद परिवार थपिएका थपियै छन् । आजपर्यन्त यो क्रम जारी छ ।
सबै पार्टीले यसलाई औकातअनुसारको क्रान्तिकारी र वैज्ञानिक भूमिसुधारको दर्जा दिए । यसैका वरिपरि शक्तिशाली आयोग बनाए । कम्युनिस्टसँग पानी बार्नैपर्ने बाध्यताले कांग्रेसले भने यो भारी सँगसँगै बोकेन । तर, आफ्नो पुरानो समाजवादी बिरासत थाम्न कोसिस गरिरह्यो । परिणामस्वरूप यिनैका पालामा कमैया, हलिया औपचारिक रूपमै मुक्त गरिए । तीमध्ये केही त अहिले यिनै आसेपासे समाजवादी नेता–कार्यकर्ताका भान्सा र बारीमा सघाउन सहर पस्न बाध्य भएका छन् ।
यसैको अर्को पाटो, शिक्षामा वैज्ञानिक र जनवादी रङ पोतियो । यो समाजवादी भन्ने सबैकोे घोषणापत्रमा छिर्यो । तर, नाफा मात्र कमाउने निजी शिक्षाको अभियान नै चल्यो । अहिलेका सत्तासीन आसेपासे समाजवादीले यसैको सिको गरे । अहिलेका कतिपय सत्ताधारी मन्त्रीहरू यसैका उपज हुन् । हुन त बुर्जुवा शिक्षा बहिष्कार गर्ने धेरै अगुवाको नेपालको परिवर्तनको आन्दोलनमा स्वस्फुर्त तर प्रतिबद्ध योगदान थियो । यसमा कुनै प्रश्न छैन । विडम्बना त के मात्रै हो भने यसको सावाँ–ब्याज यिनलाई नेपालीले धेरै तिरेका छन् र अझै तिर्दै छन् । अहिले झन् राज्यकोषका मालिक बनेर आफैँ असुल्दै छन् । हामी निरीह रैतीचाहिँ यसमाथि थप भनसुन करसमेत बुझाउन अभिशप्त छौँ ।
उता जनयुद्धकालमा भूमि सुधारले मूर्तरूप लियो । आधार क्षेत्रमा जनसरकार बने, झन्डा गाडियो, पुर्जा बाँडियो । अटेरीका गर्दन छिनालियो, कतिलाई ‘फाँसी’ दिइयो । केहीलाई न्याय भयो, धेरै विस्थापित भए । ०६२/६३ को दोस्रो जनआन्दोलनपछि समाजवादमा आसेपासे लोकतन्त्र र गणतन्त्र थपियोे । क्रान्ति सम्पन्न भयो कि भएन भन्ने त थाहा भएन, तर आसेपासेको मुहारमा कान्ति भने अवश्यै थपियोे । आसेपासे समाजवादले रूप मात्र होइन, सार पनि फेर्यो । यो अब बिस्तारै आसेपासेको उत्तरसमृद्धि (पोस्ट डेभलपमेन्ट) मा प्रवेश गरेको छ ।
संविधानसभाको निर्वाचन भयो । तैपनि, संविधान बनाउने छाँट आएन । घरझगडा मिलाउन सकेनन् । अदालत गुहारे । अपूरो संविधान बन्यो । सबै छोटेको राजा हुने पालोसहित संघीयता आयो । पहिलो निर्वाचनमा गठजोड भन्दै ठगजोड भयो । भागबन्डा मिलेन विग्रह भयो । एक्लै खान खोज्दा दुईतिहाइ गयो । यसपछि के के भयो सबैलाइ कन्ठै छ । आसेपासेकै भरमा संसद् बिउँतियो । यो पनि मन्त्रीको राजीनामासँगै उदांगो भयोे । यस्तो आसेपासे समाजवादी संस्कृतिको प्रभाव सर्वव्यापी छ । न्यायमूर्ति यसबाट कसरी अछुतो हुने ?
गोदावरीको कुम्भमेलामा आसेपासे समाजवाद टाइसुटमै उत्रियो । यसका सारथीले बुख्याचासँगै पालैपालो फोटो खिचाए । सँगै अहिले बनेको आसेपासेको सरकार कालोधनलाई सेतो बनाउन नाइटोदेखि बल लगाउँदै छ । पाँच लाखलाई १० हजार बाँड्ने र भोट तान्ने कसम खाएको छ । यी त केही उदाहरण मात्र हुन् । यस्तो चर्तिकला र आसेपासे समाजवादको महात्म्य भने अन्त्यहीन छ ।
यो सबै कुराले पशुपति शर्माले गाएको गीत ‘लुट्न सके लुट्, कान्छा यही देशमा छ छुट’ भन्ने कुरा मनन गर्न उक्साएको छ । सँगै स्याल निलो रङ लगाउँदैमा बाघ हुँदैन भन्ने फेरि एकपटक प्रमाणित भएको छ । यो कुनै व्यंग्य होइन, नेपाली राजनीतिको एउटा तितो सत्य हो । फरक–फरक ठाउँबाट हेर्दा देखिने सत्यको यो एउटा पाटो हो । यो समाजवादी शासनका नाममा दलाल र तिनका मतियार, भ्रष्टाचारको उर्वरतामा उदाउँदो मध्यम वर्ग, बिचौलिया र दलालहरूसँग नाफाको जिन्दगी भन्दै कुण्ठा साट्ने रजौटा नेपाली सत्ता राजनीतिको रंगमञ्चका हर्ताकर्ता हुनुको विडम्बना हो । नेतृत्व र आसेपासेले चारखुट्टेको घरजम जस्तो बनाएको समाजवादी परमादेशलाई जरैदेखि फालौँ । सँगै सबैले के हेक्का राखौँ भने सिंगो प्रकृतिको विनाश गरेर भित्र्याउन खोजिएको आसेपासे समाजवाद मात्र होइन, समयसँगै मक्किएका विभिन्न खाले ढोंगी समाजवादीका चर्का भाषणले हाम्रो भविष्य निर्माण हुँदैन । यसबाट त केबल सीमित वर्गका लागि मात्र क्षणिक वैभव भित्रिन्छ । यिनको समय छँदै विकल्प खोज्नु हामी सबैको हितमा छ ।