हाम्रो मुलुकका किसानले दुई रुपैयाँमै तरकारी बेच्नुपर्ने अवस्था आइसक्या हो ?
यो अवस्था आइसक्या हो भन्दा पनि भोगिरहेका छौँ । यो आमनेपाली किसानको नियति बन्दै आइरहेको छ । सरकारको अव्यावहारिक नीतिका कारण हामी यो अवस्थामा पुगेका हौँ । जबसम्म राज्यले किसानमैत्री नीति लिँदैन तबसम्म यो अवस्था हरेक वर्ष दोहोरिइरहन्छ । हाम्रा व्यापारीहरू किसानको खेतबाट एकदुई बोरा कृषिउपज उठाउन र ढुवानी गर्न मान्दैनन् । छिमेकी मुलुक भारतबाट एकैपटक उठाएर ल्याउँदा सस्तो पर्छ । त्यसैले, हाम्रा उत्पादन छायामा पर्दा किसान मारमा परेका हुन् ।
त्यसो भए हाम्रोमा बजारीकरणको नै समस्या हो त ?
एउटा कारण यो पनि हो । हाम्रोमा स्थानीय बजार, सहकारीका रूपमा व्यवस्थापन गर्ने र त्यहाँबाट सहरकेन्द्रित बजारमा ढुवानी गर्ने हो भने नेपाली किसानको तरकारी बिक्छ, देशको आयात पनि घट्छ र किसानले मूल्य पनि पाउँछन् । बजारको स्तरोन्नति पनि हुन्छ । उत्पादन ठुलो क्षेत्रमा हुँदैन, थोरै हुन्छ । त्यसका लागि ठुलो क्षेत्रमा तरकारी लगाउने क्षेत्र बनाउनुपर्छ ।
यसमा बिचौलिया हाबी हुँदा पनि हाम्रो किसानको मूल्य नपाएको गुनासो सुनिन्छ नि ?
हाम्रोमा बिचौलियाहरूले किसानको भावनासँग खेल्छन् । दुई रुपैयाँमै तरकारी बेच्नुपर्ने होइन, तर जुन उत्पादन छिटो बिग्रन्छ त्यस्तो वस्तु नउठाउने र किसानको भावनामाथि खेल्ने काम गर्छन् । यसले गर्दा किसानले बाध्य भएर कि त त्यसै जोत्नुपर्छ कि दुई रुपैयाँमै बेच्नुपर्ने बाध्यता आउँछ ।