मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ८ सोमबार
  • Thursday, 19 December, 2024
२o७८ कार्तिक ८ सोमबार १६:२o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पर्यटक नहुँदा सम्पदा क्षेत्र सुनसान 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक ८ सोमबार १६:२o:oo

कोरोना महामारीका कारण करिब डेढ वर्ष सुनसान बनेका सम्पदा क्षेत्रमा अझै चहलपहल बढ्न सकेको छैन। त्यहाँ पुग्ने पर्यटकको संख्या निकै कम हुँदा सम्पदा क्षेत्र अझै सुनसान बनेका हुन्। प्रायः विदेशी पर्यटकहरूले रमणीय बन्ने पाटन, भक्तपुर र वसन्तपुर दरबार क्षेत्रमा टिकट काटेर पुग्ने नेपाली पर्यटकको संख्या पनि कम छ। सरकारले डेढ महिनाअघि मात्रै सम्पदा क्षेत्र खुला गरेको थियो। तर, कोरोना संक्रमणका कारण विदेशीहरू उल्लेखीय रूपमा नेपाल भ्रमणमा आउन सकेका छैनन्। त्यसको असर पर्यटकीय सम्पदा क्षेत्रमा पनि परेको छ। पर्यटक नआएकै कारण दरबार क्षेत्रहरूमा सीमित पयर्टक मात्रै देख्न पाइन्छ।

दरबार हेरचाह कार्यालयका अनुसार दसैँअघि नै सम्पदा क्षेत्रको ढोका खोलिए पनि विदेशी पयर्टन निकै कम आउने गरेका छन्। दसैँयता भने थप चहलपहल बढेको पाटन संग्रहालयका प्रमुख सुरेशमान लाखेले जानकारी दिए। उनका अनुसार हाल दैनिक १० जना विदेशीहरू पाटन दरबार क्षेत्र अवलोकनका लागि पुग्ने गरेका छन्। त्यस्तै दैनिक डेढ सयभन्दा बढी स्वदेशी अवलोकनकर्ता दरबार क्षेत्रमा पुग्छन्। ‘यति मात्रै संख्याले दरबार क्षेत्रमा चहलपहल बढ्दैन,’ उनले भने, ‘कोरोना संक्रमणअघि दैनिक तीन सयभन्दा बढी विदेशी पर्यटक आउँथे, अहिले विदेशीको संख्या निकै कम छ।’ उनका अनुसार असोजयता १ सय ६० जना विदेशी पर्यटक पाटन दरबार क्षेत्र अवलोकनका लागि पुगेका छन्। सोही अवधिमा अवलोकनका लागि पुग्ने नेपालीको संख्या तीन सय हाराहारी छ।

असोजको पहिलो सातादेखि वसन्तपुर दरबार क्षेत्र पर्यटकका लागि खुला गरिएको थियो। त्यसयता असोज महिनाभर ९० जना विदेशी पर्यटकले दरबार क्षेत्र अवलोकन गरेका छन्। कात्तिक लागेयता भने पर्यटकको संख्या बढेको छ। दसैँ सकिएयता दैनिक ३० जना विदेशी पर्यटक दरबार क्षेत्र अवलोकनमा आउन थालेको हनुमानढोका दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दीप खनालले जानकारी दिए। उनका अनुसार नेपालीसहित दैनिक चार सय हाराहारी अवलोकनकर्ता वसन्तपुरमा पुग्ने गरेका छन्। ‘कोरोना संक्रमणअघि सम्म यो समयमा नेपाली र विदेशी गरी दैनिक पाँच हजारसम्म पर्यटकहरू घुम्न आउँथे, तर पछिल्लो समय संख्या निकै घटेको छ,’ उनले भने, ‘अब पर्यटकको संख्या बढ्न सक्ने अनुमान गरेका छौँ ।’ उनले पर्यटकको संख्या बढाउनका लागि सरकारले कुनै प्याकेज वा कार्यक्रम ल्याउन आवश्यक रहेको बताए।

त्यस्तै, भक्तपुर दरबार क्षेत्र अवलोकनका लागि पुग्ने पयर्टकको संख्या पनि निकै कम छ। दसैँयता दैनिक २०–२५ जना मात्रै विदेशी पर्यटक यस क्षेत्रको अवलोकनका लागि पुग्छन्। यो संख्या क्रमशः बढ्ने अनुमान गरिएको छ। कोरोना संक्रमणभन्दा अघि यहाँ दैनिक तीन सय ५० जनाभन्दा बढी विदेशी पुग्थे। कोरोना संक्रमणपछि भने दरबार अवलोकनका लागि आउने पर्यटकको संख्या हवात्तै घटेको हो। असोजयता दरबार क्षेत्र अवलोकनका लागि पुग्ने विदेशीको संख्या दुई सय २० जना रहेको पुरातत्व विभाग भक्तपुर शाखाले जनाएको छ।